१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

राष्ट्रपति पौडेलद्वारा लोक सेवा आयोगको प्रशंसा: ‘कर्मचारीतन्त्रले नागरिकको मन जिते लोकतन्त्र दरिलो हुन्छ

सेयर:

काठमाडौँ, असार १: राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। लोक सेवा आयोगको शनिबार आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरूप काम गरेमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिनेमा जोड दिए।

राष्ट्रपति पौडेलले भने, ‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ। कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन।’

लोक सेवा आयोगको भूमिका र समावेशिता:
राष्ट्रपति पौडेलले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोक सेवा आयोगले ७५ वर्षमा आफ्नो मूल सिद्धान्त ‘योग्यता, निष्पक्षता र स्वच्छता’लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय कार्य भएको बताए।

उनले भने, ‘आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ।’ स्वउत्प्रेरित, उच्च नैतिकवान्, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न सक्छन् भन्ने यथार्थलाई स्मरण गराउँदै राष्ट्रपति पौडेलले आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्नाको जग भएको बताए। उनले आयोगलाई सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्नेगरी योग्यताका सबै पक्षहरू पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरू अवलम्बन गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएयता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष भएको बताए। उनले यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुन गई राष्ट्रिय एकतालाई मजबुत बनाउनसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे। आयोगले संघीयताअनुरूप समावेशी समूहतर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्नेगरी कार्यसम्पादन गर्ने विश्वास लिएको पनि बताए।

उनले कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवं प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोग सक्रिय रहने विश्वास व्यक्त गरे।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।