२२ कात्तिक झापा : नेपालीहरुको पहिलो ठूलो र मुख्यः चाड वडादशैं सकिएको छ । दोस्रो चाड उज्यालोहरुको पर्व तिहार वा शुभ दिपावली नजिकिँएको छ । तर, झापाका किसानहरुलाई भने यतिखेर वर्षे धान बाली काटेर थन्क्याउने चटारो बढेको छ । गत वर्षकोभन्दा यस वर्ष धान तिहारअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका थिए । दशैं सकिए लगत्तै आफूहरुलाई धान काट्ने झार्ने र थन्क्याउने चटारो बढेको झापाली कृषकले बताएका छन् ।
धान काट्ने र चुट्ने काम सकिएलगत्तै किसानलाई धान सुकाउने चटारो पर्ने, धानलाई राम्रोसँग नसुकाए पछि पुत्ला लाग्ने हुँदा धान सुकाएर भण्डारण गर्नुपर्ने झापाको कन्काई नगरपालिका—९ घैलाडुब्बाका कृषक सीताराम बजगाईँको भनाई छ ।
दशैं पनि सकिएको दिपावली आउन लागे पनि मौसम किसानकालागि धान भित्रियाउन निक्कै अनूकुल देखिएका कारण किसानलाई धान काटेर थन्क्याउन भ्याई नभ्याई भएको झापा मेचीनगर—७ भान्साखोलाका किसान इन्दिलाल चौधरीको भनाई छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएको चौधरी बताउनुहुन्छ ।
तिहारअघि नै धान भित्रियाउने तयारीमा चौधरी जुट्नु भएको छ । एकातिर कृषकहरु धान थन्क्याउने बेलामा पारी पर्छ कि भन्ने चिन्ता छन् भने अर्कातिर चाडपर्व तिहार नजिकिँएपनि यसपाली धान काट्ने बाँध्ने र उठाउने बेलामा मौसम अनूकुल भएकाले आफुहरुलाई सजिलो भएको बुद्घशान्ति गाउँपालिकाका कृषक प्रेम गौतमको भनाई छ । बुद्घशान्ति गाउँपालिकालाई जिल्लाको अन्नभण्डारका रुपमा हेरिन्छ ।
पहिलाको जस्तो कृषि कर्ममा कृषि मजदुरको आवश्यक नपर्ने र धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि किसानलाई निक्कै सजिलो भएको छ । ‘खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडा आवश्यक छैन् यसको प्रयोग घटेको छ ’ झापा मेचीनगर—७ सतिघट्टाका कृषक कृष्णबहादुर खवास भन्नुहुन्छ—‘ पछिल्लो समय जोत्नेदेखि र धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ ।’ यसले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने उहाँको अनुभव छ । अहिले मेशीनबाट धान झार्दा प्रतिघण्टा २ हजार २ सय किसानले बुझाउनुपर्छ । कृषि मजदुरलगाए दैनिक ६ सय रुपैयाँ हाजिरा दिनुपर्ने किसानको भनाई छ ।
समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा कसिनले अझै पनि समस्या व्योहोर्नु परिरहेको उहाँको भनाईछ । अधिकाँश किसानको यो साझा समस्या भएको उहाँले गुनासो गर्नुभयो । बेला बेलामा धानबालीमा लाग्ने रोग पनि किसानका लागि समस्या बन्ने गरेको छ । यसका लागि समयमै कृषि विज्ञ वा प्राविधिक नपाईने भनाई छ । मरुवा, खैरो थोप्ले, पातमा लाग्ने डढुवा, कालो पोकेलगायका रोग मुख्यः गरी धानबाली देखिने गरेको छ । पानी धेरै नपर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले धान उत्पादनमा कमी आउने कृषक खवासको भनाई छ । ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन्’ खवासले भन्नुभयो —‘त्यस कारणले पनि बर्सेनि धानको उत्पादन घटने गरेको छ ।’ समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।
कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । तर, धानको उचित मुल्य नपाएको गुनासो किसानको छ । अहिले बजारमा न्यूनतम धान प्रतिमन १ हजार रुपैयाँले किनबेच भईरहेको कृषक कुलबाहादुर बुढाथोकीको भनाई छ । यो दरले किसानको लगानी समेत नउठ्ने उहाँले दुखेसो व्यक्त गर्नुभयो ।
झापा जिल्लामा बर्खे र चैत धान दुई सिजनमा कृषकले लगाउने गरेका छन् । झापा जिल्लामा ९८ हजार ७ सय हेक्टर खेतीयोग्य जमिन भए पनि गत वर्षलाई आधार मान्दा ८५ हजार ७ सय ५० हेक्टर जग्गामा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कार्यालय प्रमुख सागर विष्टले जानाकरी दिनुभयो । अधिकांश क्षेत्रफलको जग्गामा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको प्रमुख विष्टले जानकारी दिनुभयो जिल्लामा गतवर्ष वाषिर्क ४ लाख १५ हजार ६ सय टन धान उत्पादन भएपनि यो वर्ष हुन्छ ७ देखि १० प्रतिशतसम्म उत्पादन बृद्घि हुने अनुमान गरिएको उहाँको भनाई छ ।
मलखाद, उन्नत बीउ, प्रविधि र सिँचाइको अभावले आवश्यकता अनुसारको उत्पादन गर्न नसक्दा पनि धानमा परनिर्भर हुनु परेको सरकारी अधिकारीहरुको भनाई छ । जिल्लामा औसत धान उत्पादकत्व प्रति हेक्टर ५ दशमलव ०१ टन उत्पादन हुने उहाँको भनाई छ । यस वर्ष पर्याप्त वर्षा भएकोले जिल्लामा वर्षे धान बालीको उत्पादन विगतको भन्दा बढ्ने अनुमान कृषि प्राविधिकको छ । जिल्लाको १५ वटै पालिकाका विभिन्न वडामा धान खेती हुने भएपनि कचनकवल, गौरीगञ्ज गौरादह, कन्काईमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ ।

























