१० जेठ, कन्काई : झापा जिल्लाका पालिका प्रमुखहरुले झापाको मेचीनगर—४ आमडाँगीमा रहेको मानव सेवा आश्रमको भौतिक संरचना निर्माण साथै प्रशासनिक व्यवस्थापनमा जिल्लाका पालिकाहरूले सहयोग गर्न यस अघि नै भएको निर्णय अनुसार प्रतिपालिका कम्तिमा ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । पालिका प्रमुख÷ अध्यक्षहरुले खेल क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने जनाएका छन् ।
झापाका पालिकाका प्रमुख ÷अध्यक्षहरुको परामर्श बैठकमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । झापाको कनकाई नगरपालिकामा आयोजित परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याको पहिचान गरेर समाधानमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता समेत उनीहले जनाएका छन् ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले स्थानीय स्तरमा करको दरका बारेमा छलफल गर्दै एकरूपता ल्याउनु पर्नेमा जोड दिए । नगर प्रमुख बुढाथोकीले बजार क्षेत्रमा भाडा दरको एकरूपता कायम गर्नुपर्ने, फलफूल तथा तरकारीजन्य खाद्य सामाग्रीमा विषादीको प्रयोगलाई न्यूनिकरण गर्न साथै नदीजन्य पदार्थ उत्खननमा समेत जिल्लाका सबै पालिकाह बीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता एवम् कनकाई नगर उपप्रमुख आशा शिवाकोटीले स्वागत गरेको परामर्श बैठकमा जिल्लाका पालिका प्रमुख÷ अध्यक्षहरुले पछिल्लो समय अत्यन्तै भयावह बन्दै गएको लागूऔषधको प्रयोग र कारोवारप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
चूनौतिको रुपमा रहेको लागूऔषध नियन्त्रणमा झापाका पालिका प्रमुखहरुले एउटै रणनीति बनाएर अघि बढ्नु पर्नेमा जोड दिँदै कनकाई नगर प्रमुख पोख्रेलले छुट्टै होल्डिङ सेन्टरको व्यवस्थापन गरी उद्यमशीलता तर्फ दुव्र्यसनीलाई जोड्नु पर्ने धारणा राखे । लागूऔषध न्युनिकरण गर्न जिल्लाका सुरक्षा संयन्त्रसँग समेत सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिँदै कनकाई नगर प्रमुख पोख्रेलले साझा समस्याको समाधानमा सबै पालिकाहरुबीच समन्वय हुनु भनेको संघियताको एउटा सफल नमुना भएको बताए ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले सडक बाटोमा परेका बिद्युत पोल सार्ने सवालमा प्राधिकरणका कर्मचारी र अन्य मजदुरहरूका विषयमा एक रूपता हुन नसक्दा समस्या आएकोले यस्ता विषयमा समेत समन्वय हुनु जरूरी रहेको बताएकी छन् । त्यस्तै सशस्त्र प्रहरीको पहलमा कमल गाउँपालिका अन्तर्गत पाडाजुँगीमा संचालनको तयारीमा रहेको विद्यालय निर्माणमा मिलाएर सहयोग गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको भन्दै विर्तामोड नगर प्रमुख प्रसाईँले स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषधको समस्या, खेलकुदका गतिविधि लगायतका विषयलाई साझा समस्याका रुपमा लिएर समाधान तर्फ अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिहं गोम्देनले हरेक पालिकामा पशु उपचार सेवालाई व्यवस्थित गर्दै वैज्ञानिक उपकरण सहित लम्की रोगलगायत विभिन्न रोगको उपचारलाई सहज बनाउन साझा अवधारणा बनाउनु पर्नेमा जोड दिए । प्रमुख गोम्देनले यस किसिमको सेवा हालसम्म जिल्लामा कहि पनि नभएकोले झापाका पालिकाहरुले पशु उपचार सेवालाई वैज्ञानिक बनाउन साझा अवधारणा बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नदीजन्य सामाग्री उत्खननमा पालिकाले अनुमति दिएको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारीबाट भएको अनुगमन पालिकाको नियम विपरीत भएकाले यसमा जिल्लाका सबै पालिकाको ध्यानाकर्षण