तिहार र छठ पर्वयता भएका प्रमुख प्रशासनिक तथा नीतिगत उपलब्धिको समीक्षा गर्दै सरकारले जेनजी आन्दोलनका पीडितको पुनस्र्थापनादेखि आईटी आउटसोर्सिङको सहजतासम्मका कामलाई तीव्रता दिएको जनाएको छ।
📌 मुख्य बुँदाहरू:
- प्रधानमन्त्रीको नेतृत्वमा तिहार तथा छठ पर्वयता सम्पन्न भएका १५ प्रमुख कार्यसम्पादनका हाइलाइट्स सार्वजनिक गरिएको छ।
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोडभन्दा बढी रकम जम्मा भएको र विपद् व्यवस्थापनमा १ अर्ब निकासा गरिएको छ।
- सूचना प्रविधि आउटसोर्सिङलाई प्रोत्साहन गर्न विदेशी कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने नीतिगत तयारी अघि बढाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार तथा छठ पर्वयता प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सम्पादित प्रमुख कार्यसम्पादनका विवरणहरू सार्वजनिक गरेको छ। पछिल्ला केही महिनायता सरकारले नीतिगत सुधार, प्रशासनिक सुशासन, विपद् व्यवस्थापन र प्रविधिमैत्री शासन सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यालयले जनाएको छ।
सार्वजनिक विवरण अनुसार यस अवधिमा प्रधानमन्त्री शाहको नेतृत्वमा विभिन्न कूटनीतिक, आर्थिक र सामाजिक सुधारका कदम चालिएका छन्। जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजको कार्यान्वयन प्रगति समीक्षा गर्दै बाँकी काम द्रुत गतिमा गर्न सम्बन्धित निकायलाई निर्देश गरिएको छ। साथै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
कूटनीतिक भ्रमण र आर्थिक कोष व्यवस्थापन
कार्यालयका अनुसार यसै अवधिमा प्रधानमन्त्री शाहले मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेका छन्। मंसिर ६ र ७ गते भएको उक्त भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय हित र सहकार्यका विभिन्न महत्वपूर्ण विषयमा गम्भीर छलफल भएको थियो।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। सङ्कलित रकममध्येबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको सरकारले जनाएको छ। तीन तहका सरकारबीच सञ्चालन हुने वार्षिक योजना र बजेटमा दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन ढाँचासमेत तयार पारिएको छ।
प्रविधि, साइबर सुरक्षा र सीप विकास
सरकारले मुलुकलाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विशेष लगानी सहजीकरण नीतिको तयारी थालेको छ। यस अन्तर्गत विदेशी प्रविधि कम्पनीहरूलाई द्रुतमार्गबाट स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामा विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीसँग परामर्श लिई परिमार्जनको काम अघि बढाइएको छ। सरकारी सीपमूलक तालिमको गुणस्तर बढाउन अध्ययन कार्यदल गठन गरिनुका साथै राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशालासमेत सम्पन्न गरिएको छ।

