हरिप्रसाद ओली : सहकारी, समाजसेवा र आध्यात्मिक यात्रामा समर्पित जीवन

नारायणबहादुर बस्नेत

तत्कालीन तेह्रथुम जिल्ला (हाल केही भूभाग ताप्लेजुङमा पर्ने) निगुरादिन गाउँ पञ्चायतमा स्व. जयप्रसाद ओली र स्व. भगमाया ओली (माइली मुखिनी) का चार छोरामध्ये कान्छा छोराका रूपमा २००४ साल फागुन १० गते हरिप्रसाद ओलीको जन्म भएको हा े।

उनको शिक्षा र प्रारम्भिक जीवनका कुरा गर्दा सानैदेखि मेधावी, उत्साही र जिम्मेवार स्वभावका हरिप्रसाद ओलीलाई २०१३ सालतिर अध्ययनका लागि इलाम लगियो । त्यहीबाट उनको औपचारिक शिक्षायात्रा सुरु भयो । विद्यालय जीवनमै साथीहरूलाई संगठित गर्ने, कामलाई व्यवस्थित पार्ने र नेतृत्व गर्ने बानीका कारण उनी भविष्यमा सक्षम प्रशासक र संगठक बन्ने सम्भावनायुक्त व्यक्तित्वका रूपमा चिनिए ।

हरिप्रसाद ओलीले झापा–गरामनी निवासी दिदीबहिनी शान्ती ओली र देवी ओलीसँग वैवाहिक सम्बन्ध जोडे । उनका तीन छोरा — ओजेश, अनुकूल र अनिल ओली साथै एक छोरी अञ्जु— छन् । सबै सन्तान विवाहबन्धनमा बाँधिइसकेका छन् । अहिले कान्छो छोरा अनिल ओली उनीसँगै मेचिनगर–७ मा बस्दै आएका छन्।

हरिप्रसाद ओलीको सहकारी अभियानमा निक्कै ठूलो योगदान छ । ओली सहकारी आन्दोलनका अग्रणी र इमानदार नेतृत्वकर्ता हुन् । महेन्द्रद्वारा सहकारी संस्थामा सञ्चालक सदस्य हुँदै अध्यक्षसम्म पुगेर उनले संस्थालाई स्थायित्व र विश्वास दिलाए । त्यसपछि झापा जिल्ला सहकारी संघको अध्यक्ष भएर पनि महत्वपूर्ण नेतृत्व गरे ।

२०६१÷०६२ सालतिरको एउटा स्मरणीय प्रसंग अझै पनि जीवित छ । नेपाल सहकारी संस्थाका व्यवस्थापक लक्ष्मीप्रसाद उप्रेतीलाई सम्बोधन गर्दै उनले भनेका थिए— “लक्ष्मीजी, तपाईँले बोर्डमा लेखेर राखेको सञ्चालक समितिको नाम मात्र हेरेर म यहाँ पैसा जम्मा गर्न आएको होइन, र गर्दिन पनि । तर यो कार्यालयमा कर्जा फाँटमा काम गर्ने एउटै मान्छे इमान्दार देखेको छु, त्यो हो नारायणबहादुर बस्नेत । मैले सहकारीको नेतृत्व गर्दा उनको इमानदारीता बुझेको कारणले नै आज यो संस्थामा मेरो रकम सुरक्षित छ भन्ने विश्वास भएको छ । त्यसैले म आज रकम राखेर जान्छु ।”यो भनाइले उनको मान्छे चिन्न सक्ने दृष्टि, सत्यनिष्ठा र सहकारीप्रतिको गहिरो लगावलाई स्पष्ट पार्दछ ।

सामाजिक सेवा र ज्येष्ठ नागरिक अभियानमा पनि उनको उत्तिकै योगदान छ । सहकारी अभियान सफलतापूर्वक अघि बढाएपछि उनले झापा जिल्लास्तरीय जेष्ठ नागरिक संघको अध्यक्षको जिम्मेवारी सम्हाले । बुढेसकालमा छोराछोरीबाट प्रताडित र बेघर बनेका थुप्रै आमाबुबा उद्धार गरी उनले उनीहरूलाई सम्मान र आश्रय दिने वातावरण निर्माण गरे । उनको नेतृत्वमा सुरु गरिएको यो अभियानले समाजमा नयाँ सोच ल्यायो — “बुढेसकाल सम्मानको हो, तिरस्कारको होइन भन्ने ।

