५ मंसिर, झापा : बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु भएको छ ।
बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा शुक्रवारदेखि कुकुर वन्ध्याकरण शिविर सुरु भएको हो । नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित गरीएको शिविरको नगरप्रमुख धुर्वकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा व्यानर तानेर उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले सामुदायिक कुकुरको संख्या नबढोस् भनेर नगरले विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको बताउनु भयो । उहाँले अभियानकै रुपमा यस प्रकारको कार्यक्रमलाई अगाडि बढाइएको बताउनु भयो । सामुदायिक कुुकुरलाई सबैले माया गर्नु पर्ने धारणा राख्दै नगरप्रमुख शिवाकोटीले यस पटक २ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पनि जानकारी दिनु भयो ।
यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले कुकुर वन्ध्याकारणले कुकुरको विकृति कम हुने बताउनु भयो । विगतका वर्षहरुमा नगरमा कुकुरसंग सम्बन्धित मुद्वाहरु समेत आउने गरेको भन्दै अहिले यस प्रकारका समस्या हल हुँदै गएको बताउनु भयो । उहाँले जनावरको अधिकार सुरक्षित गर्दै संख्या न्युनिकरणको लागि गरीएको बन्ध्याकरण कार्यक्रम प्रभावकारी देखिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले बिर्तामोडमा पहिलाको तुलनामा अहिले कुकुरको अवस्थामा धेरै फरक आएको बताउनु भयो । पहिले विभिन्न रोगले ग्रसित कुकुरहरुको संख्या धेरै हुनेभएपनि बन्ध्याकरणकाकारण यो समस्या क्रमश कम हुँदै गएको बताउनु भयो । बिर्तामोड नगरपालिकाले यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिएको भन्दै प्रशंसा समेत गर्नु भयो । उहाँले कुकुरको संख्या नियन्त्रणका लागि बन्ध्याकरण बाहेक कुनै पनि विकल्प नरहेको पनि बताउनु भयो । शिविरमा ल्याइएका सबै कुकुरहरुलाई बन्ध्याकरणसंगै रेविजको खोप लगाएर समुदायमा छोड्ने उहाँले जानकारी दिनु भयो । शिविर उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, वडा नम्बर ७ की कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको प्राविधिक सहयोगमा सुरु गरीएको यस शिविरमा नगरका सबै वडामा पुगेर सामुदायिक कुकुरहरु समातेर ल्याउने र बन्ध्याकरण गर्ने कार्यलाई अघि बढाइएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णु प्रसाद भट्टराईले जानकारी दिनु भयो ।
पशुपंक्षी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७८/०७९को स्किृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको भन्दै शाखाकी प्रमुख सावित्राकुमारी दाहालले सामुदायिक कुकुर समात्न नगरका सबै वडामा आउने प्राविधिक टिमलाई आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो । शिविर मंसिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

























