२४ वैशाख, मेचीनगर : सरकारले वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी छ । गाउँमा मात्र होइन सहरमा समेत चुनावी रौनक ह्वात्तै बढेको छ । उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन । मत हाल्ने दिन आउन ६ दिन मात्रै बाँकी छ तर मतदाता शिक्षा दिने कुरामा भने कसैले चासो नदेखाएको मतदाताको गुनासो छ । अझ भन्ने हो भने कुन पार्टीको चुनाव चिन्ह के हो ? स्थानीय तहमा कति जनालाई भोट दिनुपर्छ भन्ने सामान्य कुरा समेत थाहा छैन् मतदातालाई ।
अहिले आफ्नो पार्टीको झण्डा र चुनाव चिन्ह लिएर उम्मेद्वारदेखि केन्द्रीय, जिल्ला, क्षेत्रीय, नगर र वडासमेतको नेतृत्व आफ्ना दलबलसहित आफ्नो पक्षमा जीत हात पार्न गाउँ गाउँ छिर्न थालेका छन् । उनीहरुले मतदातासंग आफ्नो चुनाव चिन्हमा मात्र मत माग्ने गरेका छन् । तर, कसरी मतदान गर्ने ? के गर्दा मत बदर हुन्छ ? प्रमुख, उपप्रमुखमा लगायत अन्य पदका कतिजना सम्मलाई मतदान गर्ने यी सब कुरा नसिकाएकै कारण मतदाताहरु अन्योलमै छन् । धेरैले त भोट माग्न आउने नेतालाई प्रश्न गर्ने गरेका छन् मतपत्रमा कसरी छाप लगाउने ?
स्थानीय पालिकाको निर्वाचनमा ठूलो मतपत्र भए पनि मत कसरी हाल्ने भन्ने कुरामा मतदाता अझै अन्योलमा छन् । ठूलो मतपत्र अनि सयौं चुनाव चिन्हमा आफूलाई मन परेको व्यक्ति वा राजनीतिक दलका उम्मेदवारलाई मतदान गर्ने सही तरिकाबारे सचेत नागरिक नै अन्योलमा पर्ने सम्भावना रहेको झापा मेचीनगर— १ का मतदाताहरुको भनाई छ ।
मेचीनगर–१ की सिर्जना राईको घरमा मत माग्न उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता दैनिकजसो आउँछन् । तर, मतपत्रमा छाप लगाउनेदेखि अन्य निर्वाचन सम्बन्धी विषयमा भने कसैले सिकाएनन् । सबैले हामीलाई भोट दिनु मात्रै भन्ने तर, मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउने ? कसरी लगाउँदा बदर हुन्छ ? कसरी लगाउँदा सदर हुन्छ भन्ने कसैले नसिकाएको सिर्जनाको भनाई छ ।
सोही ठाउँकै हस्तबहादुर राईको घरमा मत माग्न आउनेको लर्को बिहानदेखि बेलुकासम्म कमी छैन । तर, सबैले स्थानीयबासीलाई हामीलाई र हाम्रो चिन्हमा मतदान गर्नुहोला भनेर सरासर हिँड्नेबाहेक केही नगरेको उहाँको भनाई छ । आफैले बरु जानेसम्म स्थानीय मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरेको जाने सम्म मतदान कसरी गर्ने ? मतपत्रमा कसरी छाप लागाउने ? कसरी बदर हुन्छ ? कसरी सदर हुन्छ भन्ने विषयमा सिकाउने गरेको उहाँको भनाई छ ।
स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको मेचीनगरको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ । जति हूल मान्छे आउँछन् । भोट माग्दै फर्किने, यहाँ यसरी मतदान गर्नू भनेर कसैले नसिकाएको उनीहरुको भनाई छ । मत माग्ने नेता÷कार्यकर्ताले मतदातालाई मतदानको प्रक्रिया मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोग लगायतबारे कुनै जानकारी नगराएको स्थानीय प्रतिष्ठा दाहालको भनाई छ ।
दाहाल कसरी मतदान गर्ने भन्ने अन्यौलमै हुनुहुन्छ । पहिलो पटक भोट हाल्न लाग्नु भएकी उहाँले मतदान गर्ने तरिका केही थाहा नभएको बताउनुभयो । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा उहाँजस्ता धेरै मतदाता अहिले अलमलमा छन् ।
दिनहुँ आउने राजनीतिक पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारले मतदान कसरी गर्ने भनेर सिकाउनेतर्फ चासो नदिएको हात जोडेर फलानो पदमा उठेको छु, फलानो चिन्हमा भोट दिनुहोला भने पनि मतदान यसरी गर्नु, यसरी गर्दा बदर हुन्छ भनेर सिकाउने काम कसैबाट नभएको स्थानीय प्रशंसा दाहालको भनाई छ ।
‘खोई भोट चाहिँ हामीलाई दिनुपर्छ भन्दै दैनिकजसो धेरै मानिस आइरहेका छन्’ मेचीनगर—७ की सरस्वती चौधरीले भन्नुभयो—‘तर, भोट कसरी हाल्ने ? कतिजनालाई हाल्ने ? मतपत्रमा कसरी छाप लगाउँने ? उम्मेद्वार कति जना हुन्छन् भन्ने कुरा चाहिँ कसैले सिकाएनन् र बुझाएनन् पनि ।’ चुनावको महत्व नबुझ्दा, कसरी मतदान गर्ने ? मतपत्रमा कसरी छाप लगाउने ? लगायतका सामान्य कुरा बुझाँउन नसक्दा नै धेरैले आफ्नो मताधिकार प्रयोग नगर्ने, मत बदर हुने गरेको राजनीतिशास्त्रका विद्यार्थी पंकजदास शर्माको भनाई छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा एकजना मतदाताले सात ठाउँमा छाप लगाउनुपर्छ । तर, धेरैलाई यो कुराको जानकारी छैन् । ‘एउटा नयाँ पुस्ताले पहिलो पटक मतदान गर्ने तयारीमा छ ’ शर्मा भन्छन्—यसकारण पनि यो निर्वाचनमा मतदाता अल्मलिने बढी सम्भावना भएकाले धेरै मत बदर हुने जोखिम छ ।’
मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको एकजना उम्मेदवारले प्रतिक्रिया दिए । हामी घरदैलोमै व्यस्त हुनुपर्ने भएकोले त्यसमा समय दिनै नपाइएको उहाँको भनाई छ ।
संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा
अन्योलमा पर्ने गरेका छन् । विशेषगरी नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक रहेको छ । उम्मेदवार भोट माग्नमै सीमित हुने, मत बदर हुन नदिन मतदाता शिक्षा दिनु आवश्यक छ ।
निर्वाचनका बखत मतदता शिक्षा आवश्यक हुन्छ । यो स्थानीय तह निर्वाचनको दोस्रो अभ्यास भएकाले पनि मतदाता सचेत हुनपर्छ । दलका नेता र उम्मेदवारले चुनावी प्रचारका क्रममा मतदाता शिक्षा पनि उपलब्ध गराए भोट बदरको समस्या हुने थिएन । अबको ६ दिनमा निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन सरल र सहज तरिका नअपनाए निर्वाचनमा धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको छ ।

























