यस अघिका निर्वाचनमा बाजी मारेका एमाले अध्यक्ष ओलीले फागुन २१ को निर्वाचन के गर्लान ?

A notice in Nepali from Mechinagar Ward No. 10

कहि कतै कुनै पनि प्रकारको अबरोध खडा नभए अबको ४६ दिनपछि देशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैंछ । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलन पश्चात सत्ता सम्हाल्न पुगेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार जुनसुकै हालतमा भए पनि निर्वाचन गराउँनुपर्ने दवावमा छ भने, निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनको भनाई सापट लिनुपर्दा तोकिएको मितिमा निर्वाचन नगराए सुशीला कार्की नेतृत्वको सरकारको औचित्य समाप्त हुनेछ । यसकारण पनि वर्तमान सरकारले निर्वाचन गराउँनै पर्छ ।

भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न हुर्दैन् ।

प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रमको तालिका अनुसार माघ ६ गते विहान १० देखि ५ वजेसम्म उम्मेद्वारको मनोनयन दर्ता गर्ने सूची छ । देशका सवै ठाउँमा मुख्यः निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छन् । यसकारण पनि निर्वाचन हुन्छ भन्ने कुरामा ढुक्क हुने अवस्था पनि पलाएको छ । यसरी निर्वाचनको चहल पहल शुरु भईसकेपछि देशका अन्य जिल्लाका निर्वाचन क्षेत्रहरु मध्ये झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ को निक्कै चर्चा हुन थालेको छ । अथवा सवैको ध्यान सोहि क्षेत्रमा केन्द्रीत छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेद्वारको मनोनयन भनिए पनि अहिले चर्चामा रहेका उम्मेद्वारका कारण यो क्षेत्र निक्कै चर्चामा रहेको छ भने फागुन २१ को निर्वाचनमा कस्ले मार्ला बाजी ? प्रश्न सवैतिर छ । झापा क्षेत्र नम्बर ५ नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । झापा–५ मा दमक नगरपालिका र कमल गाउँपालिकाको सबै क्षेत्र, गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि ८ सम्म र गौरीगञ्ज गाउँपालिकाको ३ देखि ६ नम्बर वडाहरु समेटिएका छन् । राज्य पुनः संरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ ।

यस क्षेत्रबाट आगामी फागुन २१ को निर्वाचनमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको एकल नाम सिफारीस भएको छ । यसकारण उनी यसै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बन्ने पक्का छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि यसै क्षेत्रबाट चुनाव लड्छन् भन्ने चर्चा सुरु भइसकेको छ । आइतबारमात्रै उनले काठमाडौं महानगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा समेत दिईसकेका छन् । बालेनले काठमाडौंका कुनै निर्वाचन क्षेत्र रोज्छन् वा आफ्नो घर भएको जिल्ला महोत्तरीबाट चुनावमा प्रतिस्पर्धा गर्छन् भन्ने अनुमान पनि थियो ।

पछिल्लो समय बालेन झापाको क्षेत्र नम्बर ५ बाट चुनाव लड्नकै लागि कार्यालय खोल्ने घर भाडामा लिने क्रम शुरु भईसकेकाले पनि उनले यहि क्षेत्रबाट चुनाव लड्ने पक्कापक्की झै छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङको उम्मेदवारी चर्चा चलिरहेको बेला नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) झापाले पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सुमनसिहं‐पौडेल)को नाम सिफारीस गरेको छ । झापा–५ मा पार्टीले राजनीतिक झट्काका लागि पनि सुमनसिहं ‐पौडेल) सी लाई माओवादी हेडक्वाटरले अघि सार्ने स्रोतको दाबी छ । यसकारण पनि झापा क्षेत्र नम्बर ५ ले सवैको ध्यान आफूतिर खिँचेको छ भने यसक्षेत्रलाई निक्कै चाँसोक साथ हेरिएको छ । झापामा ओली, बालेन,पौडेल, तामाङको आमने–सामने भिडन्त वा झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन्द्र शाहबीचको सम्भावित प्रतिस्पर्धाले पनि स्थानीय राजनीति तातेको छ । तर, उम्मेद्वारको मनोयन दर्ता गर्ने समय आउन बाँकी नै छ ।

यो क्षेत्रमा यसअघि भएका निर्वाचनको परिणामतर्फ फर्कदा पहिलो संविधानसभा निर्वाचन बाहेक हरेक निर्वाचनमा ओली उक्त क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन् । संविधान सभा सदस्य निर्वाचन २०६४ को निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेद्वार विश्वदीप लिङ्देनसँग पराजित भए । २०६४ चैत २८ गते भएको निर्वाचनमा लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीको पक्षमा १४ हजार ९ सय ५९ मत आयो ।

