२४ असोज, इटहरी ।विराट टेलिभिजनको आयोजनामा सुनसरीको इटहरीमा जारी प्रथम विराट मिडिया कप- २०७८ को तेस्रो खेलमा सूर्योदय टेलिभिजन विर्तामोडले हिमशिखर टेलिभिजन दमक झापालाई पराजित गरेको छ।
इटहरी रंगशालामा शनिबार सम्पन्न भएको सनसनीपूर्ण फुटबल खेलको शुरूवातमा हिमशिखरको तर्फबाट खेलको तेस्रो मिनेटमा मुकेश नेपालले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर दमक खेल लयमा फर्किन नसक्दा सूर्योदय विर्तामोडले लगातार आधा दर्जन गोल गर्दै सहज जित निकालेको थियो । विर्तामोडका खेलाडीहरुले खेलको ११,१७,३०,३६,३९ र ४७ औं मिनेटमा गोल गरेका थिए। विर्तामोडका तर्फबाट आशिष उप्रेतीले ह्याट्रीक,बाबुराम धिमालले २ र जीवन ढुङ्गेलले १ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच आशिष उप्रेती बने। उनले नगद एक हजार र ट्रफी प्राप्त गरे।
त्यसैगरी शनिबारकै अर्को खेलमा आयोजक विराट टेलिभिजन इटहरीले ग्रामीण पत्रकार समूह,बरागक्षेत्रलाई ट्राइब्रेकरमा पराजित गरेको थियो।
आज आइतबारको खेल इटहरीको सप्तकोशी एफएम र दीप खबरबीच दिउँसो ४ बजे इटहरी रंगशालामा हुदैछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले १५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।फाइनल खेल असोज २६ गते सम्पन्न हुनेछ।

























