५ भदौ,शनिबार, इटहरी । प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरीले इटहरीको विश्व आदर्श कलेजमा आज (शनिबार) सम्पन्न भएको एक कार्यक्रममा दुई स्रस्टालाई सम्मान गरेको छ । स्रस्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा करिब पाँच दशकदेखि नेपाली साहित्य र प्रगतिवादी लेखनमा योगदान पुर्याउनु भएका इटहरीका वरिष्ठ साहित्यकार तथा अग्रज पत्रकार कृष्णविनोद लम्साललाई प्रलेसको तर्फबाट नगद रु .११ हजार १ सय ११ सहित” प्रलेस सम्मान -२०७८” ले सम्मान गरेको छ ।
त्यसैगरी ब्लाष्ट दैनिकका प्रधान सम्पादक तथा साहित्यकार राजकुमार कार्कीको नाममा स्थापना भएको “राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार -२०७८”बाट इनरुवाकी साहित्यकार तथा प्राध्यापक विमला पोखरेललाई नगद रु ५ हजार ५ सय ५५ ले सम्मान गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ स्वर्गीय उपेन्द्र बस्नेत” पागल” का कविता सङ्ग्रह ” पागलका प्रतिनिधि कविताहरु” को समेत विमोचन भएको थियो। विमोचन भएको सो पुस्तक माथि प्राध्यापक तीर्थ भट्टराईले समीक्षा गर्नुभएको थियो।कार्यक्रममा पागलकी श्रीमती वृन्दा बस्नेतलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्राध्यापक वरिष्ठ लेखक भानु भण्डारीले प्रलेस सुनसरीले स्रष्टाप्रति गरेको सम्मानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा ब्लाष्ट दैनिकका कार्यकारी निर्देशक किशोर कार्की ,प्रलेस उपाध्यक्ष प्रदेश १ का डा. खेमराज खनाल,महाकाव्यकार डम्बरुबल्लभ भण्डारी,प्रश्रीत प्रतिष्ठान पूर्व कोसीका अध्यक्ष लेखनाथ घिमिरेले शुभकामना मन्तव्य तथा सम्मानित स्रष्टालाई हार्दिक बधाई दिनु भएको थियो।
कार्यक्रममा प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष रामप्रसाद खरेलको “अक्षरमा मान्छे” कविता सङ्ग्रहमा रहको “मेरा बा “शीर्षक को कवितालाई वरिष्ठ नाट्यकार भरत गुरागाइँ ” बर्बरिक”ले तयार पारेको भिडियो समेत सार्वजनिक गरिएको थियो।
उपेन्द्र पागलकी छोरी गीता बस्नेत र परिवारका अन्य सदस्यहरुको समेत उपस्तिथि रहेको सो कार्यक्रममा सुनसरी,मोरङ,झापा लगायत अन्य ठाँउबाट पाल्नुभएका स्थापित स्रष्टा , नव सर्जक , रङकर्मी, कलाकारहरु , प्राध्यापक ,समाजसेवी,विभिन्न संघ संस्थामा आवद्द व्यक्तित्व र पत्रकारको उपस्तिथी रहेको थियो। सो कार्यक्रममा साहित्यकार तथा प्रलेस सुनसरी कार्य समितिका सदस्य रमेश धमालाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रलेस सदस्य सिएन गौतमको सञ्चालनमामा प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

























