आमा दिदी–बैनीलाई आफ्ना सामन्ती बन्धन तोड्दै समानतामा उभिन जगाउने हृदयको तार चुँडियो । ‘जसले खेती गरेको छ उसैलाई अनिकाल लाग्यो’ भन्दै शोषणको प्रत्यक्ष उद्बोध गराउने त्यो मनमुग्धकारी स्वरको ध्वनी निस्वर भयो । ‘लाखौंका लागि उजाड यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ भनेर विभेदपूर्ण व्यवस्थालाई चिनाउने त्यो अग्रदूत आजबाट अवाक भयो । अर्थात् यसो भनौं– नेपाली श्रमजीवी जनताको निम्ति अबको सांस्कृतिक कार्यक्रम नून नभएको तिहुन जस्तो हुने भयो, त्यस कार्यक्रममा गुञ्जिने गीतारको एउटा मूल तार चुँडियो, त्यो कार्यक्रममा देखिने इन्द्रेणीको रङको एउटा मूल रातो रङ अलप भयो । अब स्मृतिको पर्दामा त्यो स्वाद, त्यो रङ रहिञ्जेल खल्लो रहिरहने भयो ।
विक्रम सम्वत् २००१ साल कातिक १५ गते सुन्सरी जिल्लाको धरानमा बुबा कृष्णकुमार खड्गी र आमा दानदेवीको सुपुत्रको रूपमा जन्मिएका जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को यही २०७८ भदौ १० गते दिनको १२.३० बजे उपचारको क्रममा काठमाडौं वयोधा अस्पतालमा निधन भयो । अनील पौडेलको शब्दलाई उनले नै गाएका थिए– “देशभक्त छोरा मर्दा देशै रुँदो रैछ !” भनेर । साँच्चै आज झापादेखि कञ्चनपुरसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, मुस्ताङ–मनाङदेखि महोत्तरी–वर्दीयासम्म जताततै खोलाखोल्सा, पाखापखेरा, डाँडापर्वत सब रोइरहेका छन्, टुहुरेको निधनमा सब स्तब्ध छन्, शोकाकुल छन् । नेपालमा मात्र होइन, अहिले यो शोक पृथ्वीको जुनसुकै कुनामा नेपालको पल्लोपटि अमेरिकासम्म व्याप्त भएको छ, जापान, जर्मन, लण्डन, मलेसिया, अरब जताततै नेपाली शोकाकुल छन् ।
जस्तोतस्तो मृत्युबाट विचलित नहुने नै हुँ म पनि, तर कान्तिपुर टिभिले जेबी टुहुरेको निधनको समाचार दिँदै गर्दा मैले थाहै नपाई ह्वात्तै एक भल्को आँसु गालाबाट बगेर काखमा झरेछन् । मैले आफूलाई अरुले थाहा पाउलान् भनेर जोगाएँ ।
जेबी टुहुरे कम्निस्टप्रतिको प्रतिबद्धताको, निष्ठाको एउटा उदाहरण हुन् । त्यस्तो जनप्रिय स्वरलाई किनेर नेपालको कम्निस्ट आन्दोलनलाई स्वररहित बनाइदिन कति कोसिस भयो, तर बेचेनन् उनले आफूलाई । कल, छल, बल उनलाई यो कम्निस्ट आन्दोलनबाट विचलित पार्न प्रयत्न भए तर जनतालाई जगाउन भनेर, ब्यूँझाउन भनेर २०२३ सालदेखि यात्रा थालेका उनले बाटामा जस्तै काँडा विछ्याए पनि, जस्तै बार–बन्देज राखिए पनि– ‘मर्नुपर्छ एक दिन सबैले हामी पनि मर्छौं, हामी मर्दा जनताको शिर उठाई मर्छौं” भन्दै मुठी उठाएर हिडिरहे हिंडिरहे । यो आन्दोलनमा, यो यात्रामा उनले खुइयसम्म गरेनन्, कहिल्यै धुकचुक भएनन्, निर्भिक रूपमा लागिरहे ।
राष्ट्रिय जनसांस्कृतिक मञ्चको केन्द्रीय समितिमा दुई कार्यकाल म उहाँसँग नजिकै रहें । मेची महाकाली सांंस्कृतिक जागरणको सन्दर्भमा मेची अञ्चलका चारै जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम तथा झापाका विभिन्न स्थानमा बिसौं जनाको टोली बाजागाजा लिएर हिंड्दा म आफू पनि उद्घोषण तथा व्यवस्थापनमा सघाउ पु¥याउँदै सँगसँगै घुमें । सङ्गठन निर्माणमा पनि जन–सांस्कृतिक मञ्च बनाउन हिंडें । मैले जेबी टुहुरेलाई धेरै नजिकबाट चिन्ने मौका पाएँ । सायद मैले पाएको उनको त्यही परिचयको कारण हुनुपर्छ त्यो कान्तिपुरको समाचारमा म पानीपानी भएको ।
