काठमाडौं । रोजगारदाताले चाडपर्व खर्च उपलब्ध नगराए श्रमिकले अब अनलाइनबाटै उजुरी गर्न सक्ने भएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिँदै खर्च नपाएका श्रमिकलाई सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
विभागका अनुसार कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको छ। त्यसैले विभागले कानुनले तोकेको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदातालाई निर्देशन दिएको हो। चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदातामाथि प्रचलित श्रम कानुनअनुसार कारबाही हुन सक्ने विभागले जनाएको छ।
चाडपर्व खर्च नपाए कहाँ उजुरी गर्ने ?
रोजगारदाताबाट कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन्।
विभागले उजुरी, गुनासो तथा सुझावका लागि [email protected] मा इमेल गर्न सकिने व्यवस्था पनि गरेको छ। साथै, विभागले क्यूआर कोडमार्फत अनलाइन उजुरी दर्ता गर्ने व्यवस्था गरेको छ।
अनलाइन उजुरीका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीमा रहेको उजुरी फारम प्रयोग गर्न सकिन्छ। फारममा प्रतिष्ठान वा व्यवसायको विवरण, उजुरीको प्रकार, उजुरीको विवरण तथा आवश्यक कागजातसमेत पेश गर्न सकिने व्यवस्था छ।
अनलाइन उजुरी कसरी दिने ?
अनलाइन उजुरी दर्ता गर्दा श्रमिकले सामान्यतया आफ्नो प्रतिष्ठान/रोजगारदाताको विवरण, ठेगाना, सम्पर्क विवरण र उजुरीको विषय उल्लेख गर्नुपर्ने हुन्छ।
उजुरी फारममा व्यक्तिगत वा सामूहिक रूपमा आवेदन दिने विकल्पसमेत राखिएको छ। आफ्नो दाबी वा उजुरीसँग सम्बन्धित अतिरिक्त कागजात भए त्यसलाई समेत अपलोड गर्न सकिने व्यवस्था छ।
श्रमिकले आफ्नो परिचय खुलाउने वा नखुलाउने विकल्पसमेत फारममा छनोट गर्न सक्छन्। व्यक्तिगत विवरण उपलब्ध गराउने अवस्थामा नाम, पद, विभाग, इमेल, फोन नम्बर तथा अन्य आवश्यक विवरण मागिन्छ।
अनलाइन उजुरी दर्ता गर्ने आधिकारिक प्रणाली:
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको अनलाइन उजुरी प्रणाली
उजुरीसँग के–के कागजात उपयोगी हुन्छन् ?
श्रम तथा रोजगार कार्यालयको जानकारीअनुसार व्यक्तिगत दाबी पेश गर्दा नागरिकताको प्रतिलिपि, काम गरेको प्रतिष्ठानले उपलब्ध गराएको परिचयपत्र, नियुक्तिपत्र वा पछिल्लो तलब बुझेको बैंक स्टेटमेन्ट लगायतका कागजात उपयोगी हुन्छन्।
त्यस्तै, आफूले पाउनुपर्ने रकमको स्पष्ट हिसाब तथा रोजगारदाता/प्रतिष्ठानको नाम, ठेगाना र सम्पर्क विवरणसमेत उपलब्ध गराउनुपर्ने हुन सक्छ।
यसर्थ, चाडपर्व खर्च नपाएको अवस्थामा श्रमिकले आफूले काम गरेको प्रतिष्ठानसँग सम्बन्धित प्रमाण तथा तलबसम्बन्धी कागजात सुरक्षित राख्नु उपयुक्त हुन्छ।
कानुनले दिएको सुविधा लिन सकिने
चाडपर्व खर्च रोजगारदाताले आफ्नो इच्छाअनुसार दिने सुविधा मात्र नभई श्रम ऐनले व्यवस्था गरेको श्रमिकको अधिकार हो। त्यसैले कानुनबमोजिम पाउनुपर्ने रकम नपाएको अवस्थामा सम्बन्धित श्रमिकले कानुनी प्रक्रियामार्फत आफ्नो दाबी अघि बढाउन सक्छन्।
विभागले रोजगारदाता तथा प्रतिष्ठानहरूलाई कानुनबमोजिम श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको छ भने सुविधा नपाएका श्रमिकलाई सम्बन्धित श्रम कार्यालय वा विभागमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ।


























