५ भदौं, मेचीनगर : मेचीनगर नगरपालिकाले लघु उद्यमीलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरका विभिन्न वडाका महिला उद्यमीलाई बिहीबार प्रविधि हस्तान्तरण गरेको हो ।
आठ दिने उद्यमशीलताको तालिम पछि तीन महिने आधारभूत र एडभान्स तालिम लिएर उद्यमी बन्न इच्छुक गत आव २०८१— ८२ का नयाँ पुरान उद्यमी गरेर ४३ जना महिलालाई छ लाख ४५ हजार रुपैयाँ मुल्य बराबरको सिलाइ कटाई मेसीन हस्तान्तरण गरिएको हो । उनीहरुलाई उद्यम विकास सहजकर्ता गंगा सोरेन र आश्विनीकुमार भट्टराईले विभिन्न तालिमको सहजकर्ताको भूमिका निभाएका थिए ।
मेचीनगर नगरपालिकाले आफ्नै सभाहलमा आयोजित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यमीहरुका सीप तथा क्षमता अभिवृद्धि तालिम प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले संयुक्तरुपमा मेसीन हस्तानतरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताए । राज्यको सम्पति दुरुपयोग गर्न नहुने भन्दै उनले नगरले प्रदान गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरे । शीपलाई श्रम र श्रमलाई बजारसँग जोड्नु पर्ने बताउँदै नगर प्रमुख बुढाथोकीले वैदेशिक रोजगारीमा जानु भन्दा यहि मेहनत गर्न सके जिवनस्तर उकास्न सकिने धारणा व्यक्त गरे । उनले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गरे । तालिममा सिकेको सीपले उनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने नगरप्रमुख बुढाथोकीले विश्वास व्यक्त गर्दै आफ्नो पालिकामा भएका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आयआर्जनका टेवा पुराउने उद्धेश्यले नगरपालिकाले समय समयमा यस्ता यस्ता तालिम सञ्चालन गरिरहेको बताए ।

तालिम लिएर मात्र नहुने तालिम बाट सिकेर आफ्नो उपलब्धि हासिल गरेर रोजगार बन्न र अरुलाई पनि रोजगारी दिने ब्यवस्था गर्न उपप्रमुख मीना पोख्रेल उप्रेतीले आग्रह गरीन । तालिम लिएर उद्यमी बन्न इच्छुक महिलाहरूलाई सीपसँगै सिलाइ–कटाइ मेसिनसहित अन्य (प्रविधि) समाग्री उपलब्ध गराएर व्यवसायिक बन्न प्रेरणा प्रदान गरेको उपप्रमुख उप्रेतले बताईन । यसले उनीहरुको व्यवसाय सहज हुने उपप्रमुख उप्रेतीको विश्वास छ । स्वरोजगारका लागि गरिएको यो सहयोग ठिकसँग उपयोग गर्नुपर्ने उनको भनाई छ । प्रविधिसँग जोडेर काम गर्नु पर्ने बताउँदै उनले आज वितरण गरीएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताईन । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने बताए । हातमा सीप भयो भने आत्मनिर्भर बन्न सकिन उनको भनाई छ ।
नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्युटीपार्लर, सिलाई कटाई, डल बनाउने, मुढा बनाउने, कृस्टलको गहना पोते बनाउने, अचार बनाउने झोला बनाउनेलगायतका महत्वपूर्ण तालिमहरु प्रदान गर्दै आएको छ । प्रविधि हस्तान्तरण पछि मेचीनगर—७ की रुपा गुरुङले प्रविधि पाएपछि व्यावसायिक रुपमा काम गर्न जागर बढेर आएको बताइन ।
सीप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लागेका अधिकाँश महिलाहरु मेसिन प्राप्त गरेपछि गाउँमै बसेर काम गर्न सकिने बताउँछन् । नगरपालिकाले बेरोजगार हरूलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत सीपमूलक तालिम दिइएको मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीको भनाई छ । ‘नगरपालिकाले तालिम मात्रै दिँदैन व्यावसायिक बनाउने योजनासहित काम गरिरहेको छ,’ उनले भने—‘ त्यसैका लागि नगरपालिकाले सीपसँगै लाखौँ रुपैयाँ मुल्य बराबरका सिलाइ–कटाइ मेसिनसहित अन्य (प्रविधि) समाग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले यो सवै उनीहरुकै माग निवेदनका आधारमा उपलब्ध गराएको हो ।
नगरपालिका वडा नम्बर ७ लाई केन्द्रविन्दु बनाएर सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर १ र ९ का वाहेक बाँकी १३ वटा वडाका महिला सहभागी थिए । तालिममा अधिकाँश वाडा नम्बर ६ र ७ का महिलाहरुको उत्साहजनक उपस्थिति रहेको आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले जानकारी दिए ।

मेचीनगर नगरपालिका वडा नम्बर— ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर लघु समूहकी अध्यक्ष चन्द्रकला रिजाल संग्रौला, प्रशिक्षक सरसवती बानियाँ, उद्यमी भविता रिजाललगायतले बोलेको कार्यक्रमको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की तथा सहभागी सवैलाई शब्दमार्फत उद्यम विकास सहजकर्ता आश्विनीकुमार भट्टराईले स्वागत गरेका थिए ।


























