१८ साउन, मेचीनगर : इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा २ जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् ।
इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाका मेयर एवम अध्यक्षले चिया बगान फिर्ताको माग गरेका हुन् । उनीहरुले २०५७ साल असार १४ गते भएको सम्झौँता नेपालको परिर्वतीत समय सापेक्ष नभएकाले भंग गरी सम्बन्धित स्थानीय तहलाई संचालनको लागि जिम्मा दिन संघीय सरकारसँग माग गर्ने निर्णय गरेका छन् । श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासीनतादेखि उद्योगका महत्वपूर्ण उपकरणसमेत हराइएकाले इलाम र झापाको ६ वटा स्थानीय तहमा निजिकरण गरिएका ७ वटा चिया बगान फिर्ता गर्नुपर्ने बद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलले बताए ।
त्यसैगरी लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय सरकारलाई बुझाउनुपर्ने कानुन बमोजिमका करहरु साउन मसान्तसम्म अनिवार्य रुपमा बुझाउन नेपाल चिया विकास निगम लिमिटेडलाई पत्रचार गर्ने निर्णय गरेका छन् । व्यवस्थापन पक्षले चिया श्रमिकको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्था पूरै बेवास्ता गरेपछि निजीकरण फिर्ताको माग सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले उठाएका छन् । सरकारले देशको सवैभन्दा पुरानो इलाम बजारको इलाम चिया बगान, सूर्योदय नगरपालिकाको कन्याम, माई नगरपालिकाको सोक्तिम र चिलिमकोट, झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने, बाह्रदशी गाउँपालिकाको बाह्रदशी चिया कमान र मेचीनगर नगरपालिकाको टोकला चिया बगान तत्कानिल चिया विकास निगम मातहतबाट त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहनेगरी लिजमा दिएको छ ।
त्रिवेणी सांघाईको स्वामित्वमा रहेको चिया बगानमा जथाभावी बिषादीको प्रयोगले स्थानीय बासिन्दाको स्वास्थ्यमा असर परेको जनप्रतिनिधिहरुको जोड थियो । छलफलमा सूर्योदय नगर प्रमुख रणबहादुर राई, माई नगर प्रमुख दिपककुमार थेबे, मेचीनगरका नगर प्रमुख बिमल आचार्य, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी लगायतको सहभागिता रहेको थियो । स्थानीय सरकारका प्रमुख एवम अध्यक्षहरुले आगामी भाद्र २ गते बुद्धशान्तिमा दोश्रो चरणको छलफल गर्ने जनाएका छन् ।

























