कांग्रेसले जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैन : प्रवक्ता शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, चितवन : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताएका छन्। नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले आज यहाँ आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमर्मा उनले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको रायअनुसार गर्ने बताएका हुन्।

उनले भने, ‘आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ। काठमाडाैंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन।’ केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उनले बताए।

कार्यक्रममा उनले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुआत गर्नुपर्ने बताए। उनले भने, ‘एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ।’ चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उनको भनाइ थियो।

देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उनले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउनु आवश्यक रहेको बताए। कांग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो। प्रवक्ता शर्माले भने, ‘कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ।’ पन्ध्र वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उनले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गरे। कांग्रेसलाई बलियो बनाउनका लागि गाउँतहबाटै बलियो बन्नुपर्ने उनको तर्क थियो।

वडा सभापति विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठलगायतले बोलेका थिए। सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो। यस्तै वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.