नेपालीभाषी खेलप्रेमीहरूबीच एकता, स्वास्थ्य र भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ इजरायलमा आयोजित झापा सुपर कप इजरायल-२०२५ फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। जुलाई १८ र १९ मा इजरायलको तेलअविवस्थित फुटबल मैदानमा दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलपछि राइजिङ स्टार एफसी ले उपाधि जित्दै पहिलो संस्करणको विजेता बन्न सफल भएको हो। प्रतियोगितामा कुल ८ नेपालीभाषी फुटबल क्लबहरूले सहभागिता जनाएका थिए, जसलाई ९ साइड नकआउट प्रारूपमा खेलाइएको थियो।
फाइनल खेलमा राइजिङ स्टार एफसीले उत्कृष्ट प्रदर्शन गर्दै लायन तेलअविव एफसी लाई निर्धारित समयमा १-१ गोलको बराबरीपछि ३-० को टाइब्रेकरमा पराजित गर्यो। विजेता टिमले नगद १०,५०० शेकेल, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेताले ५,५०० शेकेल, ट्रफी र मेडल प्राप्त गरेका थिए।
प्रतियोगिताको फेयर प्ले टिमको उपाधि सेभेन स्टार हाइफा क्लबले प्राप्त गर्यो। व्यक्तिगत विधामा भूपेन क्षेत्री (राइजिङ स्टार एफसी) उत्कृष्ट गोलकिपर, रोजन शेर्पा (राइजिङ स्टार एफसी) उत्कृष्ट डिफेन्डर, राजिव राई (लायन तेलअविव) टप स्कोरर, सबीन पन्त (राइजिङ स्टार एफसी) राइजिङ स्टार (उदीयमान खेलाडी) र जोशन खड्का (राइजिङ स्टार एफसी) एमभीपी (सर्वोत्कृष्ट खेलाडी) घोषित भए। यसका अतिरिक्त, प्रतियोगितामा खेलिएका ७ वटै खेलका म्यान अफ द म्याच खेलाडीहरूलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
झापा एफसी इजरायलको आयोजनामा भएको यस प्रतियोगिताको टाइटल स्पोन्सर झापाली समाज इजरायल रहेको थियो। यस प्रतियोगिताले इजरायलमा रहेका नेपाली समुदायबीच एकता, खेल भावना र सामाजिक समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको र भविष्यमा यो अझ विस्तार भई नेपाली समुदायको गौरवको प्रतीक बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


























