सुजन प्रधान
१८, मेचीनगर : नेपाल टेलिकम, कोशी प्रदेश प्रादेशिक निर्देशनालय विराटनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगरका तीनवटा विद्यालयमा अध्ययनरत स्काउटमा आबद्ध एकसय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।
नेपाल टेलिकम, कोशी प्रदेश प्रादेशिक निर्देशनालय विराटनगरको आयोजनामा आज आयोजित एक कार्यक्रमबीच हरि आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र कवि शिरोमणि माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम दूरसञ्चार सेवा कार्यालय बिर्तामोडका कार्यालय प्रमुख मुरली महतो र नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक दुर्गाबहादुर लुइटेल अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा नेपाल टेलिकम दूरसञ्चार सेवा कार्यालय धुलावारीका कार्यालय प्रमुख धर्मेन्द्र यादव, बिर्तामोडका अर्जुन कोइराला, कोशी प्रदेश प्रादेशिक निर्देशनालयका दिपेन्द्रकुमार मण्डल र बेदनिधि चापागाईं, धुलावारीका विश्वास भण्डारी तथा सम्बन्धित विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक केशव निरौलाले विद्यालय तथा विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सहयोगका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक सहयोग पुग्ने बताए ।
विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने तथा सामाजिक क्षेत्रमा संस्थागत उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले स्कुल ब्याग वितरण गरिएको नेपाल टेलिकमले जनाएको छ ।

स्काउटमा आबद्ध विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस सहयोगले विद्यार्थी तथा विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
नेपाल टेलिकमले ‘राष्ट्र निर्माण हाम्रो लक्ष्य’ भन्ने मूल भावनासहित शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायत विभिन्न सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


























