नाम्चीमा पर्यटकको चहल पहलःनेपाली दर्शनार्थीहरुको आर्कषणको केन्द्र बन्दै चारधाम

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
१४ बैशाख, [नाम्ची) सिक्किम] : दक्षिण सिक्किमस्थित नाम्चीमा रहेको चारधाम पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्यका रुपमा परिचित हुदैं गएको छ । एकै स्थानमा धेरै धामको दर्शन गर्न पाइने भएकाले पनि यहाँ भगवानको दर्शन गर्नका लागि आउने धार्मिक पर्यटकहरुका कारण चारधाम आन्तरिक एवम् बाह्य पर्यटकले भरीभराउ हुने गरेको छ ।
यो धाम सिद्घेश्वर धामका नामले समेत परिचित रहेको धामका पंण्डित यादव न्यौपालेले जानकारी दिए । उनका अनुसार यहाँ चारधाम बद्रीनाथ धाम, जगन्नाथ धाम, रामेश्वरम धाम तथा द्वारका धामका मन्दिरहरु तथा घुश्मेश्वर, केदारेश्वर, श्रीत्रयम्बकेश्वर, विशेश्वर, नागेश्वर, सेतुबन्ध रामेश्वरम, भीमशंकर, बैद्यनाथ, ओंकारेश्वर,महाकाल, मल्लिकार्जुन, सोमनाथलगायत वाह्र ज्योतिर्लिङ्ग रहेको भनाई छ । भगवान शंकरका भारतका विभिन्न स्थानमा जे जति संख्यामा ज्योर्तिर लिंगहरु छन् ती सवै यहि सिद्धेश्वर धाममा रहेका कारण पनि दर्शनार्थीको भीड लाग्ने गरेको पंण्डित न्यौपानेले बताए । ।
सिक्किम पुग्ने जो कोहीका लागि पनि नाम्चीमा रहेको सिद्धेश्वर धामको अवलोकन पहिलो प्राथमिकतामा पर्ने गरेको छ । धार्मिक पर्यटनको एक अद्भुत रचना हो, यो थलो । पहाडी शिखरमा एकै ठाउँमा हिन्दूका चार धामका धार्मिक मठ मन्दिरको रचना आफैँमा अनुपम छ । जगन्नाथ धाम, बद्रीनाथ धाम, द्वारका धाम र रामेश्वरम् धामका मन्दिरहरुको स्थापना, देवीदेवताहरुका मूर्तीहरुको स्थापना र वाह्र ज्योतिर्लिङ्गको स्थापना, सिक्किम सरकारको धार्मिक पर्यटनको क्षेत्रमा गरिएका कार्य कोशेढुंगा सरहका कार्य भएको नाम्चीमा विगत एकदशकभन्दा बढी समयदेखि होटल तथा ट्राभल व्यवसाय सञ्चालन गदैं आएका सचिन शर्माको भनाई छ ।

धाम परिसरमा रहेको किरातेश्वर महादेवको मुर्ति
चारधामका मन्दिर, वाह्र ज्योतिर्लिङ्गसहित यहाँको अर्काे प्रमुख आकर्षण हो १०८ फीटको शिवको मूर्ति हो । चारधाममा रहेको अग्लो शिव जीको मूर्ति भएकाले पनि यो ठाउँ आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परेको छ । यस स्थलमा वार्षिकरुपमा स्वदेश एवम् विदेशीगरी आन्तरिक तथा बाह्य गरेर दर्शनका लागि वार्षिक ५ देखि १० लाखसम्म भक्तजन आउने गरेकोे पंण्डित न्यौपानेको भनाई छ । विशेष गरी अंग्रेजी महिनाको अप्रिल, मे, जुन, अक्टोवर र नोभेम्वर महिनामा नेपाल, भारत, भुटान तथा अन्य मुुलुकबाट दर्शनकालागि धार्मिक पर्यटकहरु आउने गरेको यहाँका होटल तथा लज सञ्चालकहरुको भनाई छ ।
चारधाममा भारतको विहार, दार्जिलिङ, पूर्वी तराई र आसपासका पहाडी जिल्लाका पर्यटक आएर दैनिक दर्शन गर्ने गरेका छन् । नेपाली पर्यटकको चारधाममा उल्लेख्य उपस्थिति हुने गरेको छ ।

धाम परिसरमा रहेको शिवजीको मूर्ति
उनीहरुका अनुसार यो धाममा विशेषगरी शिवररात्रीका वखत ठुलो मेला र महोत्सव लाग्ने गर्दछ । त्यसबेला भक्तजनकोे घुईचो थामिनसक्नु हुन्छ । शिवरात्रीमा कम्तिमा १५ दिन बढीमा १ महिना विशेष पूजा अर्चना हुने गर्दछ । साउनको सोमबार जल चढाउनेको संख्या निक्कै ठूलो हुने गर्दछ । त्यसबेला रुद्राभिषेकको कार्यक्रम समेत हुने गर्दछ । अन्य दिन पूजाआजा हुने भएपनि साउनको सोमबार विशेष प्रकारको पूजा अर्चना हुने पंण्डित न्यौपानेको भनाई छ ।

