बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर

A notice in Nepali from Mechinagar Ward No. 10

रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।

बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्।

बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थिइन्।

साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दलबहादुर बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन्।

‘घरमा आमा छोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्’, दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन्।’

श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन्। केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन्। उनीहरुकै सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए। दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन्। प्रेसर हाइ र लो हुने समस्या पनि थियो।

त्यसअगाडि उनले उपचारका लागि झन्डै चार लाख खर्चिएका थिए।

‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतीको उपचार गर्दै आएको थिएँ,’ दलबहादुरले भने।

श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए। बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए। ‘मैले श्रीमतीसँग आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘उनले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन्।’

धारापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमती धर्माकुमारीलाई फोन गरे। त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन्। त्यसपछि फोन सम्पर्क हुन सकेन। रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते।

राडीहुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५-६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलोमिटर रहेपनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ।

धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्।

वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।

बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई/तीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्।

मध्यरात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। सबै यात्रु निदाए जस्तै वातारण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने।

‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन।’

धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन्। उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे।  तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्‍याउने सबैले सल्लाह गरे। धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन्। उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।

बच्चा रोइरहेको हुँदा केसीलगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते।

शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए।

उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे।

छोरा बुवा देखेर अलि शान्त बन्यो। तै रोइरहेको छोरालाई चुम्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए। ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे। तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्‍याए।

धर्माकुमारीलाई आइसियूमा राखिएको छ। ‘मृत्यु भइसकेको भए पनि मैले माइतीको बाटो कुरेको छु,’ दलबहादुरले भने, ‘जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइसक्नुभएको छ र आज बाँकी अन्तिम संस्कारको कामहरु गर्नेछौं।’

‘म कस्तो अभागि रहेछु, पहिलाको श्रीमतीले छोडेर अर्कैसँग गइ र अहिलको श्रीमतीले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने, ‘पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरणलाई मैले के गरी सम्झाउने होला ?’

यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ।

यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.