कोदोमा परनिर्भरता बढ्दो : हरेक वर्ष कोदोका लागि करोडौं रुपैयाँ बाहिरियो

A notice in Nepali from Mechinagar Ward No. 10

२७ चैत, मेचीनगरः आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले ‘रैथानेमा गर्व गरौं’ भन्ने नाराकासाथ नेपालका परम्परागत रैथाने बालीको बीउ संरक्षण गरी खेती विस्तार गरिने बताएका थिए । कोदोलाई नेपालको रैथाने खाद्य बालीको रुपमा हेरिन्छ । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको बताइएको छ ।

नेपालमा कोदो उत्पादन क्रमस घट्दै गएका कारण रैथाने त्यही बाली कोदो आयातकालागि मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको मात्र छैन् कोदोमा पनि हामी भारतमाथि नै निर्भर हुनुपर्ने अवस्था आएको छ । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा यतिखेर सर्वत्र बहस चलिरहेको छ ।

मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै गएपछि कोदोमा परनिर्भरता बढ्दो छ । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको सरकारी अभिलेख छ ।

कोदो आयातमा निर्भरता बढ्दै गएको काँकरभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयको अभिलेखले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा पूर्वीनाका काँकरभिट्टा भएर १७ करोड ७० लाख ७२ हजार बराबरको कोदो भारतबाट आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए । उनका अनुसार सो अवधिमा तीन हजार छ सय ८९ मेट्रिक टन कोदो आयात गरिएको छ । कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्याङ्क भेटिन्दा दिवस दिवसमात्रै सिमित हुने गरेको टिप्पणी हुने गरेको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि नेपाल भारतमाथिनै निर्भर हुनुपर्ने अवस्था आएको कृषिविज्ञ रामेश्वर मिश्राको भनाई छ ।

परम्परागत रूपमा कोदो मुख्यतः ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको पाइन्छ । सरकारी अधिकारीहरका अनुसार नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्नुपर्ने हो, तर यो काँकरभिट्टा नाकाबाट हुने निर्यात शुन्य छ । व्यावसायिक रूपमा कोदो खासै निर्यात नहुने सरकारी अधिकारीहरुको भनाई छ । एकजना कृषि अर्थशास्त्री अभिनाश सिलवालको भनाईमा नेपालको रैथानै बाली ब्रान्डिङ गर्न ढिला हुँदा कोदो आयात गर्नुपर्ने अवस्था आएको हो ।

परम्परागत बालीनालीको प्रवद्र्घन गर्न राज्यले कुनै चासो नदिएको र कृषकको उत्पादन लागत समेत बढेकाले किसान कोदो खेतीबाट वैक्लिपिक खेतीतर्फ लागेको झापा मेचीनगर—६ का पूर्णबहादुर थापाले बताए । केही वर्षदेखि कोदोको व्यावसायीक खेतीमा लागत बढी र उत्पादन कम हुँदा पनि किसानको कोदो खेतीतर्फ आकर्षण घटेको उनको भनाई छ । कोदोको प्रवद्र्घनमा सरकारी उदासिनताका कारण कोदो खेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको उनको आरोप छ ।

सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिदाँ हरेक वर्ष स्वदेशी उत्पादन घट्दैं गएको छ । स्वदेशी उत्पादन घट्दै गएका कारण आयात बढेको सम्बन्धित अधिकारीहरु बताउँछन् । सरकारले कोदोको उत्पादन बढाउन कुनै किसिमका कार्यक्रम ल्याएको छैन् । यसको खेती गर्ने किसानलाई सहुलियत दरको ऋणको व्यवस्था पनि छैन् । सरकारले पहाडी बाली जोगाउने र त्यसलाई बढाउने योजना ल्याउनुपर्ने किसानको भनाई छ ।

पौष्टिक खाद्यतत्वका हिसाबले अन्य बालीभन्दा कोदोलाई उच्च स्थान दिन सकिन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ । त्यस्तै चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ ।

१ सय ग्राम कोदोबाट औसतमा ७६.३ ग्राम कार्बोहाइड्रेड, ९.२ ग्राम प्रोटिन, २.२ ग्राम खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३ सय ६० मिलिग्राम क्याल्सियम, २ सय ५४ मिलिग्राम फस्फोरस, ७.४ मिलिग्राम फलाम र ३ सय ३३ क्यालोरी ऊर्जा प्राप्त हुन्छ । कोदोमा पाइने प्रोटिनमा दूधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पाइने पौष्टिविदहरुको भनाई छ ।

देशका अधिकाँश स्थानमा कोदो खेती हुन्छ । उत्पादनका हिसाबले पर्याप्त नभएको, अत्यन्तै कम भएको बताइएको छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् । कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भए पनि यसको व्यावसायिक उत्पादन हुन नसकेको बताइएको छ ।

कोदो बाली साना, सिमान्त कृषकको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने किसानकोे सुझाव छ ।

अध्ययन अनुसन्धान गरी सम्मानित बालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रशोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनुपर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त वीउ तथा प्रविधि उपलव्ध गराउनुपर्ने, उत्पादनको मूल्य श्रृखला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा कृषकको जोड छ ।

कोदोमा प्रचुरमात्रामा फलाम पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ भन्ने भनाई पनि छ । यसकारण पनि स्वास्थ्यका हिसावले पनि निक्कै लाभदायक मानिएको छ ।

२०७८ को कृषि गणनाले १ लाख २२ हजार १ सय हेक्टर जमिनमा ८ लाख ६८ हजार १ सय कृषक परिवारले कोदो खेती गरेको तथ्याङ्क छ । जसअनुसार दश वर्षको अन्तरालमा करिब १ लाख हेक्टरले कोदो रोप्ने जमिन घटेको देखिन्छ । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । विविध कारणले कोदोमा पनि हामी भारतमाथि नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.