लैङ्गिक हिंसाविरुद्घको १६ दिने अभियान आजदखि शुरु हुदैंछ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान सञ्चालन हुदैं आएको छ । अभियानमा हरेक वर्ष अलग अलग नारा तय गरिन्छ । यस वर्ष अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ रहेको छ ।
सार्वजनिक वा नीजि जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य, वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा हो । महिलाहरूलाई उनीहरूको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु , यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक, सांस्कृतिक, शारिरीक, आर्थिक, यौनजन्य, राजनीतिक, मानसिकलगायतका विविध विभेद नै समग्रमा लैङ्गिक हिंसा ठहर्ने रहेछ भनेर बुझदा् पनि हुन्छ । सामाजिकीकरण, न्याय व्यवस्था र सामाजिक संरचना पनि महिला हिंसाको प्रमुख कारण हो भन्न सकिन्छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तिन दिदीबहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसंग यो अभियान जोडिएको जानकारहरु बताउँछन् । सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गदैं डिसेम्बर १७ मा पारित भएको थियो । नेपालमा पनि १६ दिने अभियान मनाउन थालिएपछि विविध कार्यक्रम गरीन्छ । कतै अन्तरक्रिया त कतै छलफल अनि कतै जनचेतनामुलक ¥याली त कतै गोष्ठी र बैठक अनि प्रभात फेरी गरेर । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।
यस्ता कार्यक्रमहरु गरिरहदाँ र २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मलाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाइरहदाँ नेपाली महिला कहिले बोक्सीको आरोप त कहिले दाइजो नल्याएको, बहुविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाबाट पीडित बन्ने क्रम भने रोकिएको छैन् । लैङ्गिकताको दृष्टिले हेर्ने हो भने बोक्सी प्रायः महिलालाई नै लगाइन्छ, बोक्सी भनेर आरोप । यो शक्ति सम्बन्धकै कारणले हो, शक्तिवानले जस्को शक्ति छ उस्ले शक्तिविहिन मान्छेमा लगाउने लाञ्छना हो बोक्सी ।
नेपालमा महिला हिंसा सम्बन्धमा थुप्रै नियम कानुनहरू बनेका छन् । कुनै कार्यान्वयन भएर लागू भएका छन् भने कुनै कार्यान्वयन हुनै बँँकी छ । महिला हिंसा रोक्नलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बहसहरू चलाइएका छन् । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ जारी भएपनि प्रभावकारीरुपमा कार्यन्वयन हुन सकेको छैन । अन्य देशको तुलनामा नेपालका महिला कुनै न कुनै विषयामा घरेलु हिंसामा बढी पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले जारी गरेको प्रतिबेदनमा नेपालमा मात्र ८० प्रतिशत महिला घरेलु हिंसाका शिकार भएका छन् ।
भारत , श्रीलंका जापानगरी विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरुद्घको छुट्टै विशेष कानुन बनेको छ । तर नेपालमा कानुन बने पनि मजबुतरुपमा कार्यन्वयन नहुँदा यस्ता घटना बढिरहन्छन् । कानुन कार्यन्वयनको पक्ष कमजोर र फितलो हुदा यो समस्या ज्यूँका त्यू छ । यस कारण कानुन बनाएर मात्र हुदैन यसको कार्यन्वयनपक्ष बलियो हुनुपर्छ अनि कानुनसंगै जनचेतना पनि फैलाउन आवश्यक छ । नेपालको संविधानले व्यवस्था गरे अनुसारको समावेशीकरणले नेपाली महिलालाई राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहको जिम्मेवारीमा त पु¥यायो तर उनीहरुमाथि हुने हिंसा भने कम भएन, कहाँ निर हाम्रो मेकानिजम कमजोर भयो यो खोज्न जरुरी छ ।
घरेलु हिंसा समबन्धि ऐनमा घरेलु हिंसा भएमा स्थानीय तह, महिला आयोग, प्रहरी कार्यालय र सोझै अदालत गरी चार ठाउँमा उजुरी गर्न पाउने व्यवस्था छ तर, अधिकाँश महिलाहरुको पहुँच त्यहाँसम्म पुगेको छैन् । देशमा महिला माथि हुने विभिन्न खाले हिंसाका घटना दिन प्रतिदिन जटिल बन्दै गईरहेको छ । यस्ता अभियान वर्षेपिच्छे मनाइरहेपनि प्रतिफल भने अपेक्षा अनुसार प्राप्त हुन सकेको छैन् । लैंङ्गिक तथा सामाजिक असमानता र गरिवीले महिला बेचबिखन हुने गरेका छन् । सामाजिक लैंङ्गिक असमानता, महिलालाई अवसरमा कमि , पारिवारीक दबाब, सन्तानको शिक्षा, सामाजिक असमानता, उन्नत जीवनको खोजी, अधिकारमुखी कार्यक्रमको प्रभाव जस्ता कारण दलालमार्फत अबैधरुपमा भारत तथा खाडी मुलुकमा पुग्ने गरेका घटनापनि यहाँ ताजै छ । यसमा स्वय्म महिलाहरु पनि सचेत हुन आवश्यक छ ।
