मेचीनगरमा प्रविधिमैत्री बजेट तयारी सुरु: जनतासँगको सहभागितामा ‘आयोजना बैंक’ निर्माण

A notice in Nepali from Mechinagar Ward No. 10

२१  जेठ, मेचीनगर  : मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई थप पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरबासीको प्रत्यक्ष सहभागितामा ‘आयोजना बैंक’ निर्माण कार्य सुरु गरेको छ। आगामी तीन वर्षे मध्यमकालीन खर्च संरचनालाई समेत समावेश गरिने यस डिजिटल प्रणालीमा आधारित बैंकले नगरको विकास योजनालाई व्यवस्थित र उत्तरदायी बनाउने लक्ष्य राखेको छ।

नगरपालिकाले असार १५ गते सार्वजनिक गरिने नीति तथा कार्यक्रममा यी सङ्कलित योजनाहरूलाई समावेश गर्नेछ। यसले योजना कार्यान्वयनमा पारदर्शिता र दक्षता सुनिश्चित गर्ने नगरपालिकाको विश्वास छ।

वडास्तरीय गोष्ठीहरूमा व्यापक सहभागिता
यस पहललाई सफल बनाउन मेचीनगरका पन्ध्रवटै वडामा ‘वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी’ हरू तीव्र गतिमा भइरहेका छन्। यी गोष्ठीहरूमा उपभोक्ता, विभिन्न सङ्घ–संस्था र सबै क्षेत्रका प्रतिनिधिहरूबाट महत्त्वपूर्ण सुझाव र योजनाहरू सङ्कलन भइरहेका छन्। टोल विकास समिति मार्फत वडा कार्यालयले प्रक्रिया पूरा गरी यी योजनाहरूलाई आयोजना बैंकमा राख्नेछ। यसपछि, योजनाको प्राथमिकताका आधारमा छनोट भएका योजनाहरू क्रमशः कार्यान्वयनमा जानेछन्।

मंगलबार, वडा नम्बर ७, ८ र ९ मा वडास्तरीय आयोजना बैंक तर्जुमा छलफल सफलतापूर्वक सम्पन्न भयो। वडा नम्बर ७ मा प्रलादमणी ओलीको अध्यक्षता र वडासचिव लक्ष्मी राईको सञ्चालनमा गोष्ठी भएको थियो। त्यस्तै, वडा नम्बर ८ को गोष्ठी गिरिराज धमलाको अध्यक्षता, वडा सदस्य कुन्दन निरौलाको स्वागत र वडा सदस्य विष्णु भट्टराईको सञ्चालनमा सम्पन्न भयो।

कानुनको परिधिमा रहेर काम गर्ने मेयरको प्रतिबद्धता
वडा नम्बर ७ र ८ को गोष्ठीमा प्रमुख अतिथिको रूपमा उपस्थित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सशक्त अभिव्यक्ति दिए। उनले “पावर छ, बहुमत छ भन्दैमा नीतिगत वा कानुनभन्दा बाहिर गएर सोचे जस्तो नगरपालिका नबन्ने” स्पष्ट पारे। नगरप्रमुख बुढाथोकीले जनताबाट आएका योजनाहरूलाई आयोजना बैंकमा राखेर प्राथमिकताका आधारमा प्रविधिको प्रणाली मार्फत कार्यान्वयन गर्नु नै वास्तविक सुशासन हुने धारणा राखे।

डिजिटल प्रविधिबाट ‘मस्त’ नगरपालिका बनाउने उपमेयरको अठोट
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले हालको अस्तव्यस्त नगरपालिकालाई डिजिटल प्रविधिबाट सहज ढङ्गले ‘मस्त’ नगरपालिका बनाउन आफूहरू लागि परेको दाबी गरिन्। मेचीनगर–९ को गोष्ठीमा समेत प्रमुख अतिथिको रूपमा उपस्थित उपप्रमुख उप्रेतीले आगामी आर्थिक वर्षदेखि नयाँ र नवीनतम कार्यहरू सुरु हुने जानकारी दिइन्। आन्तरिक आय बढिरहेको अवस्थाका कारण करको दर नबढे पनि करको दायरा भने बढाइने उनको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाका हरेक सेवाहरू प्रणाली मार्फत हुने भएकाले नगरवासीले चाहिएको सेवा विश्वको जुनसुकै कुनाबाट पनि लिन र हेर्न सक्ने बताए। राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले नगरमा लिइँदै आएका सबै करका विषयमा प्रस्ट पारे। गोष्ठीमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले आयोजना बैंकको औचित्यमाथि प्रकाश पारेका थिए भने सूचना प्रविधि अधिकृत अशोक भेटवालले प्राविधिक पक्षबारे जानकारी गराएका थिए।

मेचीनगर–९ नम्बर वडाको गोष्ठी कञ्चनकुमार तामाङको अध्यक्षता र वडा सचिव सुरेश घिमिरेको सञ्चालनमा सम्पन्न भयो। यस कार्यक्रममा पनि प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती र राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले आयोजना बैंकका विषयमा विस्तृत चर्चा गरेका थिए।

नगरपालिकाबाट प्रदान गरिने ३४ वटा सिफारिसहरू पनि अब चाँडै डिजिटल प्रविधिमार्फत नगरवासीले घरमै बसेर आफ्ना योजना र सेवाहरू प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइँदैछ।

यसअघि, सोमबार वडा नम्बर ४ वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा, ५ वडाध्यक्ष कनकबहादुर कार्कीको अध्यक्षतामा र ६ वडाध्यक्ष ललितकुमार तामाङको अध्यक्षतामा मा पनि वडास्तरीय गोष्ठी सम्पन्न भएका थिए।

आज (बुधबार) वडा नम्बर १०, ११ र १२ मा गोष्ठी हुनेछ भने भोलि (बिहीबार) वडा नम्बर १३, १४ र १५ मा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी सम्पन्न भई योजना सङ्कलनको कामले पूर्णता पाउनेछ। यो पहलले मेचीनगरको विकास प्रक्रियालाई थप जनतामुखी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.