केदारेश्वर ज्योतिर्लिङ्ग
धाममा आउने नेपाली तथा भारतीय पर्यटकको संख्या उच्च भए पनि अन्य मुलुकबाट आउने पर्यटकको संख्या निक्कै कम हुन्छ । नेपाली र सिक्किमेलीको भेषभूषा, कला, संस्कृति, भाषा निक्कै मिल्दोजुल्दो रहेकाले नेपालीलाई यहाँका स्थानीयले विदेशीकारुपमा खासै हेर्ने गरेका छैनन् ।
दर्शनका लागि आउनेले सामान्यदेखि स्तरीय लज होटलमा खान र बस्न पाउने भएकाले कुनै आर्थिकभार नपर्ने तथा बाटोघाटोको सुविधा समेत राम्रो भएकाले पर्यटकलाई कुनै असुविधा नभएका कारण सिक्किम आउने जो कोही पनि नाम्चीस्थित चारधामको दर्शन गरेर मात्र अन्यत्र जाने गरेको शर्माको भनाई छ । विभिन्न ठाउँमा रहेका मठ मन्दिर, देवालय, शक्तिपीठहरुलाई एकीकृत गरेर एकै ठाउँमा नयाँ संरचनाका रुपमा बनाइएको विभिन्न धामहरुको रुप यहाँ देख्न पाइने झापाको दमकबाट दर्शनका लागि यहाँ आइपुगेकी ७६ वर्षिया रमादेवी कोइराला बताउँछिन् ।
दक्षिण सिक्किमको नाम्चीमा रहेको यो धार्मिक एवम् पर्यटकीय स्थल चारधामले एउटा धार्मिक पर्यटनलाई प्रवद्र्घन गर्न सकिन्दो रहेछ भन्ने प्रमाणित गरेको झापा ट्राभल मञ्च झापा नेपालका अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । हामीले हाम्रा क्षेत्रमा पनि भएका मठ मन्दिर देवालय शक्तिपीठ ज्योतिलिङ्गहरुलाई कुनै भूगोलमा एकीकृत गर्न सके एउटा पर्यटनको गन्तव्य बनाउने सकिने नेपाल एसोशिएसन टुर्स एण्ड ट्राभल एजेण्ट् नाट्टा कोशी प्रदेशका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठको बुझाई छ ।

विशेश्वर ज्योतिर्लिङ्ग
यो चारधाम जसरी आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्य बन्यो त्यसरी नै हामीले पनि नेपालमा भएका सम्पूर्ण धार्मिक पर्यटकीय स्थलको विकास गर्न सके पर्यटनको प्रवद्र्घन र विकास गर्न सकिने भन्दैं पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठले यसका लागि नेपालका तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
चारधामको चर्चा धेरै हुने गरेको छ । यहाँ आउदा पैसाको खासै ठूलो खर्च नहुने, एकै ठाउँमा सवै देवि देवताको दर्शन गर्न पाउने भएकाले नेपाली दर्शनार्थीहरुको भीड लाग्ने गरेको अनुमान यहाँका व्यवसायीहरुको छ । …यहाँ आइपुगे पछि आनन्द लाग्छ, चारधाममा सवै देवि देवताको दर्शन एकै ठाउँबाट गर्न पाइन्छ । भारतको अन्य ठाउँमा रहेको चारधाम जादा खर्च पनि बढी लाग्छ समय पनि पाइदैंन यहाँ त एउटै ठाउँमा सवै देवि देवताको दर्शन गर्न पाइन्छ । एकठाउँबाट देवि देवताको दर्शन गर्न पाउनु सवैका लागि अवसर पनि हो ’ झापा मेचीनगर -६ काँकरभिट्टाकी गीता गौतमले भनिन् ।
यहाँ चारधाम एकमुष्ठरुपमा बनाइएको र अत्यन्तै उत्साह र मन नै प्रसन्न हुने गरेको छ । यस्तै प्रकारको नेपालमा समेत सवै शक्तिपीठहरु एकीकृत गरेर बनाउने हो भने नेपालमा पनि धार्मिक पर्यटक भित्रियाउन सकिने धारणा राख्छन पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरज कट्टेल ।
यहाँबाट अन्य पर्यटकीय स्थलको समेत अवलोकन भ्रमण गर्न पाइने भएकाले यहाँ आउँने पर्यटकले थोरै खर्चमा धेरै प्राकृतिक आनन्द प्राप्त गर्न पाउने सिक्किमका पर्यटन व्यवसायीहरुको भनाई छ । तर नाम्चीका होटल तथा ट्राभल व्यवसायीले सोचे अनुसार नाम्चीमा पर्यटकको चहल पहल नभएको बताएका छन् । चारधाममा दर्शनका लागि आउने पर्यटकलाई लक्षित गरेर निक्कै राम्रा राम्रा र स्तरीय होटल तथा होमस्टे सञ्चालन भएका छन् ।
सिक्किमको विकास र समृद्धिमा यस्ता मानव निर्मित तीर्थहरुको ठूलो भूमिका रहेको छ । विशाल सम्भावना बोकेका नेपालका पहाडी कन्दराहरुमा यस खालका भौतिक संरचनाको विकास गर्न सके नेपाल देश कति सुन्दर हुने थियो होला ? जनताको जीवनस्तर कति माथि उठ्थ्यो होला ? यसकारण यसतर्फ नेपालका तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.