हुनतः संविधान सभा सदस्य निर्वाचन २०६४ को परिणाम संसदीय राजनीतिका खेलाडी नेपाली काँग्रेस र नेकपा (एमाले) का लागि अपेक्षित थिएन । जनयुद्धको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीका लागि पहिलो संविधान सभाको निर्वाचनमा २२० ठाउँमा जितेर पहिलो दल बन्यो माओवादी । काँग्रेसले ११० र नेकपा एमालेले १०३ सिटमै सिमित रह्यो ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित ओली २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । २०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर आफूलाई हराएको, तर उनीहरुले मत दिएर जिताएर पठाएको मान्छे आज कहाँ छ ? ओलीले कार्याकर्तालाई व्यङ्ग्यात्मक शैलीमा सोध्ने समेत गर्दथे । ओलीलाई २०६४ को चुनावमा हराएका लिङ्देनको राजनीतिमा ब्यापक फेरबदल छ ।

उनले २०६४ को संविधानसभाको निर्वाचनपछि भएका प्रतिनिधि सभाका निर्वाचनमा भाग नै लिएका छैनन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनका बेला संघीय समाजवादी फोरमले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीविरुद्ध लिङ्देनलाई उम्मेदवार तोकेको थियो । त्यही बेला उनी नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

ओली भने, ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए । २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा तात्कालिन निर्वाचन क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओलीले देशभरकै सर्वाधिक मत ल्याएका थिए । ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत मात्र पाए । उनले गठबन्धनअन्तर्गत काँग्रेसका अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले झापा क्षेत्र नम्बर ५ बाट २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा होमिएका ओलीले झापा ५ बाट नेपाली काँग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीको भन्दा दोब्बर बढी मत ल्याए । अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउँदा ओलीको पक्षमा ५७ हजार १ सय ३९ मत प्राप्त गर्दै विजयी बने । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो ।

चुनाव जित्न राजनीतिक पृष्ठभूमि, देशका लागि केही दिएको हुनुपर्ने, त्यो हरेक जनताको मन र मस्तष्किमा भिज्नुपर्ने, विकास निर्माणका काम जनतामाझ छाड्न सक्ने क्षमता हुनुर्ने र त्यो क्षमता केपी ओलीमा देखिएकाले बालेनको जित सहज नहुने विश्लेषण गर्छन अधिवक्ता नारायण चौलागाईँ । मतदातामा नयाँ नेतृत्वप्रति आकर्षण देखिए पनि ओलीको बलियो पकड र विगतका फराकिलो मतान्तरका कारण ओलीसँग कसैले पनि प्रतिस्पर्धा गर्न नहुने तर्क अधिवक्ता चौलागाईँको छ । झापा–५ लाई आफ्नो सर्वाधिक बलियो गढ मान्ने एमाले चुनावतर्फ मोडिएको छ । काठमाडौंका नगरप्रमुख चुनाव लड्न आफ्नो पुस्तौनी जिल्ला महोत्तरीसमेत नाघेर सुदूरपूर्व झापा नै किन पुग्दै छन् ? सर्वत्र चर्चा र चासोको विषय बनेको छ । एमालेको पकड क्षेत्र मानिएको झापा–५ मा बालेनको चासो किन ? यो प्रश्नमा राजनीतिक वृत्तमा चर्चा चुलिएको यसक्षेत्रका मतदाता समेत रहेका रमेश गौतम भन्छन् । नेपालकका विभिन्न राजनीतिक दलहरूको फरक–फरक उद्धेश्य छन् । राजावादीहरु राजसंस्था, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टीलगायतका पुराना दल भदौ २३–२४ गते अघिको अवस्थामा आफ्नो राजनीति हैसियत फिर्ता गर्न चाहन्छन् । जेन जी पुस्ता र नयाँ दल निर्माणको पक्षमा रहेको जनमत संवैधानिक सुधारसहितको उन्नत लोकतन्त्र चाहन्छ । तर, यसको फैसला यो देशका हरेक मतदाताहरुले गर्नेछन् ।

बालेन्द्र साह (बालेन) ओलीका कटु आलोचक मानिन्छन् । बालेन ओलीलाई हराउने उद्धेश्यले मात्रै झापा झर्लान् त भन्ने टिकाटिप्पणी पनि सुरु भएका छन् । यसकारण पनि पछिल्लो समय झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा सवैको ध्यान केन्द्रीत छ । क्षेत्र नम्बर —५ मा कुल मतदाता संख्या एकलाख ६३ हजार तीनसय ७९ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । ८१ हजार ८१ पुरुष, ८२ हजार दुईसय ९६ महिला र अन्य दुई जना मतदाता छन् । यसक्षेत्रमा ६१ वटा मतदान स्थल र एकसय ८५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.