Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारहात्तीपाइले विरुद्घको १० औँ पटकको औषधि खुवाउने अभियान शुरु

हात्तीपाइले विरुद्घको १० औँ पटकको औषधि खुवाउने अभियान शुरु

सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै औषधि नखाइदिँदा रोग निवारणमा चुनौती

काँकरभिट्टा, २० चैत | सरकारले शुक्रबारदेखि हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालान शुरु गरेको छ । यो १० पटकको अभियान हो । सरकारले २० चैतदेखि देशभरका १२ तथा प्रदेश नम्बर १ का झापा मोरङ र धनकुटा गरी तीनवटा जिल्लामा यो अभियान शुरु गरेको छ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ ।

नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । सन् २००७ मा बढाएर २१ जिल्लामा अभियान सञ्चालन गरियो । सन् २०१३ मा ५६ जिल्लामा औषधि खुवाइएको थियो । सन् २०२० मा भने १३ जिल्लामा मात्रै यो अभियान सीमित रहेको सरकारी स्वास्थ्यकर्मीहरुको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार जिल्लामा २०६७ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । यो दशैंचरण सम्म आईपुग्दा वा अभियान शुरु भएको एकदशक पुग्दासम्म कार्यालयले लक्ष्य कहिलै पुरा गर्न सकेको छैन् । सरकारले हरेक पटक करोडौं रुपैयाँ खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन गरेपनि लक्षित वर्गले औषधि सेवन नगरिदिँदा झापामा यो अभियान सफल हुन नसकेको कार्यालय प्रमुख इश्वरीप्रसाद पौडेलको भनाई छ ।

सरकारले करोडौं रुपैयाँ खर्च गरेर हरेक वर्ष यस्तो अभियान सम्पन्न गरेपनि सवैले भने यो औषधि खाने गरेका छैनन् । विशेषगरी, ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा रहेको हात्तीपाइले विरुद्धको औषधिलाई लिएर परेको भ्रमका कारण पनि ती क्षेत्रमा औषधि सेवन गर्नेको संख्या न्यून रहेको छ । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको काँकरभिट्टा स्वास्थ्य केन्द्रका अहेव लेखनाथ खतिवडाको भनाई छ । हात्तीपाइले रोगको संक्रमणबाट प्रभावित जिल्ला झापामा औषधि नखाने प्रवृत्ति छ ।
२०६७ सालमा तथा अभियान शुरु भएको पहिलो वर्ष झापाका कुल ५५ दशमलव ५९ प्रतिशतले मात्र औषधि खाए । दोस्रो वर्ष यो संख्या बढेर ६२ दशमलव ५ प्रतिशतभन्दा माथि उक्लिन सकेन् । तेस्रो वर्षमा झापामा सतप्रतिशत लक्षित वर्गलाई औषधि सेवन नगराउने लक्ष्य लिएको भएपनि दोस्रो वर्षको प्रतिशतसम्म घटेर ५७ दशमलव ८५ मा झर्यो । त्यसपछिका वर्षहरूमा क्रमश ६० दशमलव ८२ प्रतिशत, ६५ दशमलव ५८ प्रशित, ६८ दशमलव ०९ प्रतिशत, ६५ दशमलव ३१ प्रतिशत,७१ दशमलव ४२ प्रतिशत ६८ दशमलव ५१ प्रतिशतको मात्रै सहभागिता रहेको स्वास्थ्य कार्यालयको तथ्यांङ्क छ ।
शुक्रबारबाट शुरु १० औं पटकको हात्तीपाइले रोग निवारणका लागि जिल्लामा ८ लाख १६ हजार ५ सय जनालाई यो औषधि खुवाउने वा अभियानमा सामेल गराउने लक्ष्य साथ जिल्ला स्वास्थ्य कार्यालय झापाले अभियान शुरु गरेको छ । त्यसका लागि स्वास्थ्यकर्मी र स्वस्थ्य स्वय्मसेवक ६/६ सय गरी १ हजार २ सय परिचालन गरिएको छ । यसपटक पनि लक्ष्य पुरा हुने कुरामा कार्यालय ढुक्क छैन् । कार्यालयले यो पछक ९० प्रतिशत लक्षित वर्गले हात्तीपाइले रोग विरुद्घको औषधि सेवन गर्ने अनुमान गरेको छ ।

आम औषधि सेवनको माध्यमबाट संक्रमणको दरलाई घटाउदैं यस रोगलाई जनस्वास्थ्य समस्याको रुपबाट निवारण गर्ने संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधि सेवनका लागि योग्य सवै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रमको उद्घेश्य रहेपनि यो पटक झापामा ९० प्रतिशतलाई औषधि खुवाउन सकिने कार्यालयले अनुमान गरेको फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिनुभयो ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमको लक्ष्य बमोजिम सन् २०२६ सम्म हात्तीपाईले रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिन रोगको प्रिभालेन्स एक प्रतिशत भन्दा तल ल्याउने कार्यक्रमको अपेक्षा गरिएको उहाँको भनाई छ । पछिल्लो एक दशकयता निरन्तर अभियान चले पनि जिल्लामा अहिले पनि ५ सय ५३ जना हात्तीपाईलेका बिरामी छन् । यो औषधि सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउँछन् भन्ने भ्रम फैलँदा मानिसले औषधि सेवन नगर्ने गरेको कार्यालय प्रमुख पौडेलको भनाई छ ।

