विश्वकै चर्चित फ्रेन्चाइज टी– २० इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा एकजना नेपाली खेलाडी परेनन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आयोजना गर्ने आइपिएल २०२४ को अक्सनमा कुनै पनि नेपाली खेलाडीको नाम छैन । यसपटक अक्सनमा पूर्वकप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पर्न सक्ने सम्भावना थियो । आइपिएलमा नेपालबाट सन्दीप मात्र सन् २०१८ को अक्सनमा परेका थिए । त्यसवेला उनलाई दिल्ली क्यापिटल्सले २० लाख भारुमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
दिल्लीले २०२० मा सन्दीपलाई फुकुवा गरेको थियो । २०२१ र २०२२ को अक्सनको सर्ट लिस्टमा परे पनि विकेनन् । एसोसिएट राष्ट्रबाट नेदरल्यान्ड्सका भान मर्केन र डेभिड विजा मात्रै परेका छन् । आइपिएल अक्सन १९ डिसेम्बरमा हुँदै छ । एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाका खेलाडीले अक्सनमा नाम पठाएका थिए ।
यसपटक नेपालबाट सन्दीपसँगै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, सोमपाल कामी र करण केसीलगायतका खेलाडी अक्सनमा नाम दर्ता गराएका थिए । अक्सनमा कुल तीन सय ३३ जना खेलाडी छन् । जसमा दुई सय १४ भारतीय र एक सय १९ विदेशी खेलाडी छन् ।

























