काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ।
शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देशन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।
हिजो मात्र नेकपा एमालेमा केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो ।
उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।
शुक्रबार एमालेले माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

