हरेक समुदाय, नागरिक समाज, विभिन्न सरकारी गैरसरकारी, दल, अधिकारकर्मी, सञ्चारकर्मीसहित अभियानमा खटिने स्वास्थ्यकर्मीले त्यस्ता भ्रम हटाउन पहल गर्न आवश्यक रहेको उहाँको भनाई छ । सर्वसाधारणले समेत औषधि खान खासै चासो नदेखाउने पौडेलको भनाई छ । यस्तो संख्या ग्रामीणभन्दा शहरीक्षेत्रमा बढी रहेको एउटा तथ्याङ्कले देखाएको छ ।
गतवर्ष झापाको तथ्याङ्कले यसलाई पुष्टि गर्ने उहाँले प्रष्ट पार्नुभयो । नगर र शहरीक्षेत्रमै औषधि खान आनाकानी गर्ने र पढेलेखेकाले शिक्षित समुदायले नै औषधि नखाइदिँदा ग्रामीणक्षेत्रमा बुझाउन समस्या भएको प्रमुख पौडैलको भनाई छ । कार्यालय प्रमुख पौडेलका अनुसार गर्भवती, सुत्केरी र सिकिस्त बिरामीबाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाइनेछ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आए पनि स्वतस्फूत रुपमा सेवनका लागि खासै मानिस नआउने उहाँको भनाई छ ।

ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु , महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इस्नोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनु हात्तीपाइले रोगका लक्षण रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक रामनारायण यादवको भनाई छ । हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ । यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्ने प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरीटेण्डन डाक्टर पिताम्बर ठाकुरको भनाई छ । झापामा बर्सेनि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलाइए पनि यसको जोखिममा रहनेको संख्या खासै अपेक्षा गरे अनुसार नघटेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

जिल्लामा सवैभन्दा बढी हाइड्रोसिल भएका ३ सय ७२ जना रोगी छन् । हाइड्रोसिल हात्तीपाइलेका कारण हुने एक शारीरिक समस्या हो । यसेगरी, खुट्टा सुनिएका ७२ हात र स्तन सुनिएका १ सय १० जना रोगी जिल्लामा रहेको गतवर्ष गरिएको सर्भेक्षणले देखाएको फोकल पर्सन चौलागाईँले बताउनुभयो । नेपालको कुल अंपाङ्गतामध्ये करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेका छन् । त्यसमा सबैभन्दा धेरै हाइड्रोसिलका विरामी रहेपछि नेपाल सरकारले हाइड्रोसिलका विरामीको निःशुल्क शल्यक्रिया सुरु गर्दै आएको छ । हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । यसका लागि सरकारले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैया समेत उपलब्ध गराउँदै आएको छ ।

सन् २००१ देखि २०१७ सम्म आइपुग्दा झापामा हात्तीपाइले रोगीको संख्या २ दशमलव ४ प्रतिशतमा झरेको सरकारी तथ्याङ्क छ । सन् २००१ को सर्वेक्षण अनुसार झापा जिल्लामा हात्तीपाइले रोगीको संख्या २४ प्रतिशत रहेको थियो भने २०१५ मा सर्वेक्षण गर्दा यो संख्या घटेर ४ दशमलव १६ प्रतिशतमा झर्यो । सन् २०१७ को सर्वेक्षणले झापामा हात्तीपाइले रोगीको संख्या २ दशमलव ४ प्रतिशत रहेको देखाएको छ । नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेकोमा त्यसमध्ये करिब दुईतिहाई जनसंख्या अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको सरकारी अधिकारीहरुको भनाई छ । नेपालमा हात्तीपाइले रोगीहरुको विद्यमान दर १३ प्रतिशतबाट झरेर एक दशमलव ४७ प्रतिशतमा कायम भएको र हात्तीपाइले रोग निवारण गर्नका लागि नेपालबाट हात्तीपाइले रोगको दर एक प्रतिशत भन्दा कम हुन आवश्यक रहेको विज्ञहरुको भनाई छ ।

चौलागाईँले हाल ५२ देशका ८५ दशमलव ६ करोड मानिसहरु विश्वमा हात्तीपाईले रोगको जोखिममा रहेका, सन् २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका, हालसम्म ४९ दशमलव ९ करोड मानिसहरुले पूर्ण उपचार पाएको ६७ अर्व मात्रा औषधि खुवाइसकिएको, दक्षिण पूर्वी एशियाका ११ मध्ये ९ देशहरुमा यो रोगको जोखिम पाइएको, संसारभरि जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिसहरु यीनै ९ देशका रहेका बताउनुभयो ।
उहाँले नेपालका ६३ जिल्ला जोखिममा रहेको जानकारी गराउनुभयो । सन् २००१ मा यो रोगको प्रिभालेन्स १३ प्रतिशत रहेको, कुल जनसंख्याको २ दशमलव ५ करोड यसको जोखिममा रहेको, रुगण्ता प्रतिवेदना गरिएका बिरामीहरु ३० हजार भन्दा बढी धेरै हाईड्रशिल भएका, र नेपालमा सन् २०१९ मा यो रोगको प्रिभालेन्स दर १ दशमलव ४७ प्रतिशत रहेको बताउनुभयो ।

सन् २०२८ सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने, सन् २०१४ सम्म सवै ईन्डोमिक जिल्लाहरुमा आम औषधि सेवन अभियान शुरु गरिसक्ने, र सन् २०२६ सम्म रोगको प्रिभालेन्स १ प्रतिशत भन्दा कममा ल्याउने नेपालमा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमको लक्ष्य रहेको वर्षको एक पटकका दरले ६ वर्षसम्म आम औषधि सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रिया अवरुद्घ गराउने तथा रोगहरुको ब्यवस्था तथा अंगभंग हुन बाट रोक्ने सरकारी रणनीति रहेको बताइएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु