३१ जेठ, मेचीनगर : झापाको मेचीनगर— ६ मा रहेको काँकरभिट्टा— सतिघट्टा रोडमा शनिबार विहानैदेखि जनपथ र ट्राफिक (नेपाल ) प्रहरीको सवारी चेकजाँच निक्कै कडा थियो ।
पछिल्लो समय सवारी दुघर्टनाबाट हुने धनजनको क्षति कम गर्न अहिले प्रहरीले मुख्यः राजमार्ग तथा गाउँघरतिरका साइड मार्गमा चेकजाँचलाई निक्कै कडा पारेको छ ।

त्यत्तिकैमा काँकरभिट्टातिरबाट सतिघट्टातर्फ एउटा मोटरसाइकल निक्कै तीब्रगतिमा आईरहेको थियो । जुन मोटरसाइकलमा विना हेल्मेट तीनजना युवा सवार थिए । मोटरसाइकल चालक बाटोमा प्रहरीको चेकजाँच देखेपछि आत्तिए । उनले मोटरसाइकलाई नियन्त्रणमा लिन सकेनन् । अन्ततःमोटरसाइकल अनियन्त्रित भएर दुघर्टना भयो । दुघर्टनामा त्यसमा सवार तीनैजना घाइते भए । चेकजाँच गरिरहेको प्रहरीले घटना देख्ने वित्तिकै कुदेर आएर घाइतेको उद्धार गदैं सम्बन्धित ठाउँमा जानकारी गरायो ।

लगत्तै ट्राफिक प्रहरी नायव निरीक्षकको कमाण्डमा अन्य प्रहरी घटनास्थल आईपुग्यो । ट्राफिक प्रहरी नायव निरीक्षकले तत्काल जनपथ प्रहरीलाई खवर गरे । प्रहरी निरीक्षकको कमाण्डमा थप बल घटनास्थल आयो । प्रहरी निरीक्षकले एम्बुलेन्स बोलाए । एम्बुलेन्स पनि केही समयपछि घटनास्थल आइपुग्यो । प्रहरीले ती घाइतेको तत्कालै उद्धार गरेर उपचारकालागि अस्पताल पठायो ।

त्यसबेलासम्म घटनास्थलमा मानिसको निक्कै भीडभाड बढिसकेको थियो । प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लियो । प्रहरी कार्यालयको मुद्धा शाखाबाट आएका कर्मचारीले घटनाको मुचुल्का उठाउन थाले । स्थानीयवासी र पत्रकारले घटनाका बारेमा प्रहरीलाई सोध्न थाले । प्रहरीले घटनाका बारेमा विस्तृत सुनाउँदैं गए । घाइतेका आफ्न्तहरुको रुवाबासी चल्यो । त्यही समयमा उक्त सडकमा आजतजावत गर्ने यात्रुहरु भने विच बाटोमै रोकिएर त्यहाँको दृश्य नजिकबाट नियाली रहेका थिए । यात्रुहरुलाई भने साच्चै नै ठूलै घटना घटेछ भन्ने भान भयो । घटनामा देखाईए जस्तै नत त्यहाँ मोटरसाइकल दुघर्टना भएको थियो, नत कोही घाईते बनेका थिए नत कसैलाई अस्पताल नै पुर्याइएको थियो ।

यो एउटा काल्पनिक घटनामात्र थियो । सडकमा हुने सवारी दुघर्टनामा कसरी उद्धार गर्ने भन्ने विषयमा मेचीनगरमा जनपथ र ट्राफिक (नेपाल ) प्रहरीले सवारी दुघर्टनामा परेका घाइतेको उद्धार कार्यको लागि कृत्रिम अभ्यास गरेको हो । सवारी दुघर्टनाबाट हुने क्षति कम गर्न र दुघर्टनामा परेका घाइतेको तत्काल उद्धार के कसरी गर्न सकिन्छ भनेर उक्त कृत्रिम अभ्यासको माध्यमवाट नागरिकलाई डेमो प्रर्दशन गरेको हो ।
जनपथ र ट्राफिक (नेपाल) प्रहरीको टोलीले सवारीका घटनामा परेका हरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यासको माध्यमवाट नागरिकलाई डेमो प्रदर्शन गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरट्टिाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए ।

कृत्रिम अभ्यासमा मोटरसाइकलमा सवार ती युवा अचानक दुघर्टनामा परेपछि शक्त घाईते बनेको दृश्य देखाईएको थियो । घटनाको जानकारी पाएपछि जनपथ र ट्राफिक (नेपाल) प्रहरीको टोली तत्काल उद्धार कार्यमा जुटेको थियोे । घटनास्थलमा घाईतेको उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी खटिएका थिए । घाईतेलाई घटनास्थलबाट उद्धार गरी मेचीनगर नगरपालिकाको एम्बुलेन्समा राखेर अस्पताल तर्फ लगिएको थियो ।

धेरै समयपछि सडकमा आवतजावत गर्नेहरु र स्थानीवासीहरुले बल्ल थाहा पाए योे त कृत्रिम अभ्यास गरेको रहेछ भन्ने । प्रहरीले सवारी दुघर्टना भएको अबस्थामा विपदको पुर्व तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा विपद प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेको हो ।


‘दुघर्टना बाजा बजाएर आउँदैन, दुघर्टनाबाट आफु पनि बचौँ, अरुलाई पनि बचाँऔं’ डेमो प्रदर्शनमा रहेका इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाले भने । घटनाका बेला सबैभन्दा पहिले पुग्ने स्थानीयवासीलाई खोज तथा उद्धारसम्बन्धी सीप दिन आवश्यक भएको प्रहरी निरीक्षक कोइरालको भनाई छ । दुघर्टना जतिखेर पनि हुन सक्ने भएकाले बेलैमा सवारी नियम पालना गर्नुपर्ने ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले बताए ।

























