बिर्तामोड (झापा) । कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको तेस्रो ‘मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगिता’को सम्पूर्ण तयारी पूरा भएको छ। बडी ग्यारेज शारीरिक सुगठन क्लबको आयोजनामा झापाको बिर्तामोडमा यही असोज २० र २१ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो।
यसअघि प्रदेशस्तरीय रूपमा सञ्चालन हुँदै आएका पहिलो र दोस्रो संस्करणपछि यो तेस्रो संस्करणबाट प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको छ। यसअघि यो प्रतियोगिता २०८२ भदौ २७ र २८ गते सञ्चालन गर्ने तय भए तापनि जेन्जी (Gen-Z) आन्दोलनका कारण सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा स्थगित भएको थियो।
कार्यक्रम संयोजक तथा बडी ग्यारेजका सञ्चालक राम दाहालका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन अन्तिम प्रतिस्पर्धा (फाइनल) हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका गरी ६ वटा तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। यसै गरी, महिलातर्फ भने खुला प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिताको मुख्य विजेता (मिस्टर कञ्चनजङ्घा) ले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिनुभयो। अघिल्लो संस्करणमा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ रहेकोमा यसपटक पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरिएको हो। यसै गरी, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले २ लाख, चौथो हुनेले १ लाख, पाँचौँ हुनेले ७५ हजार र छैटौँ हुनेले ५० हजार रुपैयाँ नगद पाउनेछन्।
कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको महिला खुला प्रतिस्पर्धाका प्रथम हुने खेलाडीलाई नगद १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिनुभयो। यसबाहेक पुरुषतर्फका प्रत्येक तौल समूहका दोस्रो हुने खेलाडीले नगद ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बाँकी तीन जनालाई ट्रफी र मेडल प्रदान गरिनेछ।
देशभरबाट करिब २ सय जना राष्ट्रियस्तरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव हिमाल खरेलले बताउनुभयो। आयोजकले एक विशेष कार्यक्रमका बीच प्रतियोगिताका विजेताहरूले प्राप्त गर्ने आकर्षक ट्रफी तथा मेडलको अनावरणसमेत गरिसकेको छ।
स्मरणरहोस्, यसअघि आयोजना गरिएको दोस्रो मिस्टर कञ्चनजङ्घा शारीरिक सुगठन प्रतियोगिताको उपाधि ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका डिएनपी फिटनेस गाईघाटका दिलिपकुमार चौधरीले जितेका थिए। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा बडी ग्यारेजको संयोजनमा भएको उक्त दोस्रो संस्करणलाई बोर्डले १५ लाख रुपैयाँ बजेट सहयोग गरेको थियो।


























