सरकारले बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र भरणपोषणका लागि आर्थिक सहायता योजना रसुवाबाट सुरु गरेको छ।
📌 मुख्य बुँदाहरू:
- भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि दीर्घकालीन संरक्षण तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ गोल्जुङबेसीबाट सुरु गरिएको छ।
- बाढीमा श्रीमान् गुमाएकी सुत्केरी महिला र नवजात छोरीको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिएको छ।
- १८ वर्ष उमेर पूरा नभएसम्म ती बालिकाले आमासँगै परिवारमा रहेर मासिक रूपमा सोही बराबरको सहायता प्राप्त गर्नेछिन्।
- राष्ट्रिय बाल अधिकार परिषद् र एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गरी यो विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो।
काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ गोल्जुङबेसीबाट सुरु गरेको छ। बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि औपचारिक रूपमा यो योजनाको थालनी गरिएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ दाखिला गरेकी छन्। यस योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रूपमा १७ हजार ५०० रुपैयाँ सहायता पाउने व्यवस्था मिलाइएको छ। बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका अन्य बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले जानकारी दिइन्।
बालबालिकालाई आफूखुसी अन्यत्र लैजान निषेध
मन्त्री वादीले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारेकी छन्। स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान पाइने छैन।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्र उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उनले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको बताइन्। राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी यो विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो। मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ।
