अधिक मास शुरु, “के हो अधिक मास ?”

यस वर्ष असोजमा अधिकमास परेको छ । असोज २ गतेबाट अधिकमास लाग्छ । अब अधिकमास परेपछि के हुन्छ ? अधिकमासमा के–के गर्न हुन्छ ? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन पर्छ ? यो कसरी पर्छ ? कति–कति वर्षमा पर्छ ? अनि यो कहिले–कहिले पर्छ ? यस्ता प्रश्नले सामान्यदेखि शिक्षित जनसमुदायका मस्तिष्कमा समेत उत्कण्ठा पैदा गरिदिएको छ ।
अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् । यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया तीस (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै  हुन्छ । एक चान्द्रमहिनामा तीस (३०) तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया बाह्र (१२) चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् । तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।
अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । विकारका रूपमा वा मलका रूपमा आउने भएकाले यसलाई मलमास भनिन्छ भने यस महिनाको अधिपति पुरुषोत्तम भगवान् भएकाले यसलाई पुरुषोत्तम महिना वा पुरुषोत्तममास पनि भनिन्छ ।
पुरुषोत्तम महिनामा विशेष पूजा–आजा, यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गर्नुहुँदैन । चूडा, उपनयन (व्रतबन्ध) विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गर्नुहुँदैन । तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।
पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू (काँसको भाँडामा रोखेर गरिने मालपुवा दानजस्ता कर्महरू) भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले गर्न हुन्छ  र हामी सनातन धर्मावलम्बीहरूले गर्नुपर्छ पनि ।
सामान्यतया सौरमहिना र चान्द्रमहिना सँगसँगै हुन्छन् । दिनका हिसाबले एक चान्द्रमहिनामा लगभग साढे उनन्तीस (२९.५)  दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन जान्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनजान्छ । त्यो बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।
महिनालाई मास पनि भनिन्छ । अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औंसीसम्म)मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन ।  धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित महिनालाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिएको हो  । त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।
सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई (२) वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ । सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ । तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यतया हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ । जस्तो — वि. सं. २०७२ को असार महिनामा र वि. सं. २०७५ को जेठ महिनामा र अहिले आएर वि.स २०७७ को असोज अधिकमास परेको छ।
अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ  तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास  परेको मासका आधारमा निर्धारित हुन्छन् । यस वर्ष असोज अधिकमास परेको छ । असोज अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.