‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’

लक्ष्मी उप्रेती
‘दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे’।
साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, झापा मेचीनगर नगरपालिका–५ घोडाजिनका ३० वर्षीय अनिस राईको जीवनकथा ।
अनिस यतिबेला दोहोरो पीडासँग जुधिरहेका छन् । पक्षघातका कारण शरीरको दायाँ भाग अचल भएर ओछ्यानमा ४८ वर्षीया आमा पवित्रा थलिएकी छन् भने अर्का तिर २९ वर्षीया श्रीमती विष्णुमाया क्यान्सरका कारण दाहिने खुट्टा गुमाएपछि महिना दिनदेखि उठ्न–बस्न नसक्ने अवस्थामा छिन् ।

कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर अनिसको एउटा गतिलो घरसमेत नहुँदा बढो दुःखका साथ जीवनयापन गरीरहेका छन् । अनिसको यो पीडा र दुःख देख्दा सबैले साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको चर्चित भनाइ सम्झने गर्छन् दुःखीको घरमा तेरो मात्र बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ! ’
तर, यतिखेर उनको घरको निर्माण कार्य शुरु भएको छ । यसले उनलाई थोरै भए पनि मल्हम पट्टीको काम गर्ने र केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
मेची अभियानको अगुवाइमा अनिस-विष्णुमाया राईको गृह निर्माणका लागि स्थानीय स्तरबाट गृह निर्माण समिति गठन भए लगत्तै निर्माणको काम शुरु भएको छ । मेची अभियानका संयोजक तथा तथा सामाजिक व्यक्तित्व विजय डालमियाँसहित त्यस वडाका सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा भएको भेलाले समिति गठन गरेको हो ।

‘अनिस-बिष्णुमाया राईको गृह निर्माण समिति’ संयोजकको जिम्मेवारी स्थानीय धार्मिक व्यक्तित्व पर्शुराम पराजुलीको काँधमा छ । उनलाई साथ दिन सदस्यका रुपमा सम्झना मगर , सुनिता बुढा क्षेत्री, सञ्जु राई, जुनु याख्खा देवान, कल्लु लिम्बु, चन्द्र कोइराला, सम्झना राई र विवेक कालीकोटे उभिएका छन् ।
समिति बनेसँगै गृह निर्माणको काम शुरु भएको मेची अभियानका संयोजक विजय डालमियाँले जानकारी दिए ।
समितिले क्यान्सर पीडित विष्णुमाया राईको घर पुनःनिर्माण तथा मर्मत अभियान चलाए लगत्तै समितिका संयोजक पर्शुराम पराजुलीको नेतृत्वमा झापाको मेचीनगर नगरपालिका नकलबन्दाक्षेत्रबाट ७० हजार ५५ रुपैयाँ र काँकरभिट्टाक्षेत्रबाट लिपी चाम्लिङको नेतृत्वमा ५३ हजार दुई सय ४० रुपैयाँ गरी कुल एक लाख २३ हजार दुई सय ९५ रुपैयाँ संकलन भएर काम शुरु भएको समितिले जनाएको छ ।

यसैगरी, मेचीनगर नगरपालिका वडा नम्बर-४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका पुर्व विद्यार्थी र स्थानीयवासी हरुबाट स्वतःस्फूतमा संकलन भएको १० हजार दुई सय ८५ रुपैयाँ हस्तान्तरण गरेको छ । कतारमा कार्यरत लेखनाथ राउत क्षितिजको सक्रियतामा स्थानीयवासी र विद्यार्थी समूहबाट प्राप्त रकम विरामी विष्णुमायाका श्रीमान अनिस राईलाई हस्तान्तरण भएको छ ।
मेची अभियान यस्तो सामाजिक र गैरनाफामुलक संस्था हो, उस्ले विभिन्न सहयोगी दाताहरूको पहलमा रामेछाप वा झापामा आगलागीबाट, भूकम्पबाट वा अन्य विपद्बाट पीडित भएका अति विपन्न परिवारको घर निर्माण गरिएको छ ।
यो अभियान झापा र पूर्वका जिल्लाहरूमा केन्द्रित भएर सञ्चालन हुने गर्दछ र यसले विपद्मा परेकाहरूलाई आवास निर्माणमा सहयोग गर्दै आएको संयोजक डालमियाँले बताए । मेची अभियानले अग्निपीडित केवल निरौलाको परिवारलाई नयाँ नयाँ घर बनाइदिएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्प होस या नोवल कोराना भाईरस कोभिड १९या अन्य विपद्हरु मेची अभियानको उपस्थिति हुने गरेको छ ।