२०५२ देखि २०६३ सालसम्म चलेको माओवादी द्वन्द्वका कठिन दिनहरूमा उनी ज्यामिरगढी क्षेत्रका द्वन्द्व व्यवस्थापन संयोजक रहे । राज्यको सुरक्षा संयन्त्र कमजोर हुँदा पनि स्थानीय तहमा संवाद, संयम र सहकार्यमार्फत उनले शान्ति र स्थिरता कायम राख्न योगदान दिए । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतापछि द्वन्द्व अन्त्य नहुन्जेलसम्म उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरे । जीवनको उत्तरार्धमा उनी आध्यात्मिक अभ्यासतर्फ समर्पित भए । देवघाटमा करिब १२ वर्ष धार्मिक साधनामा व्यतीत गर्दै उनले परिवारका सदस्यहरूलाई पनि नैतिकता र आध्यात्मिकताको बाटोतर्फ प्रेरित गरे ।

उनको जीवन दर्शन सधैं यही रह्यो —
“धनले होइन, धर्मले जीवन शान्त हुन्छ।”

७८ वर्षको उमेरसम्म समाजसेवा, सहकारी, द्वन्द्व व्यवस्थापन र धार्मिक कर्ममा निरन्तर सक्रिय रहनुभएका हरिप्रसाद ओली अहिले स्वास्थ्य समस्या भई मेचिनगर–७ स्थित आफ्नै निवासमा बस्दै आएका ओली भन्छन् “त्यो समयको जिउँदो व्यक्ति आज आफ्नो बिछ्यौनानै प्यारो लाग्छ । उमेरमा सबैको अगाडि हिँड्ने म आज लडिरहँदा कहिलेकाहीँ जीवन असहज लाग्छ । हिँड्न मन लाग्छ, तर स्वास्थ्यले साथ दिंदैन। त्यसैले घरमा बस्छु। तर त्यही बेला कुनै पुरानो साथी आउँछन् , गफ गर्छु— अनि मन प्रफुल्ल हुन्छ। यस्तो नै रहेछ जीवन ।”यो भनाइले जीवनको यथार्थलाई सजीव रूपमा उजागर गर्छ —शरीर कमजोर हुन सक्छ, तर आत्मा अझै उज्यालो रहन्छ।

मानिस शून्यबाट जन्मिँदैन । करिब ४० प्रतिशत वंशानुगुण र ६० प्रतिशत परिवेशको संयोजनबाट एक व्यक्तित्व निर्मित हुन्छ । त्यसैले भनिन्छ–
जन्मदा सास हुन्छ, नाम हुँदैन ।
मृत्यु हुँदा नाम हुन्छ, सास हुँदैन ।
त्यही सास र नामबीचको यात्रालाई नै जीवन भनिन्छ । जीवनका उतारचढाव पार गर्दै आज पनि उनी शान्त, संयमित र कृतज्ञ जीवन बाँचिरहेका छन् ।

अबको बाँकी जीवन पनि अघिल्लो जन्ममा गरेका कर्मको आधारमै अघि बढ्ने उनको विश्वास छ।
“सुन्दर कर्म, सादगी र सेवा — यही मेरो जीवनको सार हो,” भन्ने उनको भनाइले उनको आत्मदर्शन झल्काउँछ ।
हरिप्रसाद ओलीको जीवन केवल व्यक्तिगत संघर्ष र उपलब्धिको कथा होइन —यो सहकारी आन्दोलन, सामाजिक उत्थान, जेष्ठ नागरिकको सम्मान, द्वन्द्व व्यवस्थापन र आध्यात्मिक समर्पणको सशक्त उदाहरण हो ।उनको कर्म, निष्ठा र सेवा भावले आगामी पुस्ताका लागि प्रेरणादायी नजीर छोडेको छ ।उनको जीवनीले देखाउँछ — “जीवनको मूल्य उमेरमा होइन, कर्ममा हुन्छ ।”आदरणीय हरिप्रसाद दाइको स्वास्थ्य लाभ, दीर्घायु र पारिवारिक सुखशान्तिको हार्दिक शुभकामना ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

हरिप्रसाद ओली : सहकारी, समाजसेवा र आध्यात्मिक यात्रामा समर्पित जीवन

नारायणबहादुर बस्नेत तत्कालीन तेह्रथुम जिल्ला (हाल केही भूभाग ताप्लेजुङमा पर्ने) निगुरादिन गाउँ पञ्चायतमा स्व. जयप्रसाद ओली र स्व. भगमाया ओली...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.