झापा, १९ माघ । कचनकबल गाउँपालिकाको एउटा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।
कचनकबल गाउँपालिका वडा नम्बर १ घेराबारीमा राती करिव १२ बजे घरमा आगलागी हुँदा ५५ वर्षका गोवर्धन राजवंशीको मृत्यु भएको हो ।
राती सुतिरहेको अवस्थामा आगलागी हुँदा घरका अन्य परिवारका सदस्य भने भागेर बाच्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी चौकी घेराबारीको प्रहरी टोली, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।
आगलागीबाट काठको खम्बा, टिनको बेरा, टिनको छानो भएको एकतले घर तथा बासको टाटीले बारेको टिनको छाना भएको एकतले कच्ची घर र बासकै टाटीले बारेको टिनको छाना भएको कच्ची भान्सा घर समेत गरी तीनवटा घर पूर्णरूपमा जलेर नष्ट भएको उनले बताए ।
यसैगरी आगलागीमा परी एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।


























