२५ भदौं , मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नं ६ पूर्वी भानुटोलका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । भानुटोल युवा परिवार मेचीनगर—६ काँकरभिट्टा गठन गरेरै युवाहरु आफ्नो गाउँ आफै बनाऔँ भन्दै उनीहरुले विकासका गतिविधिहरुलाई समेटेर सकरात्मक सामाज र गाउँको निर्माण गर्ने तर्फ लागेका हुन् ।
नयाँ संरचना र स्थानीय सरकार पश्चात गाउँघरमा विकासको लहर सँगै पूर्वी भानुटोलका युवाहरु विभिन्न बाटो घाटोलगायत अन्य विकासको काममा उनीहरु जुटेका हुन् । टोल र गाउँ सरसफाइमा युवाहरु अहिले सक्रियरुपमा लागेका छन् । हरेक साताको शनिबार युवाहरु भेला हुन्छन् र साप्ताहिकरुपमा गाउँ सरसफाइमा गर्छन् ।
युवा परिवारमा कृष्णबहादुर कुवंर, नविन उप्रेती, गोपाल बुढाथोकी, मिलन श्रेष्ठ, आदेश उप्रेती, अंशुमान खवास, भगेन्द्र खवास, प्रेमबहादुर खवास, सुरज श्रेष्ठ, रोहन खवास, आयुष उप्रेती, सुजन प्रधान, राज श्रेष्ठ, आभास आचार्य, सचिन खत्री, टंकप्रसाद खनाल, रोशन खवास, उत्सव पराजुलीलगायतले रहेका छन् ।
बढ्दो विकास सँगै गाउँघरको विकासमा सहजता आउने र विकसित गाउँ वस्ति बन्ने अभियान्ता कृष्णबहादुर कुवंरले बताउनुभयो । उनीहरु अभियानमा गाउँका ज्येष्ठ नागरिक, युवा, बुद्धिजीवी, समाजसेवी, अग्रज, महिला र शिक्षकहरुको समेत सहभागीता रहेको छ । मेचीनगर नगरपालिका, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, वडान्बमर ६ र ७ , सशस्त्र प्रहरी बल नेपाल वीओपी सतिघट्टा, अस्थायी प्रहरी पोस्ट सतिघट्टाले सहयोग गरीरहेका छन् ।
युवाहरुको अभियानमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, वडानम्बर ६ र ७ का वडाध्यक्ष क्रमश ललितबहादुर तामाङ्ग, प्रल्हादमणि उप्रेतीसहित दुबै वडाका जनप्रतिनिधि, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुली, पत्रकार लक्ष्मी उप्रेती, सशस्त्र प्रहरी बल नेपाल वीओपी सतिघट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउत, अस्थायी प्रहरी पोस्ट सतिघट्टाका प्रमुख प्रहरी सहायक निरीक्षक पुष्प पोखरेल, राजनीतिककर्मी सुशील आचार्यलगायतले सहयोग गरीरहेको युवा परिवारले जनाएको छ ।
सरकारको मात्र मुख ताक्नाले विकासमा ढिला सुस्ति र गाउँको विकासमा समेत असर पर्ने युवाहरुको बुझाई छ । मानिसले गर्न सक्ने विकास कार्यमा आफूले पनि सहयोग गरेमा गाउ्ँ विकासमा छिटो सुविधा मिल्ने अर्का अभियन्ता सुर्य श्रेष्ठको भनाई छ । श्रेष्ठले आफ्नो सक्दो काममा युवाहरुको लगानी भएमा गाउँघरलाई छिटै विकासोन्मुख तर्फ लैजान सकिने बताउनुभयो ।
गाउँका युवा नमुना गाउँ वनाउने अभियानमा जुटेका कारण आफूले समेत उनीहरुमा उर्जा थप्न उनीहरुसँगसँगै हिडेको ८२ वर्षीय देवीप्रसाद उप्रेतीको भनाई छ । उच्च शिक्षा हासिल गर्न नपाउँदै युवाहरुले गाउँ छोड्ने गरेको गुनासो आइरहेका वेला यहाँका युवा आफ्नो गाउँ आफै बनाउँ अभियानमा सक्रिय हुनुले सकरात्मक सन्देश जाने उहाँको भनाई छ ।
गाउँमा हुने विभिन्न विकृति विसंगतीलाई हटाई समृद्ध समाज निमार्ण गर्ने सकल्पका साथ अभियानमा जुटेको अभियन्ता विवेक उप्रेतीको भनाई छ । युवा परिवारले संमृद्धिका लागि योजना निर्माण गरी कार्यन्वयन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले समितिले गाउँमा हुने विकास निमार्णका कामदेखि गाउँघर सरसफाइ, जुवातासको अन्त्य, मदिराजन्य पदार्थको निगरानी लगायतका काम युवाहरुले गरिरहेको बताउनुभयो । गाउँमा सडक बत्ती, बृक्षारोपणदेखि प्रत्येक ठाउँमा फोहोर संकलनका लागि डस्विनकोे उचित व्यवस्थापमा पनि युवाहरु जुटेका छन् ।
गाउँमा हुने प्रत्येक योजनामा युवा सहभागीतालाई जोड दिँदै आएको अभियानमा सहभागी दीपेन्द्रराज उप्रेतीको भनाई छ । ‘युवाहरुको योजना अनुसार साताको शनिवार गाउँघर सरसफाई कार्यक्रम हुन्छ’ उप्रेतीले भन्नुभयो — ‘समाजमा सुशासन कायम गर्न युवाको महत्वपुर्ण भुमिका छ ।’
युवाहरु एकजुट भएर समाज रुपमान्तरणमा लाग्नु राम्रो पक्ष भएको काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँनुहुन्छ । गाउँमा वृक्षारोपण, आयोजाना अनुगमन, सरसफाइ चेतना अभिवृद्धि लगायतका विभिन्न विषयमा जनचेतना दिने योजना युवाहरुले अघि सारेको उहाँको भनाई छ । गाउँमा हुने विकास निमार्णमा युवाले अहम भूमिका निर्वाह गर्ने गरेका छन् ।
युवाहरुले हरेक दिनजसो कुनै न कुनै नयाँ योजना बनाउँछन् । सोही अनुरुप युवाहरुले साताको एकदिन शनिबार आफ्नो गाउँ आफै वनाउँ अभियान सुरु गरेका छन् ।



