यो सांस्कृतिक टोलीमा जेबीदाइ स्वभाविक रूपमा सबै कलाकारको अभिभावक बन्थे–हुन्थे । उनको अभिभाकत्व यस्तो अभिभावकत्व हुन्थ्यो त्यो कुनै गुरुकुलको गुरुको जस्तो पनि होइन, त्यो कुनै इलाका प्रहरी कार्यालयको इञ्चार्जको जस्तो पनि होइन । त्यो एउटा सभ्य परिवारको प्रेमपूर्ण अभिभावकको थियो । त्यहाँ किशोर उमेरका केटा कलाकार थिए, केटी कलाकार थिए । ती सबलाई यथोचित अनुशासनमा राखेर यो टोली चल्थ्यो । हो, मभन्दा सारै धेरै नजिकबाट र मभन्दा लामो अवधी र लामो यात्रा राजेश थापा जस्ता, मधु गुरुङ जस्ता कलाकर्मीहरुले उहाँसित सङ्गत गर्नुभएको छ । मैले उहाँहरुको आँखामा पनि जेबी टुहुरे दाइ पढें, निरन्तर एकनासको अभिभावकत्व नै देखें ।
सांस्कृतिक टोली बनाउनु, टिकाउनु खेलाडीको टीम खेलाउनु जस्तो होइन, न अरु कुनै समूह बनाउनु हिडाउनु जस्तो हो । यो जटिल छ, अप्ठेरो छ । तर यो अप्ठेरो, यो जटिल काम जेबी दाइले गरिरहनु भयो ।
मसँग एउटा सानो स्मरण छ । मेची अञ्चलमा सांस्कृतिक कार्यक्रम गर्ने प्रसङ्गमा ताप्लेजुङबाट सुरु गर्ने भनी हामी बाजागाजा सहित जाँदै थियौं । ताप्लेजुङ नपुगी यता नाङ्खोल्याङको सेसम्बुमा बेलुका बास बसेका थियौं । बाँसुरी बादक कलाकार थिए, नाम बिर्सें मैले, के लुङ्गेली । उनले १०÷१२ वटा, कान्छी औंलो जत्रा एक बित्ता जति लामादेखि पाखुरा जत्रा डेढदुई हात लामासम्म बाँसुरी बोकेका थिए । बाँसुरीको स्वर कति मधूर हुन्छ ! त्यसमाथि त्यति धेरै बाँसुरी बोकेका त्यस्तो जान्नेले बजाएको बाँसुरीको धुन सुन्न को लालायित हुँदैन ? त्यहाँका स्थानीय व्यक्तिले बाँसुरीको स्वर सुनाउन आग्रह गर्न थाले ।
ती बाँसुरी बादकभाइको आदत अनौठो रहेछ । उनी कार्यक्रममा गीतलाई ताल दिन बजाउने तर अरु बेला बजाउँदै नबजाउने । त्यहाँका बासिन्दाले अनुरोध गरे । अनुरोध बढ्दै सुनाउनै पर्ने दबाबमा परिणत हुँदै गयो । जेबी दाइले पनि र मैले पनि ती भाइलाई बाँसुरीको धुन दुई–तिन मिनट सुनाउन आग्रह ग¥यौं तर उनी राजी भएनन् । त्यहाँ लफडा पो हुन आँट्यो । झगडा प¥यो भने त अप्ठेरो हुन्छ । बाजागाजा त संवेदनशील चीज हुन् । ती टुट्न–फुट्न ठुलो बल लगाउनु पर्दैन । तर त्यहाँ झमेला गर्नेहरुले गुहार गरेर ल्याएका तीन–चार जना लाठे त मेरा विद्यार्थी रहेछन् । ती सामुन्नेमा आए अनि सामसुम भयो । उनीहरुको आग्रहमा जेबी दाइले बरु ‘आमा दिदी बैनी हो !’ गीत गाएर सुनाउनु भयो ।
जेबी दाइ र ती लुङ्गेली भाइ । म सम्झिन्छु घरिघरि । लुङ्गेली भाइ जोसुकै जतिसुकै ढिपी गरेर बाँसुरीको स्वर सुनाउन आग्रह गरोस्, दबाब गरोस् तर उनी नबजाउने । यता जेबी दाइ भने हिंड्दाहिंड्दै यस्सो खुइय गर्न चौतारामा बसेका बेलामा पनि कुनै दाजुभाइ, दिदीबैनीले गीत गाईदिन आग्रह गरेमा बाजा होस् कि नहोस् जस्तो हुन्छ गाएर चित्त बुझाइ दिने । कस्तो जनपक्षीय सोच, कति हलुङ, कति सहज !
