सार्वजनिक स्थलमा हिजाब न लगाएको र एकल गायन गरेको कसुरमा इरानमा चर्चित गायिका परस्तु अहमदीसहित पाँच जनालाई कोर्रा हानिएको छ।
📌 मुख्य बुँदाहरू:
- इरानमा हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा गायिका परस्तु अहमदीलाई ७४ कोर्रा हानिएको छ।
- अहमदीसँगै उनका सांगीतिक टोलीका चार पुरुष सदस्यलाई पनि समान सजाय दिइएको छ।
- अदालतले उनीहरूलाई दुई वर्षसम्म सांगीतिक तथा कलात्मक गतिविधि गर्न र देशबाहिर यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
इरानमा सार्वजनिक स्थानमा हिजाब नलगाई गीत गाएको अभियोगमा चर्चित गायिका परस्तु अहमदीलाई ७४ कोर्रा हानिएको छ। उनीसँगै उनका सांगीतिक टोलीका चार सदस्यलाई पनि अदालतको आदेशअनुसार समान सजाय दिइएको छ।
२९ वर्षीया अहमदीलाई गत नोभेम्बर २३ मा इरानको धार्मिक सहर कोममा कोर्रा हानिएको हो। उनका वकिल मुस्तफा निलीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले यसबारे समाचार सार्वजनिक गरेका छन्। गायिका अहमदीले सन् २०२४ डिसेम्बर ११ मा कोम प्रान्तस्थित ऐतिहासिक कारभान्सराईमा दर्शकबिनै सांगीतिक कार्यक्रम आयोजना गरेकी थिइन्। उक्त कार्यक्रममा उनले हिजाब नलगाई र काँध देखिने पहिरनमा एक्लै गीत गाएकी थिइन् भने उनका साथमा पुरुष संगीतकर्मीहरू पनि रहेका थिए। कार्यक्रम युट्युबबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
क–कस्लाई तोकियो सजाय?
इरानमा महिलाले सार्वजनिक स्थानमा अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने तथा महिलाले सार्वजनिक रूपमा एकल गायन गर्न नपाउने कडा कानुन रहेको छ। सोही कानुनी व्यवस्थाको उल्लंघन गरेको भन्दै अदालतले उनीहरूमाथि सार्वजनिक मर्यादा भंग गरेको र अनलाइनमा अश्लील तथा अनैतिक सामग्री प्रकाशन गरेको अभियोग लगाएको थियो।
यस मुद्दामा गायिका अहमदीसँगै चार पुरुष सदस्यहरू सोहेल फकिह नासिरी, अमिन ताहेरी, अमिरअली पिर्निया र मोहसेन लस्कारीलाई पनि ७४–७४ कोर्रा हानिएको पुष्टि भएको छ। यस प्रकरणमा कुल नौ जनालाई सजाय सुनाइएको भए पनि हालसम्म पाँच जनामाथि कोर्रा सजाय कार्यान्वयन गरिएको छ। साथै, अदालतले उनीहरूलाई आगामी दुई वर्षसम्म कुनै पनि सांगीतिक तथा कलात्मक गतिविधि गर्न नपाउने र देशबाहिर यात्रा गर्न समेत प्रतिबन्ध लगाएको छ। पुनरावेदन अदालतले समेत यसअघिको सजायलाई सदर गरेको थियो।







