४ भदौ, विराटनगर : नेकपा एमाले विभाजन भएपछि प्रदेश १ का प्रदेशसभा सदस्यहरु कुन पक्षमा लाग्ने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल पक्षका सांसदहरु पनि नयाँ पार्टीमा जाने कि नजाने भन्ने दोधारमा छन् ।
कतिपय स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुले समेत माधव नेपालको साथ छाडेकाले प्रदेश सांसदहरु अलमलमा परेका हुन् ।
तर पार्टी विभाजनको अवस्थामा पुग्दा सचिव भीम आचार्य, केन्द्रीय सदस्य जीवन घिमिरेलगायतले माधव नेपालको साथ छाडेका छन् । पहिले माधव नेपाल समूहमा रहेका उषाकला राई, कला घले, राजकुमार ओझाले त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ओली पक्षमा लागेका छन् ।
माधव समूहका नेताहरुको दाबी अनुसार प्रदेश १ मा हाल १४ सांसद उनीहरुको साथमा छन् । राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनीता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ, लक्ष्मण तिवारी, बलबहादुर साम्सुहाङ, सरिता थापा र होमकुमारी साँवा र लिलाबल्लभ अधिकारी आफूहरुसँग रहेको नेपाल पक्षका नेताहरुको दावी छ । तर उनीहरु सबै माधव नेपालले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम छ ।
राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सुनिता चौधरी, सावित्रा रेग्मी, बलबहादुर साम्सुहाङलगायत नेताहरु नयाँ पार्टीमा जाने सम्भावना छ । अरु सांसदहरु पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल समूहमा रहेकी सांसद खिनु लङ्वा लिम्बु कुन पार्टीमा रहने भन्ने छलफलपछि टुंगो लगाउने बताउँछन् ।
सरकारले भदौ २ गते ल्याएको अध्यादेशमा दल विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न २१ दिन समय दिने उल्लेख छ । समय पर्याप्त रहेका कारण छलफल पछि निर्णयमा पुग्ने माधव नेपाल पक्षकी सांसद सरिता थापाले बताइन् ।
एमाले सांसद राजन राईले पार्टीमा केपी ओली प्रवृत्तिविरुद्ध लडेको भन्दै त्यही कारण माधव नेपालको पार्टीमा जाने बताए । एमाले सांसद उपेन्द्र घिमिरे माधवकुमार नेपालको पार्टीमा आफूसहित १५ जना प्रदेश सासद रहने बताउँछन् ।
माधव नेपाल पक्षका सांसद बलबहादुर साम्सुहाङ पनि दल रोज्नका लागि अझै केही समय बाँकी रहेको बताउँछन् । साम्सुहाङ आफू नेपाल पक्षमा रहेपनि छलफ पछि कुन पार्टीमा रहने निर्णय गर्ने बताउँछन् । एमाले सांसद सुनीता चौधरीले पनि नयाँ पार्टीमा जाने संकेत गर्दै आफ्नो लाइन पहिलेदेखि नै क्लियर रहेको बताइन् ।
संकटमा सरकार, सांसदलाई ओली पक्षको फोन
नेकपा विभाजनपछि मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको सरकार संकटमा परेको छ । माधव समूहका नेता राजेन्द्र राई विभाजनको प्रक्रिया सकिएपछि प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउँछन् ।
हाल प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ । तर पार्टी विभाजनपछि सरकार अल्पमतमा पर्नेछ । अल्पमतमा परेको सरकार जोगाउन एमाले संस्थापन पक्षले नेपालसमूहमा रहेका सांसदलाई फोन गरेर एमाले नछाड्न आग्रह गरिरहेका छन् । ‘विभाजनको अवस्थामा पुगेपछि सत्ता जोगाउन फोन आउने नै भयो,’ माधव पक्षका एक सांसदले भने, ‘सफ्टलाइनरहरु विभिन्न प्रस्तावसहित फोन गइरहेको छ ।’
माधव नेपालको पार्टीमा जाने पक्का भएका नेताहरुलाई भने ओली पक्षले फोन गरेको छैन । माधव पक्षका सांसद साम्सुहाङले आफूलाई फोन नआएको बताए । ‘मलाइ त फोन आएको छैन,’ उनले भने,‘हार्डलाइनर भएकाले होला ।’
माधव पक्षकी सांसद सुनीता चौधरीले आफूलाई फोन आएको बताइन् । ‘फोन त आइहाल्छ’ उनले भनिन्, ‘तर मेरो कित्ता पहिलेदेखि नै क्लियर छ ।’
नेकपा एमालेका सांसद लिलम बस्नेत संस्थापन पक्षमा ३६–३७ जना सांसद हुने बताउँछन् । ‘उता पनि माननीयज्यूहरु हुनुहुन्छ,’ उनले भने, ‘विभाजनको प्रक्रिया पूरा भएको छैन, भोलि संस्थापन पक्षमा ३६ जना सांसद रहनुहुन्छ होला ।’ सांसद बस्नेतले पार्टी विभाजन हुँदा सरकार परिवर्तन हुन सक्ने बताए ।
प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की प्रदेशमा बहुमत गुम्न नदिने प्रयास भइरहेको बताउछन् । ५१ सांसदमध्ये बहुमत सदस्य पार्टीमै रहने उनको विश्वास छ । प्रदेशमा बहुमतका लागि ४७ सांसद आवश्यक छन् ।


























