गत बुधवार दोस्रो बजारमा महिला लघु वित्त वित्तीय संस्थाको जम्मा चार कित्ताको शेयर कारोबार भयो। एक एक कित्ताका दरले ४४३ प्रति कित्ता मूल्यमा शेयर कारोबार भएका हुन्।
नियमत कुनै पनि शेयर धनीले १० कित्ता भन्दा कम शेयर भए मात्रै एक कित्ता शेयर कारोबार गर्न पाउँछ। जसलाई अडलट कारोबार भनिन्छ। तर लगानीकर्ताले यही व्यवस्थाको दुरुपयोग गर्दै त्यस्तो कारोबार गर्न थालेपछि नेप्सेले एक कित्ताको पनि कारोबार गर्न मिल्ने गरी व्यवस्था गर्ने विषयमा छलफल थालेको छ। उसले दोस्रो बजारमा लगातार शेयरको मूल्य बढ्दै जाँदा १० कित्ता शेयर किन्न मन भए पनि आर्थिक अभावका कारण किन्न नसकी मन खुम्च्याउन बाध्य हुनु परेको भन्दै त्यस्तो कारोबार गर्न दिनु पर्ने लाइनमा नेप्सेले छलफल थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक उच्च अधिकारीले बताए।
“दोस्रो बजारमा राम्रा कम्पनीको प्रति कित्ता शेयर मूल्य पाँच सय रुपैयाँ भन्दा माथि छन्। १० कित्ता शेयर किन्न कम्तीमा पनि पाँच हजार रुपैयाँ लाग्छ। तर एक दुई हजार रुपैयाँ हुनेले चाहेर पनि राम्रा कम्पनीको शेयर किन्न सकिरहेका छैनन्। चार पाँच हजार रुपैयाँ भन्दा कम रकम हुनेले शेयर किन्नु परे बजारमा नराम्रा ठहरिएका र मूल्यका हिसाबले कम चलेका शेयर किन्नु पर्ने बाध्यता छ। उनीहरूको पैसा जोखिमयुक्त शेयरमा लगाउँदा प्रतिफल पनि कम हुने र जोखिम पनि बढी हुन्छ। त्यसैले उनीहरूले एक कित्ता भएपनि राम्रा कम्पनीमा लगानी गर्न पाए भने जोखिम पनि कम हुने र प्रतिफल पनि आउने वातावरण बन्छ भन्ने हिसाबले एक कित्ताको कारोबार गर्न दिनु पर्छ भन्ने लाइनमा हामीले छलफल सुरु गरेको हो” नेप्सेका ती उच्च अधिकारीले मेरो लगानीसँग भने।

























