लक्ष्मी उप्रेती
२६ साउन, लखनपुर : सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गण हेड क्वाटर लखनपुर झापाको छैठौं स्थापना दिवस आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गण हेड क्वाटर लखनपुर झापा परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापा थिए ।
प्रमुख अतिथि बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) थापाले गण परिसरमा रक्तचन्दनको विरुवा रोपेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसहित विशिष्ट अतिथि, विशेष अतिथिलगायत अतिथिहरुले गण परिसरमा रहेको मन्दिर दर्शन, इष्ट देवि देवता पाथीभरा, वंगलामुखी र छिन्नमस्ताको तस्वीरमा पुष्प गुच्छा अर्पण, कर्तव्य पालनको शिलशिलामा शहीद हुनु भएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरी कर्मचारीहरुको तस्वीरमा माल्यर्पण र पुष्प गुच्छा अर्पण गरेका थिए ।

त्यसपछि प्रमुख अतिथि बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) थापाले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिकरुपमा शुभारम्भ गरेका थिए । सोहि अवसरमा पंण्डित गुरुहरुले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा गणको छैठौं स्थापना दिवस २०८३ को केक समेत काटिएको थियो ।

कार्यक्रममा सहभागी सवैलाई साँस्कृतिक कार्यक्रम स्वागत नृत्यमार्फत सशस्त्र प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गणको छैठौं वार्षिकोत्सवका अवसरमा दिएको शुभकामना सन्देश वाचन गरियो ।

कार्यक्रममा गणको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम सार्वजनिक स्थल सरसफाई, सचेतनामुलक कक्षाहरु सञ्चालन, रक्तदान, बृक्षारोपणलगायतका विषयमा सहभागीहरुलाई कार्यक्रम सञ्चालक सशस्त्र प्रहरी निरीक्षक चेतन बाराकोटीले जानकारी गराएका थिए । सोहि अवसरमा आयोजित गणमा कार्यरत सकल दर्जाहरुमा विभिन्न शारिरीक सहिष्णुता, पेशागत क्षमता प्रदर्शनलगयात टेवल टेनिस, ब्याडमिन्टन, भलिबल खेल प्रतियोगितामा विजयी टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप अनुसन्धान निर्देशक उमेश पाण्डेले खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । भलिबलतर्फ विजयी हुने टोलीलाई सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डेले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

हतियार ह्याण्डलिङ अन्तर्गत प्रथम भएका सशस्त्र प्रहरी वरिष्ठ हवाल्दार भानुकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले प्रमाण पत्र प्रदान गरिन् । शारिरीक सहिष्णुता विधातर्फको २ माइल दौडमा पुरुषतर्फ प्रथम सशस्त्र प्रहरी जवान दिवस योङहाङ लिम्बु र महिलातर्फ प्रथम सशस्त्र प्रहरी जवान सेविका राना मगरलाई नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापाले प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक चेतन बाराकोटीले लेखन तथा निर्देशन गरेको नाटक ‘यो माटो प्यारो छ ’ प्रस्तुत गरिएको थियो । नाटकमा सशस्त्र प्रहरी कर्मचारीले अभिनय गरेका थिए । कार्यक्रमकै अवसरमा साउन महिनाको ‘सोल्जर अफ द मन्थ’ घोषित सशस्त्र प्रहरी जवान दिपेन्द्र बस्नेतलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए ।

उत्कृष्ट कार्य अन्तर्गत छनौट भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्रहरी बरिष्ठ हवाल्दार बाबुराम श्रेष्ठ, सशस्त्र प्रहरी सहायक हवाल्दार इश्वर तिम्सिना, सशस्त्र प्रहरी सहायक हवाल्दार सुशीला शर्मा, सशस्त्र प्रहरी जवान शेषराज घिमिरे र सशस्त्र प्रहरी परिचर पुर्णविक्रम राईलाई समेत गणपति बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए ।
गण मातहतका यूनिटहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा महत्वपूर्ण योगदान गरेको भन्दैं झापा मेचीनगर-१ निवासी बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हेमलाल गुरागाईँ, झापा गाउँपालिका वडा नम्बर-५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी, कचनकवल गाउँपालिका वडानम्बर -८ का वडाध्यक्ष मोहम्मद नुर आलमलाई कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले सम्मान पत्र प्रदान गरेका थिए ।
यसैगरी, धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत, विराटनगरका सचिन साहलाई कार्यक्रमका विशिष्ट अतिथि नेपाली सेना नम्बर २१ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी झलेन्द्रकुमार भट्टराईले सम्मान पत्र प्रदान गरेका थिए ।
विभिन्न साँगितीक कार्यक्रम तथा अन्य गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि थापाले प्रशंसा पत्र प्रदान गरेका थिए ।

सोहि अवसरमा कर्तव्य पालनको शिलशिलामा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारलाई कदर पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । सशस्त्र प्रहरी जवान सुविन खत्री, सशस्त्र प्रहरी हवाल्दार सञ्जिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी सहायक हवाल्दार हेमराज सुवेदी, सशस्त्र प्रहरी सहायक हवाल्दार दिनेश पाण्डे, सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको परिवारलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले दोसल्ला ओढाएर नगदसहित कदर पत्र प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत भएको थियो ।
अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) थापाले शुभकामना सन्देशसहित निर्देशन समेत दिएका थिए । प्रमुख अतिथिलाई गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतले मायाको चिनो प्रदान गरेका थिए । उनले सवैप्रति धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।


























