📌 मुख्य बुँदाहरू:
- कीर्तिपुरमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारतको बिहार घर भई ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्।
- उनले अनलाइन बेटिङ साइटमार्फत करिब ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको छ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका क्रममा सट्टेबाजी (बेटिङ) गरिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्। खेल मैदान र विभिन्न अनलाइन माध्यमको दुरुपयोग गरी अवैध वित्तीय कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्रा우 पर्नेमा भारतको बिहार घर भई हाल काठमाण्डौ महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्। उनले एनपीएलका खेलहरूलाई लक्षित गर्दै गैरकानूनी रूपमा सट्टेबाजी गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
८९ लाखभन्दा बढीको अवैध कारोबार
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरेर ठूलो रकमको आर्थिक कारोबार गरेको फेला परेको छ।
कार्यालयका अनुसार उनले सट्टेबाजीमार्फत कुल ८९ लाख ८१ हजार ७ सय २९ रुपैयाँ बराबरको वित्तीय कारोबार गरेको खुल्न आएको छ। खेलकुद जस्तो संवेदनशील क्षेत्रमा भइरहेको यस्ता अवैध गतिविधि रोक्न सुरक्षा निकायले निगरानी कडा पारेको जनाएको छ। पक्राउ परेका सिन्हामाथि थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ।





















