भद्रपुर (झापा) । जिल्ला प्रशासन कार्यालय झापाले आफ्ना सेवा प्रवाहलाई थप प्रविधिमैत्री, सरल र झन्झटमुक्त बनाउन सात प्रकारका सेवाहरू भौतिक उपस्थितिबिना नै प्राप्त गर्न सकिने अर्थात् ‘फेसलेस’ (Faceless) बनाएको छ। अब उप्रान्त ती सेवाहरू लिनका लागि सर्वसाधारण व्यक्ति, संस्था वा निकायका प्रतिनिधिहरू स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने छैन।
प्रशासन कार्यालयका अनुसार तोकिएका सेवाहरू प्राप्त गर्न डेडिकेटेड इमेल, अनलाइन गुगल फर्म, ह्वाट्सएप (WhatsApp) नम्बर तथा टेलिफोनजस्ता प्रविधिको प्रयोग गरेर सहजै लिन सकिने व्यवस्था मिलाइएको छ। यसरी प्राप्त हुने आवेदन र सुविधाहरूको एकीकृत व्यवस्थापनका लागि कार्यालय परिसरमै एक ‘डेडिकेटेड हेल्प डेस्क’ (Dedicated Help Desk) स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
फेसलेस सेवा लिन चाहने व्यक्ति वा संस्थाले निवेदनका साथ आफ्नो इमेल ठेगाना वा ह्वाट्सएप नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। माग गरिएको सेवा प्रक्रिया पूरा भएपछि सोसम्बन्धी जानकारी, सिफारिस वा विवरण सोही इमेल वा ह्वाट्सएपमार्फत नै सेवाग्राहीलाई उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले ‘फेसलेस’ बनाएका सात सेवाहरू:
१. परम्पराको रूपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला इत्यादि सञ्चालनको अनुमति तथा शान्ति सुरक्षासम्बन्धी सेवा।
२. राजनीतिक तथा सामाजिक कार्यक्रम सञ्चालनसम्बन्धी जानकारी, अनुमति तथा शान्ति सुरक्षासम्बन्धी सेवा।
३. जातीय प्रमाणित सिफारिससम्बन्धी सेवा।
४. नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड गरिदिनेसम्बन्धी सेवा।
५. राष्ट्रिय परिचयपत्र सेवाको अवस्था (Status) बुझ्ने सेवा।
६. राहदानी (Passport) को अवस्था (Status) बुझ्ने सेवा।
७. प्रहरी सर्जमिन तथा चालचलन (Character Report) बुझ्ने सेवा।
सेवा प्राप्त गर्ने तरिका र माध्यमहरू: क्रमाङ्क १, २ र ३ मा उल्लेखित धार्मिक/सांस्कृतिक मेला, राजनीतिक/सामाजिक कार्यक्रम अनुमति र जातीय सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेबसाइटमा राखिएको गुगल फर्म लिङ्क https://docs.google.com/forms/d/e/1FAIpQLScZeAjNB7TYBdFuoBErHysdcQ4zu4PlLRm4b0YFJB_nUWl0Pw/viewform?pli=1 मार्फत आवेदन तथा कागजात पठाउन सकिनेछ।
यसैगरी, क्रमाङ्क ४ (नागरिकता अभिलेख), ५ (राष्ट्रिय परिचयपत्रको अवस्था) र ६ (राहदानीको अवस्था) सम्बन्धी सेवाका लागि डेडिकेटेड ह्वाट्सएप नम्बर 9852652066 मा सम्पर्क गर्न सकिनेछ। क्रमाङ्क ७ (प्रहरी सर्जमिन तथा चालचलन) का लागि डेडिकेटेड इमेलमार्फत कागजात प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।


























