झापाको दक्षिणक्षेत्रमा वृहद निःशुल्क स्वास्थ्य शिविर

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२४ असोज, कचनकवल : कचनकवल गाउँपालिका–४ विशाल गाउँकी ५३ वर्षीया गंगामाया लामिछानेले शनिबार गाउँमै विशेषज्ञ चिकित्सक भेटिन् । हड्डी र नशा दुख्ने समस्याले उनी लामो समयदेखि थलिएकी थिईन् । कचनकवल –०६ की हरिमाया कोइराला यस्तै समस्याबाट हैरान थिईन् ।

विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि पनि शहरका सुविधा सम्पन्न अस्पताल धाउनुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा अझै कायम छ । सामान्य आर्थिक अवस्था भएका खर्च र समय अभावका कारण उपचार गराउने हिम्मत पनि नभएका निक्कै जनाले शनिबार आफ्‌नै गाउँघरमा विशेषज्ञ सेवा पाएका थिए । यस्का कारण उनीहरुमा खुशी छाएको थियो ।

झापा मेचीनगर–१० धुलावारी स्थायी घर भएका वरिष्ठ मेरूदण्ड (स्पाईन) सर्जन, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मनोज राजवंशीले आफ्‌नो पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, ‘उपचार नपाएका र स्वास्थ्य सेवामा पहुँच नपुगेका सर्वसाधारणका लागि दुर्गम ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु मेरो पहिलो प्राथमिकता हो ।’

सोहि प्रतिवद्धतालाई पुरा गर्न डाक्टर राजवंशीको नेतृत्वमा शनिबार झापाको मेचीनगर–१० धुलावारीमा प्रधान कार्यालय रहेको सन्तोष इन्स्टिच्यूट फर डेभलपमेन्ट प्रालि र सन्तोष फर्निचरको संयुक्त आयोजना तथा भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटल प्रालिको प्रविधिक सहयोगमा झापाको कचनकवलमा एकदिने वृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

उपचारका लागि टाढा जानुपर्ने बाध्यता अझै धेरै सर्वसाधारणमा छ । आर्थिक अभाव, यातायातको समस्या र जनचेतनाको कमीका कारण कतिपयले समयमै उपचार गर्न सकिरहेका छैनन् । सन्तोष इन्स्टिच्यूट फर डेभलपमेन्ट प्रालि र सन्तोष फर्निचरले यहाँ शिविर सञ्चालन गरिदिएर ग्रामीण क्षेत्रका नागरिकलाई धेरै सहज बनाईदिएको सेवाग्राहीको प्रतिक्रिया थियो ।

शनिबार बिहानैदेखि शिविर आयोजक स्थल सन्तोष फर्निचर परिसरमा सेवाग्राहीको भीड लागेको थियो । कोही हड्डी नशा, जोर्नीसम्बन्धी समस्या लिएर आएका थिए भने कोही नाक,कान, घाटी र उच्च रक्तचाप परीक्षणका लागि लाइनमा बसेका थिए । आर्थिक अभाव र विशेषज्ञ सेवा नहुँदा लामो समयदेखि उपचारबाट टाढिएका स्थानीयले गाउँमै निःशुल्क जाँच तथा परामर्श पाएपछि राहत महसुस गरेका छन् ।

स्थानीय कर्ण राजवंशीले आर्थिक अभाव लगायत थुप्रै कारणले ग्रामीणक्षेत्रका सर्वसाधारण विशेषज्ञ डाक्टरको सेवाबाट बञ्चित रहेको र गाउँमै निःशुल्क सेवा पाउँदा धेरै सहज भएको बताए । उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले समयमै उपचार नपाउँदा समस्या झन जटिल बन्दै जाने गरेको बताए ।

आयोजक संस्थाका सञ्चालक सन्तोष राजवंशीले ग्रामीणक्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा अभाव रहेकाले रोग पहिचान तथा उपचारलाई गाउँस्तरसम्म पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।
झापाको दक्षिणी क्षेत्रमा पर्ने कचनकवलमा अधिकाँश आदिवासी समुदायको बाहुल्यता रहेको आर्थिक समस्यालगायत विविध कारणले विशेषज्ञ उपचारको पहुँचभन्दा टाढा रहेका स्थानीयलाई लक्षित गरि शिविर आयोजना गरिएको उनको भनाई छ ।

शिविरमा वरिष्ठ मेरूदण्ड (स्पाईन) सर्जन, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मनोज राजवंशी, नाक,कान,घाटीका डाक्टर कविर वास्तोला जेनरल फिजिसियन डाक्टर खगेन्द्र कार्कीलगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सिएमए योगिता ठाकुर, ए एन एम निर्मला आचार्य र सबु भट्टराईलगायतको स्वास्थ्यकर्मीहरूको टोलीले समेत शिविरमा सहयोग गरेको सञ्चालक राजवंशीले बताए ।

कचनकवल गाउँपालिका –०६ मा रहेको सन्तोष फर्निचर परिसरमा आयोजित शिविरमा ओैषधि समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पताल पुगेर उपचार नपाएकाहरूले आज आफ्नै गाउँघरमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका थिए । स्वास्थ्य समस्या बोकेर बसेका धेरैलाई यो शिविरले राहत मिलेको लामिछानेको प्रतिक्रिया छ । ‘एकदिने निःशुल्क स्वास्थ्य शिविरले भने गाउँमै विशेषज्ञ सेवा दिएपछि स्थानीय नागरिकलाई राहत मिलेको छ ’लामिछानेले भनिन् ‘ गाउँमै यति ठूलो स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा पुगेपछि स्थानीयमा उत्साह देखिएको छ ।’ शिविरमा उनलाई चिकित्सकले जाँचपछि औषधि दिए । औषधी समेत सित्तैमा पाएपछि लामिछाने खुसी हुँदै घर फर्किन् ।

कचनकवल– १ का ७१ वर्षीय रुठिलाल राजवंशीले पनि बिहानैदेखि लाम लागेर वरिष्ठ मेरूदण्ड (स्पाईन) सर्जन, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मनोज राजवंशीसँग स्वास्थ्य जाँच गराए । डाक्टरले औषधि लेखेपछि उनले औषधि वितरण कक्षबाट औषधि लिएर खुसीसाथ घर फर्के । शिविरमै भेटिएका स्थानीय कर्ण राजवंशीले ग्रामीण क्षेत्रका सर्वसाधारणले स्वास्थ्य समस्यालाई लुकाएर बस्नुपर्ने अवस्था अझै रहेको बताउँदै यस्ता शिविर नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले गाउँमै विशेषज्ञ सेवा पुग्दा उपचारप्रति नागरिकको पहुँच बढेको बताए । शिविरमा धेरैजसो ज्येष्ठ नागरिक, महिला र बालबालिका सहभागी थिए । उनीहरूले गाउँमै निःशुल्क औषधिसहित विशेषज्ञ सेवा लिए ।

कचनकवल गाउँपालिकालगायत भद्रपुर नगरपालिकाबासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा दुई सय २३ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने सन्तोषको भनाई छ ।

‘नागरिकको सहजताका लागि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं’, उनले भने । शिविरमा करीव तीनदेखि चारलाख रूपैयाँसम्मको ओैषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरुलाई आयोजकले कदरपत्र समेत प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.