क्यान्सर पीडित राईको यस सहयोग अभियानमा साथ दिन सम्पूर्ण सहयोगी मनहरुलाई समिति र मेची अभियानले हार्दिक आग्रह समेत गरेको छ । ‘थोरै–थोरै सहयोगले पनि ठूलो जीवन बचाउन सकिन्छ ’ मेची अभियानका संयोजक विजय डालमियाँले भने ।
हुनतःअनिसको बाल्यकाल पनि निक्कै दुःखै दुःखमा वित्यो । हरेक समय उनी कुनै न कुनै समस्या र पीडासँग जुधिरहे ।
उनका बुवा बस चालक थिए । १८ वर्षअघि भएको एक सडक दुर्घटनामा उनले ज्यान गुमाए । अनिस बालखैमा बुवा गुमाएर टुहुरो भए । आमा पवित्राको झण्डै २५ वर्षको समय टोकला चिया कमानमा चियाका मुना टिप्दैं र कहिले गोड्दैमा विते । वा अनिसकी आमा पवित्रा चिया बगानकी श्रमिक थिइन् । उनी स्वस्थ्य हुँदा त आफ्‌नै मिहिनतले परिवारको गुजरा टार्दै थिईन् । पवित्रालाई पाँच वर्षअघि अचानक पक्षघात भयो । त्यसयता उनी ओछ्यानबाट उठ्न सकेकी छैनन् । अनिस सन्तानमा माइला छोरा हुन् । त्यसपछि उनले पनि ज्यालादारी मजदुरका रूपमा बगानमा काम गर्न थाले । त्यसपछि पवित्रालाई पनि केही राहत मिल्यो । त्यही बेला उनी पक्षघातको आक्रमणबाट थला परेको उनले सुनाएँ । एकातिर आमा पक्षघातले थलिइन् अर्का तिर क्यानसरले श्रीमतीलाई च्यापेपछि त उनलाई आकाशले नै थिचेको झै भएछ ।

अनिसले काम गर्न थालेको दुई वर्ष जति भएको थियो । दुःख सुःखमा साथ दिने श्रीमती विष्णुमाया अचानक विरामी भए पछि झन ठूलो संकटमा परे अनिस । जसोतसो परिवार धानिरहेका थिए अनिसले । श्रीमती अचानक बिरामी परेपछि पक्षघातले थलिएकी आमा र श्रीमतीको उपचार र हेरचाहको जिम्मेवारी पनि उनैमा थपियो ।श्रीमती बिरामी भएको डेढ वर्ष जति भयो, त्यस पछि उनले बगानको काम पनि छाडे । दुवैको उपचारका लागि अस्पताल कुद्नु उनको नियमित काम झै बनेको छ । त्यसपछि दैनिक उनी काममा जानै सकेनन् । अनिस र विष्णुमायाका पाँच वर्षीय छोरा छन् । उनी मावली घरमा बस्छन् । अध्ययनमा समस्या नहोस भनेर र राम्रो रेखदेख हुने भनेर राई दम्पतिले छोरालाई कन्यामस्थित माइतीघरमा पठाएका हुन् । झापाको विर्तामाडस्थित बीएण्डसीको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल पुगे ।

सवै खर्च छिमेकीसँग ऋण स्वरुप लिएका थिए । त्यस बखत उनीहरूसँग गाडी भाडासमेत थिएन रे । भरतपुरले नै विष्णुमायालाई दोस्रो चरणको क्यान्सर भएको पुष्टि गर्‍यो । उनीहरूले किमोथेरापीका लागि पाँच पटकसम्म झापा–भरतपुर धाए । पाँच पटक किमोथेरापी गरिसक्दा पनि क्यान्सर निको भएन, बरु शरीरभरि फैलिन थाल्यो । अवस्था झन् जटिल बन्दै गएपछि चिकित्सकहरूको सल्लाहमा करिब एक महिनाअघि विष्णुमायाको दाहिने खुट्टा शल्यक्रियामार्फत काटियो ।
खुट्टा काटिएपछि अहिले उनी घरमै थलिएकी छन् । घाउ क्रमशः निको हुँदै गएको भए पनि पर्याप्त पौष्टिक आहारको अभावले उनको स्वास्थ्य सुधार हुन सकेको छैन् । औषधि किनेर खाने पैसासमेत उनीहरूसँग छैन । उपचारमा हालसम्म करिब अढाईदेखि तीन लाख रुपैयाँ खर्च भइसकेको छ । तर, अहिले घरमै दैनिक छाक टार्न कठिन भइरहेको बताईन्छ । यस्तो अवस्थामा बस्ने घर मसेत गतिलो नभएका कारण मेची अभियानको सक्रियतामा उनको घर बनिन् लागेको हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.