कोरोनाकालमा गर्भधारण : अस्पताल धाउनेको संख्या बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर, १७ मङ्सिर । विराटनगरमा पछिल्लो समय गर्भ परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या बढेको छ । स्त्री तथा प्रसूति रोग विषेशज्ञ चिकित्सकहरुका अनुसार लकडाउनको समयमा गर्भधारण गर्नहरु बढेका कारण परीक्षणका लागि आउनेको संख्या बढेको हो ।

कोरोना महामारीका कारण अस्पतालहरुमा अत्यावश्यकबाहेक अन्य सेवा लिने बिरामीको संख्या कम छ । तर, गर्भ परीक्षणका लागि अस्पताल आउनेको संख्या बढ्दो छ ।

मोरङ सहकारी अस्पताल विराटनगरका स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह गर्भधारण गर्ने महिलाको संख्या तुलनात्मकरुपमा बढेको बताउँछन् ।

उनका अनुसार लामो समयदेखि योजना बनाएका केही महिला गर्भवती भएका छन् । केहीले तयारीविनाका गर्भ रहेकाले सुरक्षित गर्भपतन रोजेर पनि अस्पताल आइरहेका छन् । तर, अस्पतालमा गर्भपतन गराउन आउनेको संख्या पहिलेको जस्तो नभएको उनले बताए ।

गोल्डेन अस्पतालमा कार्यरत स्त्रीरोग तथा प्रसूती विशेषज्ञ डा. केएम गुड्डी गर्भजाँचका लागि आउनेको संख्या बढ्दै गएको बताउँछन् ।

लकडाउन खुलेपछि परीक्षणका लागि आउनेको संख्या बढ्दै गएको बताउँदै उनले गर्भपतनका लागि आउनेको संख्या पनि बढेको बताए । उनका अनुसार लकडाउनको अवधिमा तयारीविनाका अनिच्छित गर्भ रहेकाले गर्भपतन गर्नेको संख्या बढेको हुन सक्छ ।

कोसी अस्पताल विराटनगरमा कार्यरत स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठका अनुसार गर्भ परीक्षण गराउन आउने, डेलिभरी तथा गर्भपतन गराउन आउनेको संख्या बढेको छ ।

डाक्टरको परामर्श नलिई औषधिको सेवन गरी असुरक्षित तरिकाले गर्भपतन गराएका र रक्तश्रावका कारण गम्भीर भएर आउने बिरामीको संख्या पनि बढेको उनले बताइन् ।

कोरोनाको संक्रमणमा जन्मेको बच्चा कस्तो हुन्छ डरले पनि गर्भपतनको बाटो रोजेको हुनसक्ने उनको भनाइ छ ।

उनका अनुसार एक सातामा तीन–चारजना गर्भ जाँचका लागि आउने गरेका छन् । अन्य अस्पतालमा परीक्षणका लागि आउनेको संख्या पनि सोही अनुपातमा छ ।

सुरक्षा अस्पताल विराटनगरमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रम्भा देव भने लकडाउनको समयपछि गर्भधारण गर्ने महिलाको संख्या खासै नबढेको बताउँछिन् ।

लकडाउनपछि गर्भ परीक्षण गराउन आउनेको संख्या पनि पहिलाजस्तो नरहेको उनको भनाइ छ । ‘लकडाउन तथा संक्रमण सर्ने डरका कारण महिला अस्पताल नआएको पनि हुन सक्छन्,’ उनले भनिन्, ‘परीक्षण, डेलिभरी तथा गर्भपतन गराउन आउनेको संख्या पहिलेको भन्दा कम देखिएको हुन सक्छ ।’

उनका अनुसार पछिल्लो समय सन्तानको योजना बनाउनेभन्दा पनि नियन्त्रण गर्नेको संख्या बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.