मेचीनगर, जेठ १४ : झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाको रमाइलो गाउँमा रहेको बबिता बगुँर फार्ममा अज्ञात रोगका कारण ८० वटा सुँगुर मरेका छन्। फार्म सञ्चालक राजु विश्वकर्माका अनुसार वैशाख २७ गतेबाट सुँगुरहरू एकपछि अर्को गर्दै मर्न थालेका थिए। तीमध्ये १५ दिनदेखि दुई महिनासम्मका बच्चा, दुई भाले, माउ र मासुका लागि पालिएका सुँगुरहरू रहेका छन्। हाल फार्ममा दुई बिरामी बच्चा सुँगुर मात्र बाँकी छन्, जुन बाँच्छन् कि भन्ने पनि अनिश्चित छ।
घटना सार्वजनिक भएपछि मेचीनगर नगरपालिकाको पशु सेवा शाखाले वैशाख ११ गते प्रारम्भिक नमूना संकलन गरी विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। त्यसपछि, काठमाण्डौ र विराटनगरबाट प्राविधिक टोली आएर थप नमूना संकलन गरेका छन्। परीक्षणको नतिजा आउन केही दिन लाग्ने जनाइएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा अफ्रिकन स्वाइन फिभर (ASF) का घटनाहरू बढ्दो क्रममा छन्। २०७९ सालमा काठमाडौं उपत्यका, चितवन र झापा लगायतका जिल्लाहरूमा ASF को पुष्टि भइसकेको छ। यो रोग अत्यन्त संक्रामक र घातक मानिन्छ, जसको अहिलेसम्म खोप छैन। संक्रमित सुँगुरहरूमा ज्वरो, खान नखाने, र एकैपटक ठूलो संख्यामा मृत्यु हुने लक्षण देखिन्छ।
फार्म सञ्चालकहरूले भने आफुहरू चरम आर्थिक संकटमा परेको बताएका छन्। ‘हाम्रो घरखर्च, छोराछोरीको पढाइ सबै यही फार्मबाट चल्थ्यो,’ सञ्चालक विश्वकर्माले भने, ‘अब त विद्यालयको शुल्क पनि तिर्न सक्ने अवस्था छैन।’ झण्डै १३ लाख रुपैयाँ लगानी डुबेको फार्म सञ्चालक बबिता रामदामले बताइन्। उनीहरूले नगरपालिकासँग राहतको माग गरेका छन्।
यसअघि पनि मेचीनगरमा भक्तबहादुर राईको स्माट एग्रो फार्ममा एक सातामा ५८ वटा सुँगुर मरेका थिए। यस्तो अवस्थामा सरकारी निकायले सतर्कता अपनाउँदै जैविक सुरक्षाको कडाइ, रोगको समयमै पहिचान र किसानलाई राहतको व्यवस्था गर्न आवश्यक देखिन्छ।

