समग्रमा हिंसाका घटना पुरुषमाथि बढी हुन्छन । कुटपिट र हत्या जस्ता जघन्य हिंसाका शिकार भएका व्यक्तिहरुको विश्वभरिको तथ्याङ्क हेर्ने हो भने मारीनेमा पुरुष नै धेरै छन् । तर लिगंकै आधारमा संरचनागत हिंसा वा विभेदका शिकार बढी महिला हुन्छन् । अधिकाँश घरेलु हिंसा मादक पदार्थकै कारण हुने गरेको छ । यस बाहेक बैदेशिक रोजगार, अपरिपक्क प्रेम सम्बन्ध, गरीब, बहुविवाह, व्यक्तिगत चरित्र, मादक पदार्थ सेवन गरी हुने झै झगडा, धाकधम्की यातना नै हिंसाका कारण बन्ने गरेको प्रतिवेदन पनि सार्वजनिक भएको छ ।
हुन त यो मुलुकमा महिला पनि पुरुषमाथि हिंसा गर्नमा कम छैनन् । वषौंवर्षसम्म श्रीमान विदेशमा घामपानी जाडो गर्मी नभनि आफ्ना परिवार सम्झेर कमाउने यता श्रीमती श्रीमानले त्यसरी कमाएको सम्पति लिएर अर्के संग हिड्ने घटना पनि हाम्रो समाजमा बाक्लै छन् । उता श्रीमान परदेशमा भएका बखत स साना बालबच्चा हुर्काएर जेनतेन गुजरा चलाउदैं आएपनि नेपाली समाजमा भारतबाट फर्केका पतिले उपहारका रुपमा ल्याइदिएको एचआइभी एड्स संक्रमित स्वीकार्ने हजारौं श्रीमती पनि नभएका पनि होइनन् ।
श्रीमानले विदेशमा कमाएको सम्पति लिएर टाप कस्ने महिला अनि श्रीमतीलाई उपहारका रुपमा एचआइभी एड्स संक्रमित लिएर आउने श्रीमान यी दुवै सचेत नहुँने र यिनीहरुमा चेतना नआए कानुन र दिवसको कुनै अर्थ रहदैन् । भनिन्छ बालबालिका तथा महिलाको पहिलो सुरक्षित स्थान घर र बिद्यालय हो । तर, पछिल्लो पटक उनीहरुका लागि घर र बिद्यायालयनै असुक्षित स्थान बन्र्दै आएका छन् । यति खेर सपाङ् महिलामात्र होईन अपाङ् र सुस्त अनि शारीरिक र मानसिक रुपमा अशक्त महिलामाथि समेत यौनहिंसाका घटना दैनिक बढिरहेको छ । सामुहिक प्रयासबाट महिला तथा बालबालिका हिँसा कम हुने धारणा महिला अधिकारकाक्षेत्रमा काम गर्दे आएका अगुवाहरुको छ । यसका लागि एकल प्रयास नभई संयुक्तरुपमा कार्यक्रम लैजानुपर्छ । समाजलाई चलायमान बनाउर्दै लैङ्गिकहिँसामा परेका महिलाहरुलाई उचित राहतको व्यबस्था तथा राहत व्यबस्थापन गरे यस्ता घटनमा कम हुर्दै जानेछन् ।
आज एउटी छोरी आफ्नै बाबुबाट बलात्कार भएकी छ, दाजुबाट बहिनी अनि आफैले पढाएकी छात्रालाई शिक्षकले बलात्कार गरेका घटनाहरु प्रश्स्तै छन् । यस कारण महिला या पुरुषमाथि हुने जस्ता सुकै हिंसाका घटना हुन त्यसको अन्त्य गर्न प्रत्येक घर घरबाट शुरु गर्नुपर्छ ।
अझै पनि हाम्रो नेपाली समाजमा छोरो मान्छे कसैलाई पनि नभनी १/२ महिना बाहिरै हिड्यो र पछि घर फर्केर आए उ प्रति कसैले औला ठड्याउने कोशिस गदैंन तर , छोरी मान्छे त्यसरी नै कसैलाई पनि नभनी सुट्टुकै घरबाट निस्केर आफन्तकहाँ बसेर १/२ दिन पछि आईभने उ प्रति शंका उपशंका हुन्छ अनेक प्रकारका लाञ्छना शुरु हुन्छन । बैदेशिक रोजगारीमा जाने कैयौं नेपाली महिला दिनहँु साउदी अरब र कुवेतमा रोजगारदाता र उनका आफ्न्त पुरुषाबाट लुटिएका घटना छन् । कतिपय काखमा बच्चा लिएर स्वदेश फर्किन्छनन् अब भनौ त्यस्ता महिला उनीहरुका घरपरिवार समाजबाट कत्तिको स्वीकारीएका छन् ।
यसले पनि समाजमा महिला र पुरुषबीचको विभेदलाई प्रष्ट पार्छ । सबै भन्दा समाजले महिला तथा पुरुषलाई हेर्ने यो सोच, हेराई र दृष्टिकोणमा अभियानले परिवर्तन ल्याउन सक्नुपर्छ । हाम्रो जस्तो पितृसतात्मक यो मुलुकमा महिलालाई हेर्ने दृष्णिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण रहेको छ । छोरी भएकै आधारमा गर्भपतन गर्ने जस्ता क्रिया कलापले गर्दा जन्मनु अघि नै शुरु हुन्छ र उसको हुर्कने क्रम , पहिरनको छनोट, पढाई , विवाह, करियर छनौट,कार्यस्थलमा हुने भेदभाव, , सडकमा हुने बलात्कार, परिवारको बंश धानिदिने दबाबमा शरीर जोखिममा पारेर गर्भकी छोरी पतन गर्नुसम्मका क्रियाकलापले गर्दा मृत्यु पर्यन्त जारी रहन्छ । पितृसतात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण हुने दाबी महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले गदैं आईरहेका छन् ।





















