मेचीनगर, जेठ २५: झापाको मेचीनगर नगरपालिकामा अब करदाताहरूले कर तिर्न जाँदा नगद पैसा बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। आइतबार (आज) मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर (Dynamic QR)’ को विधिवत् उद्घाटन गरेर यो सेवाको सुरुवात गरेका हुन्।
नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले आफ्नो जग्गाको एकीकृत सम्पत्ति कर तिरेर यो नयाँ प्रणालीको शुभारम्भ गरेका थिए। मेचीनगरका १५ वटै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा करदाताले व्यवसायको कर तिर्न आउँदा अब क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न सकिने भएको छ।
नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इन्फोसीस (Softech Infosys) को माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत करदाताले कर तिर्न पाउने भएका छन्। ‘डाइनामिक क्यूआर’ कोडको सिस्टमको सुरुवातसँगै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस (Paperless) बनाउन नयाँ सुविधा आगामी साउनदेखि लागू गर्ने योजना रहेको छ। गत चैत तेस्रो हप्तादेखि नै सुरु गर्ने भनिएको ‘डाइनामिक क्यूआर’ प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाएको छ। यसअघि नै १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका कर्मचारीहरूलाई समेत राजश्व व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिइएको थियो।
राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले करदाताको आफ्नै डाइनामिक क्यूआर कोड नगरपालिकाले बनाएको बताएका छन्। उनका अनुसार उक्त क्यूआरबाट कर तिर्दा अन्य कुनै शुल्क (चार्ज) लाग्दैन। साउनदेखि करदाताले घरमै बसेर अनलाइनबाट सेवा लिन सक्नेछन्। आफ्नै क्यूआरबाट कर तिर्न, कति तिर्न बाँकी छ, कति कर तिर्यो, सबै जानकारी हेर्न मिल्ने सुविधा पनि यसमा उपलब्ध हुनेछ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकी, राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजश्व शाखाका प्रमुख पराजुली, सूचना प्रविधि अधिकृत अशोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको थियो।

























