एकसय रुपैयाँ भन्दा बढिको सामानको भन्सार महशुलले बढायो यात्रु शाखाको राजस्व

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती

८ बैशाख, मेचीनगर : भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य गर्न थालिएपछि देशका विभिन्न सीमावर्ती नाकामा तनाव बढेको छ । भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा [३] को अधिकार प्रयोग गरी सरकारले गत जेठ १५ गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको भए पनि कार्यान्वयनमा भने, खासै कडाइ गरिएको थिएन । पछिल्लो समय नाकामा रहेका सशस्त्र प्रहरी , जनपद प्रहरी तथा भन्सार कर्मचारीले कडाइ गर्न थालेपछि देशका विभिन्न सीमावर्ती क्षेत्रमा तनाव बढेको समाचारहरु बाहिर आएका छन् ।

सीमामा सक्रिय सुरक्षाकर्मीहरुले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेर मात्र आयात गर्न माइकिङ गरिरहेका छन् । तर, नेपालको सूदुर पूर्वमा रहेको वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा नाकामा भने यसले कुनै समस्या ननिम्तयाएको भन्सार अधिकारीहरुको भनाई छ । मेची भन्सार कार्यालय काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । पश्चिम बंगाल राज्यको पानीट्याँकी, नक्शलवाडी, शिलीगुढी, अधिकारी, बतासी, खोरीबारीलगायतका बजार अधिकाँश नेपाली ग्राहकका भरमा चलेका छन् ।

नेपाली बजारको तुलनामा भारतीय बजारमा लत्ता कपडादेखि खाद्यन्न्सहित अनेक बस्तु सस्तोमा पाइनभन्ने बुझाई अधिकाँश नेपाली ग्राहकको आर्कषण भारतीय बजारमा बढेको हो । सस्तो सामानको लोभमा सीमावर्ती क्षेत्रका अधिकांश नागरिक भारतीय बजारमा निर्भर छन् । चाडपर्वका बखत त नेपाली बजार सुनसान र सीमावर्ती भारतीय बजारहरु गुल्जार हुने गरेका छन् ।

तर, पछिल्लो पटक नाकामा कडाई गरेपछि भारततर्फ जाने नेपाली ग्राहकको संख्यामा केही कम भएको बताइएको छ । ‘नाकामा कडाइ गरिएपछि सामान किनमेल गर्न सीमापारि जाने क्रम घट्न थालेको छ ।’ एकजना भन्सार अधिकारीले भने । नेपाली ग्राहकको संख्या कम हुदैं गएपछि सीमावर्ती भारतीय बजार सुनसान हुँदै गएका पश्चिम बंगाल पानीट्याँकीका एक जना पसलले बताए ।

‘२०८२ साल जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनाको कार्यान्वयन देशैभरि भइरहेको सन्दर्भमा यस कार्यालयले पनि भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य तिर्नुपर्छ भन्ने कुरालाई पूर्णरुपमा कार्यान्वयनका लागि काम गरीरहेको छ’ मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले भने, ‘यसमा गृह प्रशासन र अर्थ प्रशासन दुवैबाट यसको कार्यान्वयन अघि बढिरहेको छ । भारतबाट नेपाल आएका यात्रुहरुले ल्याउने सामानमा नभई व्यापार व्यवसायका ल्याउने दैनिक ओहोरदोहोर गर्ने, दिनमा पटक पटक सामान ओसार्ने र अनौपचारिक अर्थतन्त्रलाई बढ्वा दिने गरी जो कसैले यस्ता सामान ल्याए सीमा सुरक्षार्थ खटिएका प्रहरीले सामान जफत गर्न उनको भनाई छ । यसकारण पनि यो नाकामा खासै यस विषयले समस्या सिर्जना नभएको उनले बताए ।

