वित्तीय अनुशासन र संस्थागत सुशासनविपरीत काम भएको दाबी गर्दै सञ्चालक रामप्रसाद सापकोटाले नयाँ आयोजनामा भएको लगानीमाथि प्रश्न उठाउँदै हकप्रद शेयर निष्कासनको निर्णयसमेत फिर्ता लिन माग गरेका छन्।
📌 मुख्य बुँदाहरू:
- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको लगानी निर्णय र आर्थिक दायित्वलाई लिएर सञ्चालक रामप्रसाद सापकोटाले सार्वजनिक रूपमा असहमति जनाएका छन्।
- सहमतिबिना माथिल्लो आँखुखोला जलविद्युत् आयोजनामा ५ करोड रुपैयाँ भुक्तानी भएको दाबी गर्दै उनले उक्त लगानी फिर्ता गर्न माग गरेका छन्।
- कम्पनीको २०८३ असोज ३० गतेको बैठकबाट आफूलाई गैरकानूनी रूपमा हटाइएको र २ अर्बको हकप्रद शेयर निष्कासनको निर्णय त्रुटिपूर्ण रहेको उनको तर्क छ।
काठमाडौं । धादिङको रिङ्गनेस्थित आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडमा लगानी, आर्थिक दायित्व र सञ्चालक समितिको निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। कम्पनीका सञ्चालक तथा शेयरधनी रामप्रसाद सापकोटाले व्यवस्थापनको कार्यशैलीप्रति असहमति जनाउँदै शेयरधनीको लगानी जोखिममा परेको दाबी गरेका छन्।
करिब ९ वर्षदेखि कम्पनीमा सञ्चालकका रूपमा क्रियाशील सापकोटाले पर्याप्त अध्ययन र छलफलबिना ४४ मेगावाट क्षमताको माथिल्लो आँखुखोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएकोमा आपत्ति जनाएका छन्। उनका अनुसार उक्त निर्णयअनुसार आफ्ना सहमतिबिना नै ५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। विद्यमान आर्थिक दायित्व व्यवस्थापन नगरी थप जोखिमयुक्त आयोजनामा हात हाल्नु शेयरधनीको हितविpरीत हुने उनको तर्क छ।
आर्थिक दायित्व र भुक्तानी बाँकी
सापकोटाले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीमाथि आँखुखोला–२ जलविद्युत आयोजनासम्बन्धी सम्झौताअनुसार अझै करिब २० देखि २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यस्तै, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० देखि १२ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने तथा निर्माणसम्बन्धी थप ४ देखि ५ करोड रुपैयाँ दायित्व बाँकी रहेको उनको दाबी छ। नयाँ आयोजनामा लगानी गर्नुपूर्व प्राविधिक, वित्तीय तथा कानुनी अध्ययन र जोखिम विश्लेषण गर्नुपर्ने माग गरिएको छ।
हकप्रद शेयर र पदमुक्तिको निर्णयमा कानुनी प्रश्न
कम्पनीले २ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णयसमेत फिर्ता लिन सापकोटाले माग गरेका छन्। एउटा आयोजनाको वित्तीय व्यवस्थापन पूरा नभई अर्कोतर्फ लगानी गर्ने उद्देश्यले थप शेयर जारी गर्नु उचित नभएको उनको भनाइ छ। साथै, कम्पनीको २०८३ असोज ३० गते बसेको सञ्चालक समितिको बैठकबाट आफूलाई जानकारी नदिई गैरकानूनी रूपमा सञ्चालक पदबाट हटाइएको भन्दै उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा असहमति तथा कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्।
