लक्ष्मी उप्रेती
१० साउन, मेचीनगर : सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्धेश्यीयसहित आजबाट नेपालको सुदूर पूर्व झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ ।
केहीदिन अघिमात्र नेपाल–भारत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सादा पोसाकमा परिचालन हुने ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला अन्तर्गत रानीग्राम पञ्चायतमा पर्ने पानीट्याँकीसँग सीमा जोडिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टाका अनुसार सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच महिलासहित १४ जना सादा पोसाकमा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) काँकरभिट्टा नाकामा परिचालित छ । जस्मा दुईजना सशस्त्र प्रहरी नायव निरीक्षक, एकजना सशस्त्र सहायक निरीक्षक, एकजना वरिष्ठ हवाल्दार, एकजना हवाल्दार, तीनजना सहायक हवाल्दार बाकी जवान रहेका छन् ।

‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) मा सशस्त्र प्रहरीकै जनशक्ति रहने भए पनि उनीहरू नियमित बर्दीमा नभई सादा पोसाकमा खटिनेछन् । यद्यपि, टोलीका सदस्यहरूले पहिचान र एकरूपता झल्किने प्रकारका पोसाक प्रयोग गर्ने व्यवस्था गरिएको छ । सीमा सहजिकरण तथा परामर्श, निगरानी र नियन्त्रणका लागि यो टिमको औचित्य रहेको छ ।
सीमापार गर्ने सर्वसाधारण विशेष गरी महिला तथा बालबालिका र बृद्ध बृद्धालाई आवगमनमा सहयोग गर्ने, शंकाष्पद व्यक्तिहरुको निगरानी सीमा नाकाबाट हुने मानव बेचबिखन रोक्ने तथा उद्धार गर्ने, जाली नोट, लागुऔषध, तथा प्रतिवन्धित सामाग्री ओसारपसार जस्ता अपराध नियन्त्रण गर्ने, अवैध गतिविधि बारे सूचना संकलन गर्ने, आपसमा आवश्यक समन्व्य गर्ने तथा खुल्ला सीमानाकाको फाइदा उठाएर हुने अवैध आवागमन, आतंककारी गतिविधि, शंकाष्पद,व्यवहार पहिचान गरी रोकथाम तथा नियन्त्रण गर्ने ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) को काम, कर्तव्यभित्र पर्दछन् ।
यी सहित सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउनु, उनीहरूका समस्या बुझ्नु तथा सम्बन्धित निकाय र भारतीय सुरक्षा निकायसँग समन्वयलाई थप प्रभावकारी बनाउनु, सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा सूचना संकलन, स्थानीय तहमा विश्वास निर्माण तथा दुवै देशका सुरक्षा निकायबीच सहकार्य अभिवृद्धि गर्ने जिम्मेवारी पनि टोलीले वहन गर्नु पनि हो ।
काँकरभिट्टा नाकामा आजैबाट ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) ले काम शुरु गरेको छ । चेकजाँचमा कडाई र सीमानाका भएर आवातजावत गर्ने माथि कडा निगरानी बढाएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरीले यो अवधारणालाई प्रारम्भिक रूपमा पाइलट परियोजनाका रूपमा कार्यान्वयनमा ल्याउने योजनाका रुपमा अघि सारेको एकजना उच्च अधिकारीले बताए । बनाएको बताइएको छ ।
केहीदिन अघिमात्र सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा व्यवस्थापनलाई संस्थाको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताउँदै बीआईटी अवधारणा अब कार्यान्वयनको चरणमा पुगेको जानकारी गराएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीलगायतका मातहतका कार्यालयबाट आवश्यक जनशक्ति संकलन गरेर ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) तयार गरी आवश्यक तालिम पश्चात काँकरभिट्टा नाकामा परिचालन गरीएको बताइएको छ ।
सशस्त्र प्रहरीका एकजना उच्च अधिकारीका अनुसार प्रारम्भमा देशका प्रमुख सीमा नाकाहरूमा बीआईटी परिचालन गरिनेछ । सोहि अनुरुप काँकरभिट्टा नाकामा परिचालन गरिएको हो । त्यसपछि त्यहाँ कार्यरत टिमले प्राप्त गरेको अनुभव र आवश्यकताका आधारमा अन्य सीमा क्षेत्रहरूमा समेत विस्तार गरिने योजना रहेको बताईएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)मा यस्तै प्रकृतिको टोली परिचालन गरिएको छ । सोहि अनुसार नेपालतर्फ पनि आधुनिक सीमा व्यवस्थापनका लागि समान अभ्यास सुरु गर्न लागिएको बताईएको छ । वर्तमान अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बर्दीसहित परिचालित हुँदै आएको भए पनि अब समुदायसँग प्रत्यक्ष घुलमिल हुन सक्ने विशेष टोलीको आवश्यकता महसुस गरिएको हो ।
बीआईटी परिचालन भएपछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप सहयोग पुग्ने सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वा. काँकरभिट्टाको विश्वास छ । चोरीपैठारी, सीमापार अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा राजस्व चुहावटजस्ता गतिविधिको समयमै सूचना प्राप्त गर्न र नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाउन टोली उपयोगी बन्ने सशस्त्र प्रहरीले अपेक्षा गरेको छ ।
सीमा सुरक्षासँगै विपद् व्यवस्थापनलाई पनि सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको छ । बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा छिटो उद्धार तथा राहत कार्य सञ्चालन गर्न संस्थागत तयारीलाई सुदृढ बनाएको छ ।
सशस्त्र प्रहरीको यो नयाँ अभ्यासलाई सीमा सुरक्षामा समुदायको सहभागिता बढाउने तथा सुरक्षा निकाय र नागरिकबीचको दूरी कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यदि पाइलट परियोजनाले अपेक्षित परिणाम दियो भने बीआईटीलाई देशभरका महत्वपूर्ण सीमा क्षेत्रहरूमा विस्तार गर्ने सशस्त्र प्रहरीको योजना रहेको एकजना अधिकारीले बताए ।


























