काठमाडौ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एउटा सानो कामका कारण बहुराष्ट्रिय कम्पनी कोकाकोलालाई ४ अर्ब अमेरिकी डलर घाटा भएको छ।
रोनाल्डोले एउटा पत्रकार सम्मेलनका क्रममा आफ्नो टेबलमा राखिएको दुईवटा कोकको बोतल हटाएर पानी पिउने संकेत गरेका थिए । उक्त भिडियो प्रशारणपछि कोकाकोलाको सेयरमा १.६ प्रतिशतले गिरावट आएको जनाइएको छ ।
यसअघि कोकाकोलाको बजार मूल्य २४२ अर्ब अमेरिकी डलर थियो, रोनाल्डोका कारण सेयरमा गिरावट आएसँगै अहिले कोकाकोलाको मूल्य २३८ अर्ब अमेरिकी डलरमा झरेको छ ।
क्रिस्टियानो रोनाल्डो आफ्नो स्वास्थ्यप्रति निकै सजग छन् । उनले आफूलाई कोक, फेन्टा, पेप्सीजस्ता गुलिया पेय पदार्थ मन नपर्ने बताएका थिए। उनले पेप्सीले प्रस्ताव गरेको करोडौंको विज्ञापन प्रस्ताव पनि अस्वीकार गरेका थिए।
कोकाकोला युरोकपको औपचारिक विज्ञापन पार्टनर हो। युरोकपका आयोजकले रोनाल्डोको यस कार्यको बारेमा केही बताएको छैन।

