मेची भन्सार कार्यालयको क्षेत्र भएर मुख्यःगरी दुई किसिमको कारोवार हुने प्रमुख भन्सार अधिकृत न्यौपाले बताए । उनका अनुसार एउटा आयात निर्यात र दोस्रो भारतीय सवारी साधनहरुको आवत जावत हुन्छ । भारतीय सवारी साधनहरुमा विशेषगरी पर्यटक र यात्रु आउने गरेका छन् । एक दिनको सुविधा लिएर धुलावारीसम्म गएर फर्किने एउटा प्रावधान रहेको उनले बताए । भन्सार महशुल बुझाएर नेपालभरि घुम्न पाउने र अस्थायी पैठारीबाट भारतीय सवारी साधनहरु नेपाल भित्रिने गरेको न्यौपानेको भनाई छ ।

अहिले भन्सार कार्यालय यी दुवै सुविधाको दुरुपयोग नहोस भनेर कडाईका साथ लागि परेको छ । विभिन्न सुरक्षा निकाय, स्थानीय प्रशासनलगायत सरोकारवाला निकाय सवैलाई यसमा समन्वय गर्नका लागि कार्यालयले आग्रह समेत गरेको छ । नेपालभित्र रहने भारतीय सवारी साधनहरुका विषयमा उहाँहरुबाट समन्वय भईरहेको प्रमुख भन्सार अधिकृत न्यौपानेले बताए ।

राजपत्रमा प्रकाशित सूचना पूर्णरुपमा कार्यान्वयन गराउनुको उद्धेश्य राजस्व वृद्धि र कर तिर्ने संस्कृतिको विकास भएको भन्सार अधिकारीहरुको भनाई छ । व्यवसायीदेखि सर्वसाधराणलाई समेत सरल भाषामा नाकामा रहेका सुरक्षाकर्मीहरुले कुरा बुझाउने गरेका छन् ।

सीमा नाकामा खटिएका सशस्त्र प्रहरी जनपद प्रहरी र भन्सार कर्मचारीहरुले चेकजाँचलाई कडाई पारेका छन् । जस्का कारण व्यापारिक प्रायोजनका लागि ल्याइएका सामानको व्यावसायीहरुले भन्सार महशुल बुझाउने गरेका छन् । उनीहरुलाई सहज र सरल ढंगमा छिटोछरितो रुपमा कार्य सम्पादन होस भनेर यात्रु शाखाबाट सेवा प्रवाह गरिएको छ ।

काँकरभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सर्वसाधारणलाई एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने नयाँ नियमबारे जानकारी गराइरहेको छ । सशस्त्र प्रहरीका एकजना अधिकृत आवश्यक सूचना प्रवाहपछि मात्र नयाँ नियम कार्यान्वयन गरिएको बताउँछन् । ‘सशस्त्र प्रहरीले निरन्तर माइकिङ गरिरहेको छ,’उनले भने, ‘सर्वसाधारणलाई दुःख दिने नियत छैन, पहिले सचेत गर्ने, त्यसपछि नियम कार्यान्वयन गर्ने नीति हो ।’

प्रहरीको नियत दुःख दिने नभई सरकारी निर्देशन पालना गराउनु रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका एकजना अधिकृत बताउँछन्। ‘हाम्रो उद्देश्य राजस्व वृद्धि र कर तिर्ने संस्कृतिको विकास गराउनु हो। यसमा सम्झौता गर्ने अवस्था छैन,’ उनले स्पष्ट पारे ।

व्यवसायीहरुमा राजस्व तिर्नुपर्छ, अवैध व्यपारलाई बढ्वा दिनुहुन्न, चोरी बाटो प्रयोग गर्नुहुदैन् भन्ने चेतना हुन थालेपछि यात्रु शाखामा दैनिक लाखौँ रुपैयाँ राजस्व संकलन हुन थालेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को चैत महिनामामात्र यात्रु शाखाबाट एक करोड २९ लाख ५५ हजार नौ सय ६३ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यात्रु शाखाबाट चैत महिनामा दैनिक न्यूनतम तीन लाख ४३ हजार पाँच सय १४ रुपैयाँ र अधिकतम छ लाख १८ हजार सात सय ९५ रुपैयाँसम्म राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.