झरनामा नुहाउने आन्तरिक पर्यटक बढेसँगै स्थानीय दूषित पानी पिउन बाध्य

नियन्त्रण र व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनसँग गुहार

A notice in Nepali from Mechinagar Ward No. 10

५ भदौ, काँकरभिट्टा :  मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरु दूषित पानी पिउन बाध्य हुनु परेको गुनासो गरेका छन् ।
केही दिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाकोे सीमानामा रहेको पर्यटकीय स्थल झरनामा नुहाउन र मनोरञ्जन गर्न पुग्ने आन्तरिक पर्यटकहरुका कारण बाहुनडाँगीका खानेपानी आयोजनाहरु प्रदूषित भएको भन्दैं पदाधिकारी र उपभोक्ताहरुले गुनासो गरेका हुन् ।

मेचीनगर १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ वडा खानेपानी आयोजना सञ्चालित छन् । मेचीनगर —१ को सिरानमा पर्ने तिरिङ खोला र निन्दा खोलाको मुहानमा पछिल्लो समय आन्तरिक पर्यटकहरु ठूलो संख्यामा नुहाउन जाने गरेका छन् ।

ती आयोजनाका मुहानमा आन्तरिक पर्यटकहरु रमाउने नाममा फोहोर मैला गरिदिँदा दूषित पानी पिउन उपभोक्ता बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीको भनाई छ ।
अध्यक्ष अधिकारीले मुहान दूषित हुँदा उपभोक्ता पानी खान नसक्ने अवस्थामा पुगेको बताउदैं उपभोक्तालाई शुद्ध पानी वितरण गर्नु समितिको पहिलो दायित्व भएको भए पनि समितिले नसकेको दुखेसो व्यक्त गर्नुभयो । पर्यटन विकासलाई व्यवस्थित नगर्ने हो भने उपभोक्ता प्रतिकारमा उत्रने उहाँले चेतावनी दिनुभएको छ ।

मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङग खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका पदाधिकारी र उपभोक्ताहरुले आफूलाई स्वच्छ र सफा पानी पिउने वातावरण मिलाईदिन मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी सबै आयोजनाको मुहान भने त्यही झरनाको पानी हो । झरनामा नुहाउन जाने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोरमैला गर्दा साविक बाहुनडाँगीका साना तथा ठूला खानेपानी आयोजना प्रभावित भएको सम्बन्धित उपभोक्ता समितिलहरुले जनाएका छन् ।
पर्यटकीय गन्तव्यलाई व्यवस्थित गरेर शुद्ध पानी वितरणमा पहल गरिदिन स्थानीय सरकार मेचीनगरलाई आयोजनाहरुले आग्रह गर्दै मुहानमा फोहोर गरिदिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय उपभोक्ता तिलजा देवानले यहाँका हरेक खानेपानीका उपभोक्राहरुले दिसापिसाव खाइरहनु परेको दुःख व्यक्त गर्नुभयो ।
मेचीनगर —१ को सिरानमा पर्ने तिरिङ खोलाबाट गोकुल खानेपानी सहित अन्य साना पाँचवटा खानेपानी सञ्चालित छन् । यस्तै, निन्दा खोलाबाट बाहुनडाँगी, श्रीनन्दा, जिल्ला विकास खानेपानी, साङपाङ खानेपानीलगायत १० वटा आयोजना वर्षौदेखि सञ्चालित छन् । ती आयोजनाबाट वितरित पानी साविक बाहुनडाँगीका करिब ३ हजार उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

नन्दा खानेपानी अध्यक्ष इन्द्र ढकाल, निन्दाटार खानेपानीका अध्यक्ष गौरी आचार्य, स्थानीय दिपेश खड्का पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा यसक्षेत्रमा खानेपानीको विकराल समस्या पैदा हुने बताउनुहुन्छ ।
पर्यटन क्षेत्रको विकासँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा मेचीनगर प्रमुख विमल आचार्यले स्थानीय सरकार मेचीनगर सक्रियरुपमा लाग्ने बताउनुहुन्छ । प्रमुख आचार्यले पर्यटन विकाससँगै शुद्ध खानेपानी वितरणमा लाग्नु पर्ने बताउदैं उहाँले आन्तरिक पर्यटन प्रवद्र्धन र पानीको मुहान व्यवस्थापन दुवै अहिलेको आवश्यकता भएको बताउनुभयो ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दैं नगर प्रमुख आचार्यले घुम्न आउने अन्तरिक पर्यटकलाई हामीले प्रोत्साहन पनि गर्नुपर्ने र मुहान सफा राख्ने कुराको विकल्प खोज्नुपर्ने त्यसका लागि सूचना पाटी, डस्वीन राखेर पर्यटनलाई पनि बचाउन सकिने बताउनुभयो । पर्यटीय क्षेत्रको रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगीको झरना व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरर निष्कर्षमा पुगिने उहाँको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल कुनै पनि नागरिकले सार्वजनिक स्थलमा फोहोर मैला गर्न नपाउने बताउनुहुन्छ । कानुनले बन्देज गरेको कार्य गरे जस्लाई पनि कारवाही हुने उहाँको भनाई छ । मेचीनगर —१ का वडाध्यक्ष पासाङ तामाङ नगर सदस्य डिकेन्द्र थापा, वडानम्बर २ का जनप्रतिनिधिलगायले झरनाको व्यवस्थापन गरेर खानेपानीको मुहान शुद्घ र सफा राख्न जोड दिएका थिए ।

नेपालको संविधानमा स्वच्छ र सफा पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार उल्लेख छ । यस कारण पनि स्थानीयर सरकारले आफ्ना नगरवासीलाई खानेपानीको उचित प्रवन्ध मिलाउनु पहिलो दायित्व हो । यसका लागि मेचीनगर नगरपालिका तत्काल लाग्नुपर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.