नेपालमा कम्निस्टहरुको पक्षमा यो ढिकुटी भरि, यसो भनौं दुई–तिहाइको जनमत सृजना भएको छ, म एकदम भित्री मनले भन्छु, त्यो आज कुनै नेताले घमण्ड गर्दै ‘यो दुई–तिहाइ मैले ल्याएको हो’ भन्दै गफ गरेजस्तो होइन । यो यथार्थमा श्यामप्रसाद शर्मा, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौलाहरुजस्ता सयौं कवि र साहित्यकारहरु, जेबी टुहुरे, रामेश, रायन, जीवन शर्मा जस्ता सयौं सांस्कृतिक कर्मीहरुको योगदान हो । यी स्रष्टा तथा सांस्कृतिक कर्मीको योगदान घटाउने हो भने देख्ने थिए, त्यो मुठीमा अटाउने हुन्थ्यो ।
जनताका गायक थुप्रै छन्, मिठो मिठो स्वरका पनि छन्, धेरै क्षमताका पनि छन्, तर मेचीदेखि महाकालीसम्म कठिन सङ्घर्ष गर्दै अत्यन्त विकट स्थितिमा पनि विचलित नभई, अन्य कुनै लोभलालच, महत्वाकाङ्क्षामा पनि नफँसी निरन्तर कृष्णभक्त कृष्णमा समर्पित भएझैं यही जनता जगाउने, व्यूँझाउने र उनीहरुको जीवनमा उज्यालो ल्याउने भनेर निरन्तर एकनिष्ठ लागेर बिताउने धेरै छैनन् । जेबी टुहुरे त्यस्तै थोरैमध्येका एक जनताका सच्चा गायक हुन् ।
उनको त्यही एकलव्य साधनाले, निरन्तरको अप्रतिम निष्ठा र प्रतिवद्धताले नै उनी वास्तवमा आम जनताको मनमा बस्न पनि सफल भए ।
हाम्रो समाज बडो उदार पनि छ र कहिलेकाहीं सारै पिन्चे पनि छ । सानो कुरामा चित्त दुःखाउने ठाउँ पायो भने जीवनभरको त्याग–तपस्या पनि बिर्सिएर गाली दिन्छ, दुत्कार्छ । तर जेबी टुहुरेले कुनै चित्त दुःखाउने ठाउँ दिएनन् । उनले आफू जन्मेबढेको, जन्माएको बढाएको एमालेबाट माओवादीतिर मादल र हार्मोनियम सार्दै गर्दा केही एमालेहरुको अनुहार अँध्यारियो होला, तर मैले त त्यस्तो पनि पो ठानिनछु । तिनै पसिना बगाउने दाजुभाइको गीत गाउन, तिनै सदियौंदेखि दबिएका, टेकिएकाहरुको व्यथा गुनगुनाउन उनले छोडेनन् । आफ्नो गुणको उचित कदर भएन भने कदर हुने ठाउँ खोज्नु त मनासिप पनि त हो नि ! काहीं कसैले पनि योगदानको पुरस्कार पाएन, पाएकै छैन भने सबै त्याग र बलिदन मात्रै गर्दैछन् भने कसैले आसा–अपेक्षा नै गर्दैन । तर जब कोही पुरस्कार भटाभट पाउँछ, फल लुँड्याउन पाउँछ भने अनि त्यतिबेला समान वितरणको अपेक्षा गर्नु अनुचित हुँदैन नै ।
जेबी टुहुरे बितेपछि मेरो मन एक प्रकारले अत्तालिएको छ । उनीजस्तो सरल स्वभावको, उनीजस्तो वर्गीय चरित्रको जनपक्षीय सांस्कृतिक कर्मी अब तयार गर्न सकिन्छ के ? मेरो मनले सकारात्मक उत्तर पाउँदै पाएन । त्यसैले मलाई लाग्छ, नेपाली जनपक्षीय सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । वास्तवमा म गायनका क्षेत्रका अहिले केही नामहरु सम्झिन्छु जेबी टुहुरे, जीवन शर्मा, रामेश, रायन, जस्ता कलाकारहरु नै हुन् गएको आम निर्वाचनमा दुईतिहाइ सिट जिताउनेहरु । नेपालको कम्निस्ट आन्दोलनलाई यो उचाइमा पु¥याउने यिनै हुन् । दलका नेताहरु फुर्ती लाउँछन् । त्यो फुर्ती लाएको सुन्दा म एक जना गाउँलेको हँस्यौलीपूर्ण कुरा सम्झिन्छु । उनी ट्यामट्याममा भन्ने गर्थे– “लोग्ने मान्छेले ‘यो मेरो छोरो !’ भनेर बोलेको सुन्दा उता श्रीमती मनमनै हाँस्छिन् अरे, किसानले ‘मैले यति धान फलाएँ !’ भनेको सुन्दा अकास हाँस्छ अरे !” यस्तै नेताले मैले यति मत ल्याएँ भनेर गफ बथारेको सुन्दा साँच्चै बुझ्ने मान्छेका लागि हाँसो नै हुन्छ ।
जहाँसम्म जेबी टुहुरेको नाम र ‘आमा दिदी बैनी हो …’ गीतको कुरा छ, मलाई लाग्छ जेबी टुहुरे यस गीतका पर्याय जतिकै हुन् । यो गीतका गीतकार त एकदेव ज्ञवाली हुन् । एकदेव ज्ञवालीले लेख्नुभएको गीतमा सुरुमा पनि र अन्त्यमा पनि केही फुर्का थपिए र यो बुलन्द गीत बन्यो । यसमा ती फुर्का थप्ने काम भने धरानका वम देवान, विराटनगरका लव प्रधान तथा काठमाडौंका रामेश आदिको बुद्धि लागेको कुरा भनिएको पाइन्छ ।
हुन त टुहुरेले सयौं गीत गाए । जम्मै गीतहरु उतिकै सरल, जनपक्षीय, श्रुतिप्रिय छन् । बसाईं हिड्नेको ताँतीले, देशभक्त छोरो मर्दा, छोराहरु हो छोरीहरु हो, बरु मेरो छाती छेड्ला, माघको जाडो हिउँपर्छ बेस्सरी, पानी चल्दैन तर रगत चल्दछ, हे नि बालो ! दुःखको बोझ बिसाउन, सुखानीको रगतले भन्छ, सबै मलाई चोर भन्छन्, पुर्खाले सोचे सन्तानको लागि, के दिऊँ दाइजो चेलीलाई, आँधी खोलैले मलाई रोइरहने, नखाऊ रक्सी, ढाकरै बोकी … आदिआदि । तर जेबी टुहुरे भनेपछि ‘आमा दिदी बैनी हो’, जीवन शर्मा भनेपछि ‘सिमली छायाँमा बसी’, खेम गुरुङ भनेपछि ‘वारि जमुना पारि जमुना’, श्याम तमोट भनेपछि ‘गाउँ गाउँबाट उठ’, रामकृष्ण दुवाल भनेपछि ‘एक युगमा एक दिन एक चोटी आउँछ’, आनी भनेपछि ‘फूलको आँखामा फूलै सन्सार’ यस्तो आइकन नै बनेका छन् । यद्यपि कि ती गीतका गीतकारहरु कुनैकुनै स्वयं गायक हुन्, कुनैका गीतकार अर्कै प्रतिष्ठित कविहरु हुन् ।
सायद देशको सबै जसो जिल्ला पुगेघुमे टुहुरे । उनको शरीर नपुगे पनि उनको ‘आमा दिदी बैनी हो’ त गाउँगाउँमा, महिला महिलाका कानकानमा “कति बस्छौ दासी भई ? उठ जाग सृजनाको घाम बनेर !” भन्दै हतेर्न पुग्योपुग्यो । शब्दका दृष्टिले, सङ्गीतका दृष्टिले र स्वरले यस गीतलाई कति प्रिय बनायो बनायो ! त्यसैले यो गीत भन्ने बित्तिकै टुहुरेको त्यो सग्लो भौतिक बिम्ब मान्छेका आँखामा नाच्ने भयो ।
मलाई २०५२ साल पुस–माघको मेची अञ्चलमा यो सांस्कृतिक टोली लिएर हिंड्दाको सम्झना आउँछ– आजको कार्यक्रम सकेर भोलि अर्को कार्यक्रम गर्दा जेबी दाइ भन्नुहुन्छ– “यहाँ चाहिँ अर्कै गीत राखौं है पुण्यभाइ ! बरु दुई वटा गीत गाउँला ! आमा दिदी बैनी हो कति चोटी गाउनु ?”