हुनु पर्नेमा पालिका अध्यक्ष गोम्देनले जानकारी गराए । लागूऔषध तथा दुव्र्यसनी न्युनिकरणमा गम्भीर हुनु जरूरी रहेको भन्दै गोम्देनले अन्य उठेका सबै विषयमा अर्जुनधाराको तर्फबाट आफू सहमत भएको बताए ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले प्रवद्र्धनात्मक साझा कार्यक्रममा सहकार्य गरेर अघि बढ्नुको बिकल्प नरहेको बताए । लागूऔषधको प्रयोग र कारोवारलाई न्यूनीकरण गर्न जिल्लाको सबै संयन्त्र सक्रिय बन्नु पर्ने भन्दै शिवसताक्षी नगर प्रमुख थोप्राले स्थानीय सरकारको तर्फबाट यसको नेतृत्व गर्नु पर्ने सुझाव दिए ।
झापामा शसस्त्र प्रहरीले सञ्चालन गर्न लागेको विद्यालययमा आर्थिक सहयोग गरेर जानु पर्नेमा नगर प्रमुख थोप्राले जोड दिए । खेलकुदका क्षेत्रमा पालिकामा ठुलो धनराशी खर्च भइरहेको भन्दै नगर प्रमुख थोप्राले खेलकुदमा वार्षिक १ करोड ४० लाख र पालिकाले निर्माण गर्न लागेको स्टुडियममा लगातार ३ करोड खर्च भइसकेको जानकारी दिए । यसरी ठूलो धनराशी खर्च भइरहेको खेलकुद विधामा झापाका पालिकाहरुबाट साझा अवधारणा बनेर अघि बढ्न सकेमा आर्थिक रुपले समेत सहज हुन सक्नेमा आफु विश्वस्त रहेको नगर प्रमुख थोप्राले जानकारी गराए ।
खेलकुदका विभिन्न विधामा जिल्लाका सबै पालिकाहरूले अलग अलग विधा सञ्चालन गर्दै जिल्लाको उपयुक्त स्थानमा खेलकुदका लागि ट्रेनिङ सेन्टर निर्माण गर्न सके प्रत्येक पालिकाबाट खेलाडी उत्पादनमा थप बल पुग्ने भन्दै पालिका प्रमुखहरुले खेल क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने जनाएका छन् ।
बैठकमा कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुन नसक्दा दैनिक कार्यसम्पादनमा समस्या हुने भन्दै आफ्नै पालिकामा केही समय अघि प्रमुख प्रशासकीय अधिकृतसँगको असमझदारीका कारण खटपटी भएको जानकारी गराए । जनप्रतिनिधि र कर्मचारी बीचमा हुनसक्ने यस किसिमको समस्याका विषयमा समेत पालिकाको फोरममा छलफल हुनु पर्ने भन्दै राजवंशीले बैठकमा उठेका अन्य सबै सवालमा आफ्नो तर्फबाट ऐक्यवद्धता रहेको जनाए ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले लागूऔषधको प्रयोग र कारोवारप्रति दिनप्रतिदिन युवाहरुको आकर्षण बढ्दै गएकाले यसको न्युनिकरनमा गम्भीर हुनु जरूरी रहेको बताए । स्थानीय तहमा सञ्चालनमा रहेको अस्पतालमा बिमाको औषधि बापतको रकम निकासा गर्न बिमा कम्पनीबाट ढिलो भएका कारण पालिकालाई समस्या भएको भन्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईले यसतर्फ पालिका संयन्त्रले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउ नुपर्नेमा जोड दिए । त्यस्तै तरकारी तथा फलफूलको विषादी परीक्षण साथै नदीजन्य उत्खननमा एक रुपता ल्याउनुपर्नेमा अध्यक्ष प्रसाईले जोड दिए । त्यस्तै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले साझा समस्यामा एकजुट भएर अघि बढ्नु पर्ने भन्दै पालिकाले सञ्चालन गरिरहेको स्वास्थ्य संस्थामा क्रमिक रूपले सेवा विस्तार हुँदै जाँदा स्वास्थ्यकर्मीको दरवन्दी पनि आवश्यक्ता अनुसार विस्तार हुन नसक्दा समस्यामा परेको जानकारी गराईन ।
त्यस्तै करको दायरामा एकरूपता हुने कुरालाई कार्यविधि बनाएर लागु गर्नु जरूरी रहेको भन्दै पालिका अध्यक्ष राजवंशीले यस विषयमा साझा अवधारणा बनाउँन सकेमा आगामी नेतृत्वलाई समेत सहज हुने बताएकी छन् ।
त्यस्तै फोहोरमैला व्यवस्थापनमा गौरादह नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिँदै थोप्राले अन्य साझा सवालमा शिवसताक्षी नगरपालिका सधैं सकारात्मक रहेको बताए ।

























