विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा भएको कार दुर्घटनामा परेर बिहीबार(आज) बिहान एक जनाको मृत्यु भएको छ।
बा ११ च १५७१ नम्बरको कार दुर्घटना हुँदा बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेकी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बिहान गम्भीर घाइते भएकी चन्द्रकलाको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परेर कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ५५ वर्षीया सानी धिमाल र ४३ वर्षीया गीता लिम्बू घाइते भएको श्रेष्ठले बताए। चालकको अवस्था सामान्य छ। घाइतेहरुको विराटमै उपचार भइरहेको छ।
सडकमा गुडिरहेको कार आफैँ अनियन्त्रित भएर कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित पायनीयर उद्योग अगाडि बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

