‘हुन्छ !’ भनेर राजेश थापासँग सल्लाह गरेर हामी एउटाको ठाउँमा अरु नै दुई गीत राख्छौं । उहाँले गाईसकेपछि स्रोताहरु कोही बसेका ठाउँबाटै ‘आमा दिदी बैनी हो !’ भन्दै कराउँछन्, कोही चिर्कटा लेखेर पठाउँछन् । शिक्षक, कर्मचारी, प्राध्यापक, नेताहरुबाट पनि ‘आमा दिदी बैनी हो’ त गाईदिनै पर्छ !’ भनेर दबाब आउँछ र त्यो गाउनु नै पर्छ । अर्थात्, चौध–पन्ध्र स्थानमा कार्यक्रम गरियो, तर स्रोताहरुकै जोडबलले हरेक ठाउँमा त्यो गीत नगाईकन धर पाइएन । त्यसैले यो गीत र जेबी टुहुरे असाध्य लोकप्रिय पनि भएका थिए, यो गीत जेबीदाइको आइकन नै बनेको पनि थियो भन्ने विश्वास गर्छु म ।
मेरो व्यक्तिगत स्मृतिका कुरा गर्नुपर्दा मैले उहाँको नाम २०३१÷३२मा सानो ठिमीमा पढ्न बस्तादेखि सुनेको हुँ । जेबी टुहुरेसँग प्रत्यक्ष भेटघाटको सम्झना २०४४ सालपछिका मात्र रहेका छन् । यस्तो किन भयो भने म ताप्लेजुङमा बस्थें र जेबी दाइ त्यसबेला ताप्लेजुङ पुग्नुभएन होला । म २०३८को अन्तिम पछि मात्र झापाको बासिन्दा भएँ । त्यसयता, पहिलो पल्ट जस्तो लाग्छ, ‘प्रगतिशील साहित्य तथा सांस्कृतिक मिलन केन्द्र, नामको साहित्यिक संस्था गठन गरेर गोष्ठी गर्दै हिंड्ने सिलसिलामा २०४४ सालमा एउटा गोष्ठी आयोजना गरेका थियौं । कार्यक्रम थियो धाइजनका मोहन दाहालका आँगनमा । त्यस गोष्ठीमा जेबी टुहुरे पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले यो गीत गाउनुभएको र विष्णु प्रसाईं लगायत आमा, दिदी बहिनीहरु सामुहिक नृत्य गर्नुभएको थियो ।
२०४५ फागुन ७ गते मोरङको ‘जन सांस्कृतिक मञ्च’ले पथरीको डाँस खोलाको जङ्गलभित्र जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । झापाबाट म र तारा गाउँले गएका थियौं । त्यहाँ रघु पन्त तथा जेबी टुहुरेको पनि आतिथ्यता थियो । मेरो टुहुरेसँगको दोस्रो भेट होला जस्तो लाग्छ मलाई त्यो । २०४६ को परिवर्तनपछि त धेरै सङ्गत गरियो । माथि नै प्रसङ्ग आइसकेको छ ।
यसरी जनताका गीत गाएर, एकनिष्ठताका साथ जनताको साथी भएर जीवन गुजार्नुभएका श्रद्धेय टुहुरेको ७८ वर्षको उमेरमा निधन भयो । उहाँको यो असामयिक निधनले सम्पूर्ण नेपाली प्रगतिवादी जगत शोकग्रस्त छ । यसबेला हामी प्रगतिवादी हुनुको नाताले यो परिवर्तनशील सन्सार र शाश्वत कुनै कुरा पनि छैन भन्ने जान्नुपर्ने, मनन गर्नुपर्ने भएकाले शोकलाई समन गर्दै अब उहाँका ती जनपक्षीय र समाजका लागि उपयोगी गुणको अनुशरण गर्दै उहाँका सत्कार्यको संरक्षण, प्रचारप्रसार गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने बुझ्नु नै पर्छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि ।

























