युएईका महान्यायाधिवक्ताले डिजिटल माध्यममा भ्रामक तथा बनावटी भिडियो सार्वजनिक गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन्।
अधिकारीहरूका अनुसार पक्राउ आदेश जारी गरिएका व्यक्तिहरूमध्ये दुई जना भारतीय नागरिक रहेका छन् भने अन्यमा पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका नागरिक रहेका छन्।
सुरक्षा निकायले ती भिडियोमा वास्तविक दृश्यसँगै कृत्रिम बुद्धिमत्ता प्रयोग गरी तयार पारिएका दृश्य पनि समावेश गरिएको जनाएको छ। भिडियोमा युएईका विभिन्न स्थानमा विस्फोट, आक्रमण र सुरक्षासम्बन्धी खतरा भएको झूटा दृश्य देखाइएको पाइएको बताइएको छ।
अनुसन्धानका क्रममा जनतालाई भ्रमित पार्ने तथा त्रास फैलाउने उद्देश्यले उक्त सामग्री प्रसारण गरिएको निष्कर्ष निकालिएको छ। त्यसपछि संदिग्धहरूलाई द्रुत न्यायिक प्रक्रियामा पठाइएको जनाइएको छ।
अधिकारीहरूले भ्रामक सूचना फैलाउने कार्यले राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै यस्तो अपराधमा संलग्न हुनेलाई कम्तीमा एक वर्षसम्म कारावास र एक लाख दिराम वा सोभन्दा बढी जरिवाना हुन सक्ने चेतावनी दिएका छन्।
पक्राउ आदेश जारी गरिएका व्यक्तिहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।
तस्बिर स्रोतः गल्फन्युज


























