
झापा, भद्रपुर–८ स्थित मेची रंगशाला मा पहिलोपटक ‘चन्द्रगढी महिला गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल बैशाख ५ गतेदेखि १४ सम्म आयोजना हुने आयोजक चन्द्रगढी युवा क्लबले पत्रकार सम्मेलनमार्फत भारत, भुटानसहित अन्य एसियाली देशका क्लबहरूको सहभागिता रहने जानकारी दिएको हो।
घरेलु टोलीतर्फ त्रिभुवन आर्मी, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र संकटा क्लबका महिला टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने स्थानीय निकायले पनि सहयोग गरेका छन्। आयोजकले महिला फुटबल प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ।

























